आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पुस्तक अंश

यमराजसँग दुईपल्ट जम्काभेट: मृत्यु जितेर म जीवन जिइरहेछु

शनिबार, ३० असार २०८०, १३ : ४६
शनिबार, ३० असार २०८०

मैले यमराजलाई भेटेँ । एकपल्ट होइन, दुईपल्ट । 

पहिलोपल्ट यस्तो थियो । समय ः २०६०, भदौ २९ गते, ५ बजे । स्थानः ब्लु क्रस हस्पिटल । सबै स्वास्थ्य जँचाइसकेपछि मुटु पनि जँचाऊँ न त भन्ने लाग्यो । डा. अरुण सायमीकोमा नाम लेखायौँ । बुबा पनि सँगै हुनुहुन्थ्यो । बुबाको अलिक समय लाग्ने भएकाले धादिङ फर्कनुभयो । 

मेरो सबै परीक्षण भयो । डा. सायमीले, ‘तपाईंलाई पाँच, सात दिनभित्र साइलेन्ट हार्ट अट्याक भएको हुनुपर्छ’ भने । म त जिल खाएँ । एकछिन त केही सोच्न पनि सकिनँ । भएको केही थिएन । न कतै दुख्नु न त्यस्तो कुनै लक्षण देखिएको थियो । हिँड्दा, उकालो चढ्दा अलिअलि स्वाँ–स्वाँ हुन्थ्यो । तर वास्तै लाग्या थिएन । किनकि यो चुरोट खाएर या मोटो भएर होला भन्ठान्थेँ । चुरोट छोड्छु भनी मनमनै अठोट त गर्थें तर कहिले पनि छोड्न सकिनँ । 

डा. सायमीले भने ,‘मद्यपान बन्द, चुरोट बन्द, रातो मासु बन्द, चिल्लो बन्द ।’ उनले औषधि दिँदै थपे, ‘घरमै आराम गर्नू ।’ 

दुई महिना घरमै थन्किएँ म । दुई, दुई महिनामा चेक अप गर्न जान्थेँ । डाक्टरले भने, ‘ठीकै छ, औषधिचाहिँ नियमित खाने गर्नु ।’

थाहै नपाई यमराज आएर गइसकेछ । कस्तो अचम्म लाग्यो । जचाँउदा आनन्द हो कि नजचाउँदा मैले चालै पाइनँ । नजचाउँदा म खुसी थिएँ । डर थिएन । झन् चेकअप पछि डर बढ्यो । 

चालै नपाई यमराज हिँडिरहेको हँुदोरहेछ मान्छेको जीवनमा । 

यसको करिब डेढ वर्षपछि अमेरिका भ्रमणका लागि हामी पतिपत्नी गयौँ । यो २०६१ साल मङ्सिर अन्तिम सातातिरको कुरा हो । चार महिना बसेर फर्कियौँ ।

२०६२ साल साउन एक गते सासूआमा पनि मुटु जँचाउन भनी चितवनबाट राजधानी आउनुभयो । दुर्भाग्यवशः अहिले उहाँ हामीसामु हुनुहुन्न । उहाँ अनन्त यात्रामा लीन भइसक्नुभयो । 

उहाँलाई नारायणगढबाटै काठमाडौंको नर्भिक हस्पिटलमा रिफर गरिएको रहेछ । डा. भरत रावतकोमा । म सासूआमालाई लिएर जँचाउन गएँ । प्रसङ्गवश मैले मेरो कुरा पनि राखँे । सबै कुरा सुनिसकेपछि उनले भने, ‘तपाईंको कुरा सुन्दा त केही भयो जस्तो त लाग्दैन, तैपनि म एकचोटि जाँचेर हेर्छु ।’

भोलिपल्ट शुक्रबार सासूआमासँगै गएँ र ईसीओ, ईसीजी, ब्लड टेस्ट, एक्सरे, टीएमटी लगायत सम्पूर्ण टेस्ट गर्‍यौँ । आमालाई सोही दिन भर्ना गर्नुपर्‍यो, गर्‍यौँ । आमालाई एन्जियोप्लास्टि (सुकेको नसालाई फुकाउने विधि) गर्‍याँै । 

मेरो भने एन्जियोग्राफी गर्नुपर्ने भयो । आइतबार बिहान सात बजे । एन्जियोग्राफी गरेपछि ६ घन्टासम्म उत्तानो परेर पल्टी रहनुपर्ने रहेछ । नौ बजे एन्जियोग्राफी गरेर नौ तीसमा बेडमा ल्याइएको थियो । एन्जियोग्राफी मतलब नसामा बोसो जमेको छ, छैन वा कति जमेको छ भनेर चेक गर्ने विधि रहेछ । कम्प्युटरमा हेर्न र सीडीमा भरेर राख्न मिल्ने रहेछ । 

११ बजेतिर डा. भरत रावत आए र भने, ‘चिजकुमारजी, तपाईंलाई डिस्चार्ज गर्न मिल्दैन, बाइपास सर्जरी गर्नुपर्छ । तुरुन्तै अपरेसन सुरु गरिहाल्ने ... ।’ 

कान टिनिन्न भयो । उफ् ! फेरि यमराज नै आएर बाटैमा बस्यो जस्तो लाग्यो । मुटुकै काम गर्न पर्ने त्यही मुटु ढक्क फुल्यो । मुटु छेउमै बसेको मनमा पहिरो गयो । मैले केही बुझ्न सकिनँ । केही सुन्नै सकिनँ । डाक्टरको ‘बाइपास सर्जरी ...’ पछि थप कुरा सुन्नै सकिनँ । 

‘म मानसिक रूपमा तैयार छैन । डाक्टरलाई डिस्र्चाजको लागि अनुरोध गर्नु,’ परिवारलाई भनेँ । डा.ले डिस्चार्जका लागि स्वीकृति दिए । 

फुलेको मुटु लिएर म घर आएँ । एकपल्ट डा. अरुण सायमीलाई सोध्न मन लाग्यो । भेट्न गएँ । सबै बेलीबिस्तार लगाएँ । अरुणजीले विश्वासै गरेनन् । भने, ‘हाल अपरेसन गर्नु पर्दैन । आत्तिनु पर्दैन । फेरि एन्जियोग्राफी गर्न अर्कै डाक्टरकहाँ जानू ।’ 

मैले भनेँ, ‘पहिले नै एन्जियोग्राफी गर्दाको दाग निको भइसकेको छैन, फेरि थाहा पाउला नि !’ उनले सल्लाह दिँदै भने, ‘त्यसो भए पहिलेकै एन्जियोग्राफी गरेको सीडी देखाउनुस् ।’ 

तर मैले मनमनै अर्को योजना बुनिसकेको थिए । मेरो मनले भन्यो– केही गरी मेरो अपरेसन गर्नु नै पर्‍यो भने दिल्ली जान्छु । 

लगत्तै, दिल्लीका लागि दुईजना साथीसहित तीनजनाको टिकट बुक गरें । भोलि बिहानको फ्लाइटमा जाने कन्फर्म गरेँ । 

बेलुकीतिर मैले डा. सायमीलाई आठ तीस बजे कुरा बुझ्न फोन गरेँ । उनी त झनक्क रिसाए । भने, ‘तपाईंलाई मैले अपरेसन गर्न पर्दैन भनेको हैन ? किन हतार गर्नुहुन्छ ? किन आत्तिनुहुन्छ ? अब मसँग कहिले पनि सम्पर्क नगर्नु होला ।’ 

मैले भनेँ, ‘तपाईंको सल्लाह सुझाव नमान्ने त कुरै आउँदैन ! म टिकट क्यान्सिल गर्न तैयार छु ।’ 

‘लौ त्यसो भए म आधा घन्टापछि फोन गर्छु,’ उनले आधा घन्टाको समय मागेर फोन राखे । 

आधा घन्टापछि उनको फोन आयो । उनले भने, ‘टिकट क्यान्सिल गर्नुुस् र भोलि बिहानै डा. भगवान कोइरालालाई भेट्नुस् । गंगालालमा, ९ः३० बजे ।’

मैले त्यसै गरेँ । 

अपरेसनको डर त छँदै थियो तैपनि भन्छन् नि कालो बादलको छेउमा चाँदीको घेरा हुन्छ । विनाअपरेसन नै औषधि गर्न मिल्छ कि भन्ने आशा थियो । 

तर भाग्यको मर्जी अर्कै रहेछ । सीडी हेरिसकेपछि डाक्टरले भने, ‘आजै त हैन तर विद इन अ विक अपरेसन गर्नुपर्छ ।’ 

म खङ्रङ्गै भएँ । 

भगवान कोइरालाले मलाई नेपालमा नै अपरेसन गर्ने सल्लाह दिए । उनले भने, ‘जहाँ गए पनि यही हो शतप्रतिशत ग्यारेन्टी कतै हुँदैन, एक दुई प्रतिशत जहाँ पनि नराम्रो नतिजाको सम्भावना रहन्छ । तपाईंहरू केही बुझ्नेले नै विदेश धाउन थाल्नुभयो भने हाम्रो सक्षमता र हस्पिटलको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ,’ डा. कोइरालाले गंगालालमा आपैmले अपरेसन गर्ने बताए । 

साथीभाइ, परिवार सबैले माने । मैले चाहिँ सोचेर जवाफ दिन्छु भनेँ । 

‘खर्च पनि बच्ने’, मेरी श्रीमतीले भनिन्, ‘विदेशमा हुने अन्य खर्च बरु यहीँकै यस्तै मुटु रोगीलाई खर्च गरौं । धर्म हुन्छ, शान्ति मिल्छ !’ 

कुरा त ठीक हो । तर, उता दिल्लीमा मेरा नातेदारले सबैकुरा मिलाई सकेछन् । डा. को अपोइन्टमेन्ट पनि । 

शनिबार बिहानै उड्यौँ दिल्ली । साथमा थिए जेठान र साढुभाइ ।

मेरो भित्री इच्छा पनि यही थियो । यहाँ डाक्टर अनुसारका कुरा सुनेर म झस्किएको थिएँ । बिमारीको मनोविज्ञान नबुझी आफ्नै कुरा गर्दा के हो के भन्ने मेरो मनले भनिरहेको थियो । 

फर्केर आइन्छ, आइँदैन, फेरि भेट होला, नहोला ! मन एकतमासको भयो । न अन्तिम बिदाइ यही नै पो हो ? परिवार कता, म कता । कता, कता नातेदार, इष्टमित्र कता, कता ? के गर्ने जानैपर्‍यो ।

दिल्ली एयरपोर्टमा ९ बजे पुग्यौँ । नौ पँैतालीसमा एसकोर्टस् हस्पिटल । 

भर्ना भएँ । मलाई उपचार गर्ने डा. कास्लीवालाले जाँचे र सीडी पनि हेरे । उनले भने, ‘तपाईं ठूलो दुर्घटनाबाट जोगिनुभयो । किन नेपालमा डा. ले आफ्नो पेसन्टलाई राम्रो सल्लाह समयमै दिँदैनन् ? तपाईंले दुई वर्ष अगाडि नै डा. सायमीकोमा जँचाउन जाँदा एन्जियोग्राफी गर्ने सल्लाह दिएनन् । आज शनिवार, भर्ना भइहाल्नुस् । यही मङ्गलबारसम्ममा अपरेसन गर्नुपर्छ ।’ 

म त डरले गुँडुल्किएको थिएँ । के हुने हो । अनेक विचारहरूका भुमरीले मन घुमिरहेको थियो । 

साथीले भने, ‘भोलि आइतबार बिदा । पर्सि सोमबार भर्ना हँुदा हुँदैन र ?डा.ले भने, ‘जति बेला जे पनि हुनसक्छ । बट् यु आर अ लक्की मेन । ठीक टाइममा ठीक ठाउँमा आउनुभयो । आजैबाट उपचार गर्ने । हाम्रो निगरानीमा राख्नुपर्छ ।’

‘जतिबेला जे पनि हुन सक्छ ।’ यो अन्तिम वाक्यले घनलेझैँ मुटु ठोक्यो । मतलब म कति बाँच्छु थाहा छैन । अहिल्यै या केहीबेरमा या भरे, भोलि... ! वा मान्छेको जिन्दगी भन्ने भइरह्यो । 

उपचारको क्रममा सबै परीक्षणहरू दोहोरियो, त्यही इसीजी, एक्सरेलगायत सबै सबै गर्नुपर्‍यो, एन्जियोग्राफीबाहेक । गरिसकेको कसैले कुरै उठाएनन्, हामीले भन्न आवश्यक पनि ठानेनौँ । थप अरु परीक्षण पनि गरे । मुटुको नसा दुईवटा शतप्रतिशत र अर्कोचाहिँ नब्बे प्रतिशत ब्लक देखियो तीनवटै फेर्नुपर्ने भयो । अपरेसन गर्नैपर्ने भयो ।

मङ्गलबार अपरेसन गर्ने भनेका थिए तर भएन । भोलि, भोलि भन्दाभन्दै शुक्रबार पुर्‍याए । अस्तिसम्म चाँडो भनेका थिए । किन यति ढिलो गरे ? पक्कै केही थियो । मलाई त केही भनेका थिएनन् । पछि पो थाहा भयो । मुटुको भल्भ पनि केही खराब रहेछ । मर्मत गर्दा हुने हो या फेर्नु नै पर्ने हो यकिन नहुँदा अपरेसन रोकिएको रहेछ । निर्णय गरेछन्, अपरेसन गर्ने । मुटुको भल्भचाहिँ जस्तो परिस्थिति पर्छ त्यस्तै गर्ने । 

मलाई अनेक विचारले गालिसकेको थियो । अत्यासको आगो, पोलिरहेको मन ! यो तापमा डढिरहेको म । 

शुक्रबार अपे्रसन भयो । होस आउँदा एकदम प्यास लागेको थियो । पानी, पानी भनेँ । जुस ल्याएर दियो आधा ग्लास । अमृत पिए जस्तो लाग्यो ! फेरि बेहोस भएछु म । होस आउँदा आइतबार भइसकेछ । समय समयमा कफ निकाल्न खोक्न भन्थे । खोक्दा छाती साह्रै दुख्ने, प्यास लाग्ने । 

‘सिस्टर प्यास लाग्यो, पानी !’ भन्थेँ । 

‘पहिले खोक्नु अनि दिन्छु’ भन्थिन नर्स । 

एकजना नर्स त्यहीँ स्ट्याण्डबाई बसिरहन्थिन् । डा. को राउन्ड पनि आइरहने । 

उनीहरूको कुरा गराइबाट मैले मेरो अपरेसन गर्दाको जटिलताबारे थाहा पाएँ । तर उनीहरूको संवादको निष्कर्ष थियो, अपरेसन राम्रो भयो, सफल भयो । 

खुसी लाग्यो !

बिरामी भेट्न आउनेलाई दिनको एकपल्ट पाँच मिनेट मात्रै दिँदोरहेछ । मलाई राखिएको रहेछ रिकभरी रुममा जहाँ रात र दिन केही थाहा नहुने । अति सुरक्षित, अति व्यवस्थित । दुई, तीन दिन त्यहाँ राखेपछि मलाई मंगलबार अन्तै सारियो । मतलब मेरो स्वास्थ्यमा सुधार हुँदै छ बिस्तारै । 

त्यसै दिन मेरी श्रीमती दिल्ली आइन् । धुम्मिएको आकाशजस्तो मुहार बोकेर श्रीमती मेरो देब्रे साइडतिर बसेकी थिइन् !

बाढीसरी बह पोखिन्, अपरेसन भएको दिन खबर पाएनौँ हामीले । दुई दिनसम्म सम्पर्क हुन सकेन । कम्ता आत्तिएका हैनौँ हामी ! धेरै कोसिस गरेपछि बल्ल खबर पायौँ , अपरेसन सफल भयो !’ 

मलाई झन् के थाहा हुनु । म यता बेहोसीमै थिएँ । म नहँुदा उनीहरू भित्रभित्रै मरिरहेका थिए । म यता त्यसै मरिरहे जस्तै थिएँ । 

उसले गहभरि आँसु पारी । त्यो आँसुले मेरो परेली निथ्रुक्कै रुझायो । म पनि भक्कानिएँ तर भित्रभित्रै आत्मग्लानिले रिँगाइरहेको थियो मलाई ।

हो, अपरेसन गर्ने दिन खबर गरिनँ । ‘उनीहरू आत्तिएलान् काठमाडौँमा । अपरेसन सफल भइसकेपछि मात्रै खबर गर्नुहोला,’ भनेथेँ । त्यसै गरेछन् । 

आगोभन्दा बढ्ता पोल्छ सन्तापले ! खबर नगरेर त्यही सन्तापमा होमिदिएको थिएँ उसलाई तर, माया मिश्रित थियो, मेरो उद्देश्य ।

साउने झरीजस्तो एकनासले बर्सिरही, बोलिरही ऊ, चकमन्न कोठा । त्यो कोठाजस्तो मन । मनभित्र चलेको अत्यासको हुरी । कतै सम्पर्क नहुँदा दुई दिन, दुई वर्षजस्तो । पलपल तुहिएको श्वास । सहनैपर्ने, खप्नैपर्ने !

कालो बादल थोरै उघ्रेर एक झुल्का घाम छाएजस्तो उसको मुहारभरि सन्तोष छायो । मलाई देखेर । 

ऊनी अझै भन्दै थिइन्, सबलाई खबर पठाएँ । मोबाइल लिइसकेको थिएँ । सधैँजसो सबैसँग कुरा हुन्थ्यो । सबै पिरिए, आत्तिए ।

बुबाबाट आजीवन तिरस्कृत गरिएको छोरा म, आशीर्वादसहित एकलाख पठाइदिनुभएछ । यस्तो हुँदोरहेछ रगतको नाता । सबैको शुभकामना पाएँ । अँगेनाको न्यानो तापजस्तो सबैको तातोले म बाँचे ।

केही हलचल गर्दा पिँडुलामा दुख्यो । किन रहेछ भन्या त त्यही पिँडुलाको झन्डै एक फिट नसा काटेर मुटुमा जोडिएको रहेछ । 

जे होस् म बाँचे । तर डा. सायमीले किन अपरेसन गर्नु पर्दैन भने ? किन सबै डा. का फरक, फरक विचार ? म अहिले पनि छक्क पर्छु ।

एकपल्ट यमराज हार्‍यो । म बाँचे । जीवनका लागि जीवन उपहार पाएँ । 

त्यस्तै अर्को घटना भयो जीवनमा । 

साल २०६४, मङ्सिर ५ गते । बिहानै उठेँ । र, बाथरुममा गएँ । अचानक म ढलेछु । पूरै बेहोस पनि होइन, तर मलाई केही याद पनि छैन । 

गंगा, भाइ र भतिज राम पनि घरमै थिए । श्रीमतीले ‘काका बाथरुममा लडेको हो कि क्या हो, हेर त !’ भनिछन् । धन्न ! मैले ढोका लगाएको रहेनछु । भतिजले हेर्दा म हातमा ब्रस समातेको अवस्थामा थिएँ रे । पछि दुवैजना भएर बैठक कोठामा लगेछन् । 

श्रीमतीले ट्याक्सी बोलाउन पठाउँदा मैले भनेँ रे, ‘आपैm ड्राइभ गरेर जान्छु म ।’ म बोलेको हैन बरबराएको रहेछु ।

श्रीमतीले भनिछिन्, ‘जुत्ता, मोजा लगाउने अवस्था छैन, केको गाडी चलाउनु !’

तुरुन्तै ट्याक्सी ल्याइएछ । करिब आधा घन्टामा अस्पताल पुर्‍याइएछ । श्रीमतीको सल्लाहमा मुटुको बाइपास सर्जरी गरेको बिरामी गंगालाल नलगी सीधै न्यूरो अस्पताल लगिएछ । नेपालका वरिष्ठ प्रा.डा. उपेन्द्र देवकोटा अस्पतालमै हुनुहुँदो रहेछ । परिवार अलि ढुक्क भएछन् । मेरो अहोभाग्य ! ईश्वरले पनि के सङ्केत गरेछ कुन्नि ! न्युरोमै लगेछन् । 

जाँचिसकेपछि आफ्नो निर्णय सुनाए चिकित्सकले अपरेसन गर्नुपर्छ । 

‘ब्रेनस्ट्रोक’ भएछ मलाई । टाउकोको दाहिने भागमा रगत जमेछ । घरपरिवारमा पनि सल्लाह भयो । सबै चाँजोपाँजो मिलाइयो । फ्रेस ब्लडको लागि इष्टमित्र परिवार आए । त्यही दिन साँझ ६ बजे । उपेन्द्र देवकोटाको नेतृत्वमा अपरेसन भयो । 

एक महिना आईसीयूमा राखियो । तैपनि निको भएन । श्वासप्रश्वासमा जटिल समस्या देखियो । पहिले पनि मुटुको अपरेसन । फेरि टाउकाको अपरेसन गर्नुपर्ने भयो । कस्तो नियति ! करिब, करिब मरेजस्तै थिएँ म । आश मारिसकेका थिए सबैले ।

अपरेसन गर्दा समस्या झन् जटिल हुँदै गइरहेको थियो । गरे बाँच्ने चान्स तर धेरै नै कम । मतलब, म मृत्युको मुखमा पुगेको थिएँ । घर रिवारलाई निर्णय लिन गाह्रो भएछ । तर सबैजनाले जे पर्ला त ! भनेर अपरेसन गर्ने निर्णय लिएछन् । गरियो पनि । यमदूत काल र देवदूत डाक्टरको लडाइँमा यमदूत हार्‍यो । म बाचेँ । सायद घरपरिवार, शुभचिन्तकहरूको माया, आशीर्वादले पनि हो कि ! 

अहिले पछि फर्केर हेर्दा लाग्छ, मलाई ब्रेन स्ट्रोक हुनुमा मेरो गल्ती छ पनि, छैन पनि । बाइपास सर्जरी गरिसकेपछि मलाई डाक्टरले रक्सी नखानू भनेको भए म ठ्याम्मै बन्द गरिदिन्थेँ तर, यस्तो भनेनन् । डाक्टरको गल्ती यही थियो । रेड वाइन लिँदा हुन्छ तर दिनको एक पेग भने । तर आज खाँदा भोलि खाँदा मात्रा बढ्दै गयो । 

ब्रेन स्ट्रोक हुनुभन्दा केही दिनअघि पनि म एउटा पार्टीमा गएको थिएँ । कसैले वाइनमा ह्विस्की मिसाइदिएका रहेछन् भन्ने लाग्छ । अलि बढी नै पिएछु । हो, यसरी मन थाम्न नसक्नु मेरै गल्ती थियो । मलाई थाहा थियो, मुटुको अपरेसन गरेर भल्भ फेरेको बिरामी म । रगत पातलो बनाउने औषधि लिएको छु । रक्सीले औषधिको असर कम गराउँछ र रगत बाक्लो भई मुटुमा असर गर्छ । त्यही वाइनमा मिसाइएको ह्विस्कीले औषधिको प्रभाव घटाइदियो । सबै सबै थाहा थियो । तर, मैले जिब्रोको स्वादको निम्ति आफ्नै मनको कुरा सुनिनँ । श्रीमतीले पनि सल्लाह नदिएकी हैनन् । रक्सीको लतमा उसको कुरा पनि सुनिनँ मैले । 

यसको सजाय पाउनै थियो, पाएँ । ठूलो भाग्यले बाँचेँ पनि । नयाँ जीवन दिने डाक्टर, नर्सप्रति म कृतज्ञ छु । मेरो परिवार भाइबन्धुप्रति म ऋणी छु । 

मान्छेको आफ्नै शरीरभित्र काल लुकेको हुँदोरहेछ । त्यो काल आफ्नो कला देखाउँदै बाहिर निक्लँदो रहेछ यमराजको रूपमा । त्यो डरलाग्दो यमराजसँग मेरो दुईपल्ट भेट भयो । दुईपल्टको जम्काभेट सम्झँदा पनि सिरिङ्ग हुन्छ मन । 

जीवन ठूलो कुरा हो । मृत्यु सानो कुरा । तर त्यही सानो मृत्युले ठूलो जीवन लिएर जान्छ । आपूmले बनाएका नाता कुटुम्ब र सम्बन्धहरू लिएर जान्छ । सबैलाई निल्ने यो मृत्यु जितेर म जीवन जिइरहेछु ।

(कांग्रेसका पुराना नेता श्रेष्ठको पुस्तक ‘यात्रा आफैँभित्र’को एक अंश । यो पुस्तक शनिबार (३० असारमा) विमोचन हुँदै छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चिजकुमार श्रेष्ठ
चिजकुमार श्रेष्ठ
लेखकबाट थप