सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यशस्वी जैसवाल र रोहित शर्माको शतकपछि भारत बलियो स्थितिमा

शुक्रबार, २९ असार २०८०, ०६ : ००
शुक्रबार, २९ असार २०८०

काठमाडौँ ।  वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन भारतले पहिलो पालीमा एक सय ६२ रनको अग्रता लिएको छ । भारतीय टोली हाल वेस्ट इन्डिज भ्रमणमा छ । दोस्रो दिन बिहीबारको खेल सकिँदासम्म भारतले आफ्नो पहिलो पालीमा दुई विकेट गुमाएर तीन सय १२ रन बनाएको छ । 

त्यसअघि टस जिती ब्याटिङको निर्णय लिएको घरेलु टोली वेस्ट इन्डिज आफ्नो पहिलो पालीमा एक सय ५० रनमा समेटिएको थियो । भारतले शून्य विकेटमा ८० रनको स्थितिबाट दोस्रो दिनको खेल अगाडि बढाएको थियो । 

भारतका लागि पहिलो पालीमा दुवै ओपनर ब्याट्सम्यानले सतकीय पाली खेले । यशस्वी जैसवालले अविजित एक सय ४३ रन बनाए ।

उनले तीन सय ५० बलको सामना गरी १४ चौका पनि हिर्काए । अर्का ओपनर रोहित शर्माले पनि एक सय तीन रनको योगदान गरे ।

कप्तान शर्माले दुई सय २१ बलको सामना गरी दुई छक्का र १० चौका हिर्काएका थिए । ओपनिङ विकेटका लागि जैसवाल र शर्माले दुई सय २९ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान सुभमन गिल ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । 

दोस्रो दिनको खेल सकिँदासम्म अनुभवी ब्याट्सम्यान विराट कोहली अविजित ३६ रन बनाउँदै क्रिजमा छन् । वेस्ट इन्डिजका बलर जोमेल वारिकन र एलिक अथान्जले एक—एक विकेट लिए । त्यसअघि टस जिती पहिलो ब्याटिङको निर्णय लिएको वेस्ट इन्डिजका ब्याट्सम्यानहरु ६४।३ ओभरसम्म मात्र क्रिजमा टिक्न सकेका थिए । 

वेस्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेका थिएनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका एलिक अथान्जले सर्वाधिक ४७ रन बनाएका थिए । टोलीको कूल स्कोर ५० रन पुग्नुअगावै तीन विकेट गुमाएको वेस्ट इन्डिजका लागि ६ ब्याट्सम्यानले मात्र दोहोरो सङ्ख्यामा रन बटुल्न सकेका थिए । 

ओपनर ब्याट्सम्यान क्रिग ब्राथवेटले २० रन बनाएका थिए । उनी टोलीका कप्तान पनि हुन् । वेस्ट इन्डिजका ब्याट्सम्यानहरुका लागि भारतीय बलर रविचन्द्रन आश्विन र रवीन्द्र जडेजा घातक बनेका थिए । आश्विनले पाँच र जडेजाले तीन विकेट लिएका थिए । मोहम्मद सिराज र सार्दुल ठाकुरले पनि एक—एक विकेट हात पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप