आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओ पेङ्दोर्जे ! हरेस नखाऊ, उज्यालो हुँदैछ

शनिबार, ३० असार २०८०, १६ : २१
शनिबार, ३० असार २०८०

एक दिन म बुवा (तेजेश्वरबाबु ग्वंगः) को कोठामा छिरेँ । उहाँको संग्रहित किताबहरूको चाङमा सबैभन्दा माथि एउटा किताब देखेँ ‘ओ पेङ्दोर्जे !’ कवितासङ्ग्रह । नेपा–लयले प्रकाशन गरेको कवि राजु स्याङ्तानको पुस्तक रहेछ यो । पुस्तकको आवरणले नै मेरो ध्यान खिच्यो । पहिलो नजरमै पढूँ पढूँ लाग्यो ।

यसो पल्टाएको भित्री पहिलो पृष्ठमा लेखिएको देखेँ ‘‘नयाँ युगको पिपा र सुसारे बन्न अस्वीकार गर्नेहरूलाई’’ । हक, अधिकार र समानताको लागि सङ्घर्षशील युवाहरूको दरिलो आवाज गुञ्जिए झैँ लाग्यो । गरिबी, शोषण, अशिक्षा, भोक, रोगलगायत कैयन समस्याबाट शोषित पीडित जनताको लागि मलहम लिएर कोही आएको जस्तो आभास भयो । 

पीडा जोसुकैलाई जस्तोसुकै किन नहोस् असह्य नै हुन्छ । पीडा स्वयं आउँदैन । कारक तत्त्व कुनै एउटा हुन्छ, जसले अर्कैलाई पीडा दिलाउँछ । जसमा सहनशीलताको कमी हुन्छ, उनीहरू पीडामा छटपटी रहन्छन् र जो सहनशील हुन्छन्, तिनी पीडालाई आत्मसात् गर्दै आफ्ना नियमित दैनिकीमा व्यस्त हुन्छन् । 

हो, त्यस्तै असाधारण जीवनयापन गर्ने दुःखीहरूको पीडाको कथा हो, राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे !’ । कविले प्रत्येक कवितालाई आकर्षक कथा वाचक झैँ प्रस्तुत गरेका छन् ।

कतै बन्धकी राख्न नमिल्ने 

दुःखको लालपूर्जा बोकेका

कमिलाका अन्तहीन ताँतीजस्ता 

ती सिसिफसहरू

भोकले पटपटी फुटेको ओठ

दस रुप्पेको मास्कले छोप्दै–छोप्दै गए । 

मलाई सम्झना छ, म सानो छँदा हाम्रो विद्यालयमा विभिन्न अवसरमा हुने वादविवाद प्रतियोगितामा सहभागी हुने गर्थ्यौ । प्रायः प्रतियोगिताको शीर्षक हुन्थ्यो, ‘‘बन्दुक बलियो कि कलम ?’’ 

बाल मनोविज्ञानको कारणले होला, शायद म सधैँ बन्दुक बलियो भन्ने पक्षमै उभिन्थेँ । युद्धका भयानक तथा पीडादायी कथाहरू जो सुनिराखेका हुन्थ्यौँ । चलचित्रहरूमा बन्दुकका गोलीहरूले शरीरका अङ्गहरू क्षत विक्षत पारेको दृश्य देख्थ्यौं । अनि एउटा नायकले खलनायकमाथि बर्साएको गोलीको वर्षा आदि इत्यादि । 

कवि स्याङ्तान आफू स्वयम् पनि जनयुद्धताका बन्दुक बोकेर समाज परिवर्तनको अभियानमा लम्केका योद्धा भए ता पनि आज बन्दुकलाई बिसाएर कलमको शक्तिद्वारा समाज परिवर्तनको अभियानमा सक्रिय भएको देखेपछि म गलत थिएँ भन्ने महसुस भयो । कलम बलियो हुनुको ज्वलन्त उदाहरण बने कवि र उनका कविताहरू !

यो कस्तो अधकल्चो बाटोमा 

आइपुग्यौं हामी ?

हरेक रात सपनामा 

आफू हराएको ठेगाना बोकेर 

बेपत्ता यौद्धाहरू आउँछन्

युद्धका कमाण्डरहरू हजारौै योद्धाहरूलाई बीच बाटोमा छोडेर कतै हराए । जनतालाई देखाएका सपनाहरू बाँकी छँदै मध्यरातमै अलपत्र पारेर कतै बिलाए । होसमा भएकाहरू पनि हराए । बेहोशीमा रहेकाहरू पनि हराए । अब तिनीहरूलाई खोज्न नपर्ने सूचना लिएर कवि स्याङ्तान आए भन्न मन लाग्यो मलाई ।

एउटा प्रचण्ड 

काखीमा भरुवा बन्दुक च्यापेर 

नारायणी तिरैतिर हिँड्दा हिँड्दै 

चेपाङ बस्तीहरूमा कतै छुट्यो 

अर्को प्रचण्ड 

पाँचतारे होटलको एउटा तारामा 

बोकिरहेको हँसिया सिउँरिएर 

त्यही होटलमा नाच्दा नाच्दै उतै छुट्यो

मेरो प्रिय चेपाङ दाइ

एउटा हातमा

गिट्ठा भ्याकुर कोसेली बोकेर 

अर्को हातमा

घरको हातमा

घरको निसानी एक मुठी खरानी बोकेर 

सहरका चोक र गल्लीहरूमा

अब कुनै प्रचण्ड नखोज ।

औंसीको कालो रातको अन्धकारको गहिराई पुरै भयानक र डरलाग्दो हुन्छ । दुर्वल र असहायहरूलाई त्यो रात काट्न हम्मे हम्मे पर्छ । सबैजना छिटै झिसमिसे बिहानी होस्, उज्यालोले सुन्दर बिहानी लिएर आओस् भन्ने चाहनामा पल गनेर बस्छन् । 

तर, त्यही समय र पल जीवनको सबैभन्दा उदेकलाग्दो र लामो भएको अनुभव हुन्छ । दुःख र पीडाको बसाइँ किन लामो हुन्छ ? सुखको अनुभव सधैँ रहिरहोस् र कहिल्यै नसकियोस् भन्ने किन लाग्छ मानिसलाई ? 

ओ पेङ्दोर्जे ! दुःख, पीडा, कष्टलाई हराउन सक्ने क्षमता आफूमा विकास गर्नु । अन्याय, अत्याचार, उत्पीडन, हेपाईको डटेर सामना गर्नु । यहाँ बोल्न नसक्नेलाई कसैले सुन्दैन, नसुन्नेलाई जथानाम गाली गरिन्छ । कमजोरलाई कुल्चन्छन्, बलियाको पूजा गर्छन् । 

तिमी हिम्मत नहार, हामी तिम्रो साथमा छौं । प्रयास गर्न नछोड, तिम्रो उद्देश्य अवश्य पुरा हुन्छ । पहिलो पाइला चालिसक्यौ, अब निरन्तर अघि बढ, गन्तव्य अवश्य भेटिन्छ । निराश नहोऊ, हरेस नखाऊ । उज्यालो हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव ग्वंगल
सञ्जीव ग्वंगल
लेखकबाट थप