आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
लम्पी स्किन

लम्पी स्किन महामारीः प्रदेश र स्थानीय तह आरोप–प्रत्यारोपमा, किसानको बिल्लीबाठ

बिहीबार, २८ असार २०८०, १९ : ४३
बिहीबार, २८ असार २०८०

विराटनगर । लम्पी स्किन महामारीका कारण किसानका लाखौं गाईबस्तु प्रभावित भइरहँदा उक्त महामारी नियन्त्रणको विषयमा भने संघ, प्रदेश र स्थानीय सरकार बीचको समन्वय अभाव देखिएको छ । स्थानीय तहहरु प्रदेश र संघले केही सहयोग नगरेको बताउँछन् भने प्रदेश र संघीय सरकारका निकायहरु यो स्थानीय तहले नै गर्नुपर्ने बताउँछन् । 

असार २१ गतेसम्मको तथ्याङ्कअनुसार कोशी प्रदेशमा २ लाख ४ हजार २२० वटा गाईबस्तु लम्पी स्किन रोगबाट प्रभावित छन् । त्यसमध्ये ४ हजार ३९१ पशु चौपाया मरेका छन् । 

यस्तै, संघीय सरकार कृषि मन्त्रालयका अनुसार हालसम्म देशभरमा ७ लाख ८२ हजारभन्दा बढी पशु संक्रमित भएका छन् । संक्रमतिमध्ये २८ हजार १ पशुको मृत्यु भएको छ भने ५ लाख २१ हजार ८ सय १४ निको भएका छन् । 

२ लाख ३२ हजार ३ सय ९ अहिले पनि संक्रमित अवस्थामा छन् । यो रोग नेपालमा पहिलो पटक २०७७ मा देखिएको थियो । यस वर्ष देशका सबै जिल्लामा देखा परेको छ ।

संघ र प्रदेशले केही सहयोग नगरेको स्थानीय तहको आरोप

हालसम्म ९४ हजार ९५९ वटा गाईवस्तुमा खोप लगाइएको छ । रकमको अभाव भएको कारण खोपको अभाव भइरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेश कार्यालयले जनाएको छ ।

यसैबीच, लम्पी स्किन रोगबाट प्रभावित पालिकाहरुले संघीय सरकार र प्रदेश सरकारले आवश्यक सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

पाँचथरको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले भन्छन्, ‘प्रदेश सरकारले जुन किसिमले सहयोग गर्नुपर्ने थियो, त्यो भएन । उहाँहरुले स्थानीय तहको बाटो हेर्नु भएको छ । संघ र प्रदेशको समन्वय एकदमै भएन ।’ उनका अनुसार संघ र प्रदेश अन्तर्गतका कार्यालयहरु यो रोग नियन्त्रणमा लागेजस्तो देखिएको छैन ।

फिदिम नगरपालिकाले लम्पी स्किन नियन्त्रणका लागि प्राविधिकहरु थप गरी गाउँ गाउँमा पठाएको छ । औषधिहरु केही निःशुल्क र केही सशुल्क वितरण गरिएको छ । यद्यपि पहिले नै रोगले भेटेको पशुलाई बचाउन नसकिरहेको अवस्था रहेको प्रमुख काफ्लेले बताए । ‘संघ र प्रदेशले तत्कालै नियन्त्रणका थप उपाय नल्याए यो रोग नियन्त्रण गर्न धेरै गाह्रो छ,’ उनले भने । 

पाँचथरकै हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले पनि प्रदेश र संघप्रति असन्तुष्टि जनाए । उनले भने, ‘हाम्रा भेटेरीनरी डाक्टरहरू वडा वडामा छन् । रोग नियन्त्रणकै लागि ३१ लाख खर्च भइसकेको छ । अब स्रोत पुग्ने अवस्था छैन । तर प्रदेश र संघबाट केही पनि सहयोग भएको छैन । अहिले नियन्त्रण बाहिर छ ।’

यस्तै, पाँचथरकै फालेलुङ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले भने अहिले रोग नियन्त्रणमा आएको बताए । ‘पालिकामा लम्पी स्किन नियन्त्रणमा छ । संघबाट भर्खरै एक लाख रुपैयाँ दिएको भन्ने सुनियो । तर, अन्तिम अवस्थामा आएको कारण त्यो खर्च गर्न सक्ने अवस्था रहेन । हामीले पालिकाले नै ४ जना प्राविधिकहरु नियुक्ति गरेर २ महिनादेखि काम गरिरहेका छौं,’ उनले भने । पालिकाले हालसम्म १५ लाख भन्दा बढी खर्च गरिसकेको बताउँदै उनले पनि संघ र प्रदेशबाट सहयोग नभएको गुनासो गरे । 

उता, त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेतले प्रदेश र संघमा सरकार फेरबदलमै लागिरहेको भन्दै व्यंग्य गरे । ‘काम गर्नुपर्ने निकाय प्रदेश सरकार थियो । तर, उसले समन्वय गरेन,’ उनले भने, ‘सबै काम गर्ने स्थानीय तहले अनि अधिकार र बजेट उनीहरुले राख्ने काम भयो । यो राम्रो परिपाटी भएन ।’ त्रियुगा नगरपालिकाका ३० प्रतिशत गाईबस्तु यो रोगबाट प्रभावित भएको उनको भनाइ छ । 

धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले पनि प्रदेशले कुनै चासो नदिएको गुनासो गरे । ‘प्रदेश र संघले चट्नी जस्तो अलिकति पैसा पठाएर सबै गर भन्छ । यसबारे केही न केही कार्यक्रम त ल्याउनु पथ्र्यो नि,’ तामाङले भने, ‘उनीहरू आफैं अलमलमा परेको जस्तो देखिन्छ । मुख्यमन्त्री कार्यालयमा म आफैं गएँ । तर, त्यहाँ मन्त्री तथा कर्मचारी कसैले पनि रेस्पोन्स गर्दैनन् ।’ आफ्नो पालिकामा भ्याक्सिन वितरण गरेको र किसानका प्रत्येक गोठमा पुगेर सचेतना अपनाउन आग्रह गरेको उनले बताए ।

प्रदेश भन्छ, ‘गर्नुपर्ने स्थानीय तहले नै हो’

यता, कोशी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले भने पर्याप्त जनशक्ति र स्रोत नभएपनि आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

निर्देशनालयका निमित्त निर्देशक पशुपति ढुंगानाले संघीय सरकारबाट अधिकारसहित बजेट स्थानीय तहलाई नै पठाएको कारण आफूहरुले धेरै गर्न सक्ने अवस्था नरहेको बताए । 

ढुंगानाले भने, ‘हरेक पालिकामा पशुसेवाका दरबन्दी संघीय सरकारले स्थानीय तहमा पठाएको छ । यो रोग नलाग्दा चाहिं ती सबै दरबन्दी काटेर फाल्दिने अनि कर्मचारी हटाएपछि काम कसले गर्छ भन्नु छ । ओएनएम गरेर ७ जनादेखि ११ जनासम्मको दरबन्दी आएको थियो । तर, समस्या नआउँदा चाहिं दरबन्दी काटेर २ जना ३ जना मात्रै राख्ने काम भयो ।’

प्रदेश सरकारको २ वटा जिल्ला हेर्ने गरी एउटा पशु अस्पताल छ । त्यहाँ रहेका ४–५ जना कर्मचारीले दुईवटा जिल्ला सबै हेर्न नसक्ने ढुंगानाले बताए । 

‘प्रदेशको स्थानीय तहसम्म इकाई छैन । पहिले पहिले निजी क्षेत्रलाई परिचालन गरिन्थ्यो, त्यसले पनि सहयोग हुन्थ्यो । कतिपय पालिकाले उहाँहरुलाई परिचालन गर्न पनि सक्नु भएन,’ उनले भने, ‘प्रदेश सरकारलाई भन्दा धेरै अधिकार स्थानीय तहसँग छ । हामीले सहजीकरण गर्ने काम गरेका छौं ।’

लम्पी स्किन कस्तो रोग हो ?

लम्पी स्किन रोग गाईभैँसीलाई हुने सङ्क्रामक रोग हो । लामखुट्टे, झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने पशु चिकित्सकहरु बताउँछन् । यो रोग लागेपछि गाईभैँसीको दूध उत्पादन कम हुने, उच्च ज्वरो आउने, तौल घट्ने र अन्तमा मृत्यु पनि हुन सक्छ । 

यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । त्यस्तै, सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ बग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप