आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थ

राष्ट्रिय सभाबाट बजेट पारित, सोमबारदेखि कार्यान्वयनको बाटो खुल्यो

बिहीबार, २८ असार २०८०, १६ : ३९
बिहीबार, २८ असार २०८०

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । योसँगै सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको हो । 

राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० बहुमतले पारित गरेको छ । 

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । 

बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए । 

प्रतिनिधिसभाबाट यही असार १३ गते आगामी आवको बजेट पारित भएको थियो । सरकारले गत जेठ १५ गते संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो । 

संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गते (सोमबार)देखि बजेट कार्यान्वयनको बाटो खुलेको छ । राष्ट्रियसभाको अर्को बैठक आजै १३ मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप