आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली तिमी

शनिबार, ३० असार २०८०, १० : ५२
शनिबार, ३० असार २०८०

रारा तालको कलकल पानीसँगै कर्णाली तिमी 
हराभरा भई हाँसिरहेछौ  
फोक्सुन्डो, कुपिन्डे दह अनि रारा तालको साथमा तिमी 
पवित्र भई बाँचिरहेछौ ।  

नाम मात्रै होइन कर्णाली तिमी, 
तिम्रो प्राकृतिक छवि पनि विचित्रको छ
काँक्रेबिहार, खैराबाङ, तिरपुराकोट तिम्रै गर्भभित्र 
तिम्रो नाम नै पवित्र छ । 

चंखेली र कान्जिरोवा हिमाल मात्रै होइन कर्णाली तिमी 
देउती बज्यै र पञ्चकोशी धाम पनि तिम्रै साथमा छ
जुम्लाको मार्सी चामल, स्याउ अनि सल्यानको खुकुरी 
इज्जत प्रतिष्ठा तिम्रै हातमा छ । 

हिमाल हिउँले ढाकिएका छन्
लालीगुराँस पनि फुलिरहेछ 
मैले कर्णाली चिन्ने र घुम्ने अवसर पाएँ
यो मन आज खुसीले हाँसिरहेछ । 

डाँडाकाडा हराभरा बनाइदिन्छौ तिमी
पाँचाऔँले, घुची च्याउ अनि तरकारी फलाइदिन्छौ
राराको चिसो चिसो पानीले आज 
सबको मनलाई भुलाइदिन्छौ ।  

म पनि नेपाली भएर होला सायद,
अब त कर्णाली नाम सुन्दा पनि गर्व लाग्छ
देख्छु सुन्दरताले भरिएका पाखा पर्वत,
आफैलाई प्रकृतिको धनी भन्न मन लाग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेन्द्र बुढाथोकी
भुपेन्द्र बुढाथोकी
लेखकबाट थप