सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

इमर्जिङ टिम्स एसिया कप : नेपाल आज बलियो पाकिस्तानसँग भिड्दै

शुक्रबार, २९ असार २०८०, ०६ : ४२
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार बलियो पाकिस्तानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार, बिहान १० बजेर १५ मिनेटमा सुरु हुनेछ । टेस्ट राष्ट्र पाकिस्तानले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएको छ ।

जुलाई २३ तारिखसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टोली रहेका छन् । समूह ‘ए’ मा भने श्रीलङ्काको ‘ए’ टोली, बङ्गलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् ।

प्रतियोगिताको पहिलो दिन बिहीबार समूह ‘ए’ को दुई खेल भएका थिए । पहिलो दिन भएको खेलमा श्रीलङ्काले बङ्गलादेश र अफगानिस्तानले ओमानलाई हराएका थिए । एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलङ्कामा भइरहेको छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् ।

पवन सर्राफलाई अन्तिम समयमा आएर टोलीमा समावेश गरिएको हो । त्यसअघि आरिफ सेख टोलीमा परेका थिए । तर घरायसी कारणले गर्दा आरिफले प्रतियोगिता खेल्न नसक्ने भएपछि उनको स्थानमा पवनलाई राखिएको हो ।

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालको यो चौथो सहभागिता हो । नेपालले सन् २०१३ मा सिंगापुरमा भएको पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । सन् २०१८ मा श्रीलङ्का र पाकिस्तानले संयुक्त रूपमा आयोजना गरेको तेस्रो संस्करणमा भने नेपाली टोलीले खेल्ने अवसर पाएको थिएन ।

ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ सेख जस्ता प्रभावशाली खेलाडी नेपाली टोलीमा छैनन् । यस पटक नेपालले अधिकांश युवा खेलाडीलाई टोलीमा अवसर दिएको छ ।

इमर्जिङ टिम्स एसिया कपको तीन संस्करण खेलेको नेपालले हालसम्म दुई खेलमा मात्र जित हात पार्न सकेको छ । नेपालले दुवै पटक एउटै प्रतिद्वन्द्वी हङ्कङलाई हराएको थियो । यस पटक पनि नेपालका लागि इमर्जिङ टिम्स एसिया कपको यात्रा चुनौतीपूर्ण छ ।

यस पटक भारत र पाकिस्तान जस्ता दुई बलिया टोली नेपालकै समूहमा छन् । यद्यपि यी दुवै टोलीले प्रतियोगितामा आफ्नो ‘ए’ टोली समावेश गराएका छन् । तर यी दुवै टेस्ट राष्ट्रका ‘ए’ टोली पनि निकै बलिया छन् । त्यसमाथि नेपाली टोलीमा अनुभवी खेलाडीको अभाव देखिएको छ ।

ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ सेख जस्ता प्रभावशाली खेलाडी नेपाली टोलीमा छैनन् । यस पटक नेपालले अधिकांश युवा खेलाडीलाई टोलीमा अवसर दिएको छ । यसअघिका अन्तर्राष्ट्रिय प्रतियोगितामा बेञ्चमा बस्ने युवा खेलाडीहरूले यो प्रतियोगिताबाट राम्रो अनुभव हासिल गर्ने विश्वास लिइएको छ ।

इमर्जिङ टिम्स एसिया कपका लागि पाकिस्तानले भने मोहम्मद हारिसको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको छ । पाकिस्तानी टोलीमा ओमिर युसुफ (उकप्तान), सइम अयुब, कासिम अकरम, तैयब ताहिर, मुबासिर खान र साहिबजादा फरहान पनि रहेका छन् ।

नेपालले यो प्रतियोगितालाई आगामी एसिया कपको तयारीका रूपमा पनि लिएको छ । आगामी एसिया कप पाकिस्तान र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदै छ । टेस्ट राष्ट्रहरूले पनि एसिया कपलाई यसै वर्ष हुने एक दिवसीय विश्वकपको तयारीका रूपमा लिएका छन् ।

यसका अतिरिक्त आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताको अनुभव पनि नेपाली टोलीका लागि अर्को सकारात्मक पक्षका रूपमा रहेको छ । जिम्बाबेमा आयोजना भएको आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएलगत्तै नेपाली टोली एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलङ्का प्रस्थान गरेको हो । १० राष्ट्र सहभागी विश्वकप छनोट प्रतियोगितामा नेपाली टोली आठौँ भएको थियो ।

इमर्जिङ टिम्स एसिया कपका लागि पाकिस्तानले भने मोहम्मद हारिसको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको छ । पाकिस्तानी टोलीमा ओमिर युसुफ (उकप्तान), सइम अयुब, कासिम अकरम, तैयब ताहिर, मुबासिर खान र साहिबजादा फरहान पनि रहेका छन् ।

पाकिस्तानले खासगरी सइम अयुबबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । सन् २०२३ को पाकिस्तान सुपर लिग (पीएसएल) मा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । पीएसएलमा पेसावर जाल्मीका लागि उनले १२ खेल खेल्दै तीन सय ४१ रन बनाएका थिए ।

इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल १७ तारिखमा भारतको ‘ए’ टोलीसँग खेल्ने छ । यसैगरी समूहगत चरणको तेस्रो तथा अन्तिम खेल नेपालले जुलाई १९ तारिखमा यूएईसँग खेल्ने छ । समूहगत चरणको खेलपछि अङ्क तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरण (सेमिफाइनल) मा प्रवेश गर्ने छन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल २३ तारिखमा हुने छ ।

एसीसी इमर्जिङ टिम एसिया कपको यो पाँचौँ संस्करण हो । नेपाल एसीसी प्रिमियर कपको विजेताका रूपमा एसीसी इमर्जिङ टिम एसिया कपमा छनोट भएको हो । एसीसी प्रिमियर कपको अङ्क तालिकामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने टोली एसीसी इमर्जिङ टिम एसिया कपमा पुग्ने प्रावधान छ । घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपबाट नेपालका अतिरिक्त यूएई र ओमान पनि एसीसी इमर्जिङ टिम एसिया कपमा छनोट भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप