सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फुटबलर डेल अली भन्छन्– ‘६ वर्षमा यौन दूर्व्यवहारमा परेपछि आठ वर्षमा लागु औषधको दूर्व्यसनी बनेँ’

बिहीबार, २८ असार २०८०, १६ : ५८
बिहीबार, २८ असार २०८०

काठमाडौँ । इङ्लिस क्लब एभर्टनका प्रभावशाली मिडफिल्डर हुन्, डेल अली । २७ वर्षीय अलीले आफू सानो हुँदा यौन दूर्व्यवहारको शिकार भएको रहस्य खोलेका छन् । उनले आफू केवल ६ वर्षको हुँदा यौन दूर्व्यवहारको शिकार भएको बताएका हुन् ।

इङ्ल्यान्डका पूर्व फुटबलर गेरी नेभिल्ससँगको अन्तरवार्ताका क्रममा अलीले यस्तो रहश्य खोलेका हुन् । अन्तरवार्ताका क्रममा उनी निकै भावुक बनेका थिए । अलीलाई १२ वर्षको उमेरमा एक दम्पतिले धर्मपुत्रको रुपमा अंगिकार गरेका थिए । 

‘म सानैमा यौन दूर्व्यवहारको शिकार बनेको थिएँ । त्यतिबेला मेरो उमेर केवल ६ वर्ष थियो । यो मलाई धर्मपुत्रको रुपमा अंगिकार गरिनुभन्दा निकै अगाडिको कुरा हो,’ अन्तरवार्तामा अलीले भनेका छन् । उनले अन्तरवार्ताका क्रममा एकपछि अर्को गर्दै आफ्नो विगतका सबै पाना पल्टाएका छन् ।

पारिवारिक वातावरण गतिलो नभएका कारण सात वर्षको उमेरदेखि नै आफूले चुरोट पिउन थालेको पनि अलीले बताएका छन् । उनले मात्र आठ वर्षको उमेरमा आफू लागू औषधको कुलतमा फसिसकेको रहश्य पनि खोलेका छन् । 

पछिल्लो समय पनि उनी अनिद्रा र मानसिक समस्याबाट पीडित छन् । त्यसैले अत्यधिक निद्राको औषधि सेवन गर्नु परेका कारण उनी करिब ६ साता सुधार केन्द्रमा बिताएर फर्किएका छन् । विश्व फुटबलका प्रतिभाशाली खेलाडी अलीले आफ्नो जीवन कुनै दुःखद चलचित्रभन्दा कम नभएको बताएका छन् ।

अली इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी पनि थिए । इङ्ल्यान्डको राष्ट्रिय टोली सन् २०१८ को विश्वकपको सेमिफाइनलसम्म पुग्दा पनि उनी टोलीका महत्वपूर्ण सदस्य थिए । उनले सन् २०१९ मा इङ्लिस क्लब टोट्टनहामलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउन पनि गतिलो योगदान गरेका थिए ।

अली सन् २०२२ मा एभर्टनबाट लोनमा टर्किस क्लब बेसिकट्स पुगेका थिए । बेसिकट्समा एक सिजन बिताएर उनी अहिले पुनः आफ्नो क्लब एभर्टन फर्किसकेका छन् । उनले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट सन् २०१९ मा अन्तिम खेल खेलेका थिए । सानै उमेरमा जीवनमा थुप्रै उतार—चढाव भोगेका अलीले इङ्ल्यान्डका लागि ३७ खेल खेलेका थिए ।

अली केही समय घाइते भएर मैदानबाहिर पनि रहेका थिए । ‘टर्कीमा घाइते भएर एभर्टन फर्किएपछि मैले शल्यक्रिया गराउनुपर्ने भयो । म मानसिक रुपमा पनि कमजोर हुँदै गएँ,’ अन्तरवार्ताका क्रममा उनले भनेका छन् । 

त्यसपछि आफू सुधार केन्द्रमा भर्ना भएको उनले बताएका छन् । ‘म आफ्नो जीवनमा आइरहने खराब परिस्थितिसँग हार मान्न चाहन्थिन् । त्यसैले मानसिक स्वास्थ्यको उपचारका लागि आधुनिक सुविधासहितको सुधार केन्द्रमा भर्ना भएको थिएँ,’ अली भन्छन् । हरेक ब्यक्तिले खराब परिस्थितिको सामना गर्न आफैले सिक्नुपर्ने धारणा पनि उनले ब्यक्त गरेका छन् । ‘जीवनमा आइरहने खराब परिस्थितिसँग जुध्न कसैले सिकाउँदैन, आफैले निर्णय लिनुपर्छ । मैले पनि आफैले यस्तो निणर्य लिएको हुँ,’ अली अगाडि भन्छन् । 

सुधार केन्द्रबाट फर्किएपछि आफूले केही फरक अनुभव गरेको पनि अलीले बताएका छन् । उनी तीन साताअघि सुधार केन्द्रबाट घर फर्किएका हुन् । उनी भन्छन्, ‘हो, सुधार केन्द्रबाट फर्किएपछि मैले जीवनमा केही फरक अनुभव गरिरहेको छु । यतिबेला म आफूलाई पहिलेभन्दा निकै स्फुर्त र युवा पनि महसुस गरिरहेको छु ।’

‘म ६ वर्षको उमेरमा यौन दूर्व्यवहारमा परेँ । त्यसपछि मलाई अनुशासन सिक्न अफ्रिका पठाइयो । सात वर्षको उमेरमा चुरोट तान्न थालेँ । त्यसपछि आठ वर्षको उमेरमै लागू औषधको दूर्व्यसनमा फस्न पुगेँ,’ अलीले भनेको छन् । उनले आफूलाई यौन दूर्व्यवहार गर्ने ब्यक्तिको नाम भने खुलाएका छैनन् । 

अलीले आफूलाई धर्मपुत्रका रुपमा स्वीकार्ने दम्पतिको पनि प्रसंशा गरेका छन् । ‘मलाई १२ वर्षको उमेरमा धर्मपुत्रका रुपमा ग्रहण गरिएको थियो । मैले आफ्नो जीवनमै पहिलो पटक यति उदार र मायालु व्यक्ति देखेको थिएँ । मेरो लागि उहाँहरुले जे गर्नुभयो त्यो ऋण चुकाउन म कहिल्यै सक्दिन । यदि कुनै मानिसलाई साँच्चै नै भगवानले बनाएका छन् भने उनीहरु मलाई धर्मपुत्रका रुपमा ग्रहण गर्ने आमाबुवा नै हुन्,’ निकै भावुक देखिएका अलीले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप