आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ठुलो आवाजमा सङ्गीत बजाएर छिमेकीलाई आतङ्कित पार्ने व्यक्तिलाई जेल सजाय

सोमबार, ०१ साउन २०८०, १२ : ४१
सोमबार, ०१ साउन २०८०

ठुलो आवाजमा सङ्गीत बजाएर छिमेकीलाई आतङ्कित बनाउने एक पुरुषलाई जेल सजाय तोकिएको छ । पाँच वर्षसम्म लगातार ठुलो स्वरमा इलेकट्रोनिक सङ्गीत बजाएका ती व्यक्तिविरुद्ध छिमेकीले प्रहरी चौकीमा उजुरी हालेका थिए । 

स्पेनको बार्सिलोनास्थित मतारोमा रहेको अदालतले ती व्यक्तिविरुद्ध एक वर्षको जेल सजाय तोकेको हो । सन् २०१२ देखि ती व्यक्तिले दिनरात एकनासले इलेकट्रोनिक सङ्गीत बजाएपछि छिमेकीको चैन खोसिएको थियो । सङ्गीतको आवाज कम गर्न उनलाई थुप्रै पटक आग्रह नगरेको पनि होइन, प्रहरी उनको घरसम्मै पुग्यो गए तर उनले बजाउने सङ्गीतको आवाज फिटिक्कै कम भएन । फुल भोलुममा करिब तीन वर्षपछि इलेकट्रोनिक सङ्गीत सुन्न बाध्य भएपछि उनको घरसँगै जोडिएका तीन छिमेकीले सन् २०१५ मा उनी विरुद्ध उजुरी दिए । निरन्तरको सङ्गीतले आफूलाई मानसिक र शारीरिक दुवै समस्या दिएको भन्दै उनीहरुले उजुरी दिए । 

तर ती व्यक्तिलाई छिमेकीको उजुरी र प्रहरीको चेतावनीले कुनै फरक परेन । त्यसैले उनी विरुद्ध अदालतमा मुद्दा दर्ता गरियो । प्रहरीका अनुसार ती व्यक्तिको घरबाट लगातार ‘बुम–बुम’ आवाज आइरहन्थ्यो । एक जना पीडितले त्यो ‘बुम–बुम’ आवाज सहनै नसकिने बताउँदै यसले आफ्नो हड्डीलाई समेत हल्लाउँथ्यो भनेर जानकारी दिइन् ।

अनुसन्धान गर्दा ती व्यक्तिले पाँच वर्षसम्म दिउँसोको समयमा ५७ डेसिबल र राती ५६ डेसिबलमा सङ्गीत बजाउने गरेको पाइयो । कानुन अनुसार ३५ डेसिबलमा मात्रै सङ्गीत बजाउन पाइन्छ । सङ्गीत यति ठुलो आवाजमा बज्ने गर्दथ्यो कि छिमेकीका अनुसार उनीहरूको घरभित्रको सामान निरन्तर कम्पन भइरहन्थे ।

ठुलो आवाजले आतङ्कित हुनेमा एक जना इन्सोम्निया (अनिद्रा) बाट ग्रसित वृद्धा थिए । उनलाई यसका लागि विशेष उपचारको आवश्यकता पर्छ जुन आवाजका कारण गर्न सकिएको थिएन । यस्तै, अर्का छिमेकी अल्जाइमरबाट ग्रसित थिए । ठुलो आवाजमा बज्ने इलेकट्रोनिक सङ्गीतले उनको अवस्था थप नाजुक भएको थियो । आफूले बजाएको सङ्गीतले छिमेकीलाई कस्तो असर पारेको छ भनेर थाहा पाउँदा पनि उनले यसो गर्न बन्द नगरेको अदालतले भनेको छ ।

सन् २०१२ देखि २०१७ सम्म ती व्यक्तिले आफ्नो छिमेकीको आग्रह र प्रहरीको चेतावनीलाई ठासो अस्वीकार गरेर लगातार बुम–बुम सङ्गीत बजाइरहे । तर अचम्मको कुरा के छ भने ती व्यक्तिले आफूले कहिल्यै छिमेकीलाई बाधा पुग्ने गरी आफूले सङ्गीत बजाएको कुरालाई अस्वीकार गरे तर आफ्नो घरमा धेरै पटक प्रहरी आएको कुरालाई भने उनले नकार्न सकेनन् ।

एल डियारियोका अनुसार ती इलेकट्रोनिक सङ्गीतका पारखीलाई एक वर्ष तीन महिनाको जेल सजाय तोकिएको छ । उनले आफ्ना छिमेकी र ठुलो आवाजका पीडितलाई २० हजार डलर क्षतिपूर्ति स्वरूप दिनुपर्नेछ र २,४१७ जरिवाना तिर्नुपर्नेछ । यस्तै उनलाई इलेकट्रोनिक सङ्गीतसँग सम्बन्धित कुनै पनि पेसा र व्यापार गर्नबाट प्रतिबन्ध लगाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप