परिस्थिति
शनिबार, ३० असार २०८०, १२ : १५
फुस्काई दिऊ कि जस्तो लाग्छ, कहिले काहीँ त अति दुख्छ
न तोड्नलाई साइनो हाम्रो , मनमा गाँठो कसेको छु
परिधिको सीमाभित्र बाध्यताले बसेको छु
उसको दुःख आफ्नै लाग्थ्यो, टुलु टुलु किन हेरथ्याँ
उसलाई जँघार तराउँदा घोल भित्र पसेको छु
परिधिको चस्माभित्र बाध्यताले बसेको छु
दोषी भइन्छ स्वीकार दिँदा, नगरेका गल्ती पनि
उसको इज्जत जोगाइदिँदा, समाजमा खसेको छु
परिधिको सीमाभित्र बाध्यताले बसेको छु
दिनसँगै भाग्य बिग्रियो, पहिले जस्तो कहाँ छ अचेल
अतीतका याद भुलाउन, शिरमा गेरु घसेको छु
परिधिको सीमाभित्र बाध्यताले बसेको छु
कल्पना मै सीमित हुन्छन् , नभए सी रहर पूरा
कयौँ रहर पुरा गर्न पिँजडामा फसेको छु
परिधिको सीमाभित्र बाध्यताले बसेको छु