आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजेटसँगै आजदेखि नयाँ ब्याजदर कार्यान्वयनमा

गत आर्थिक वर्षमा सरकारलाई ३ खर्ब ९७ अर्ब ८७ करोड घाटा
सोमबार, ०१ साउन २०८०, १४ : ४२
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । यो गत आर्थिक वर्ष २०७९/८० को भन्दा २.३७ प्रतिशतले कम बजेट हो । 

आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । तर, आर्थिक वर्षको अन्तसम्ममा सरकारले विनियोजित बजेटको ७९.६९ प्रतिशत अर्थात् १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बराबर मात्र खर्च गर्न सकेको छ । 

विनियोजित खर्च मध्ये पुँजीगततर्फ (विकास खर्च) ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ छुट्टाइएकोमा आर्थिक वर्षभित्र जम्मा २ खर्ब ३३ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ (६१.४४ प्रतिशत) मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

बाँकी १ खर्ब ४६ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ बराबरको विकास खर्च फ्रिज हुन पुगेको छ ।

लक्षित राजस्वको ७० प्रतिशत मात्र प्राप्त

आर्थिक वर्षको बजेट खर्च गर्ने स्रोततर्फ लक्षित राजस्व जम्मा ७०.७३ प्रतिशत मात्र प्राप्ति भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार मसान्तसम्ममा कूल १० खर्ब ३१ अर्ब ६९ करोड २१ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन हुन सकेको छ । आर्थिक वर्षका लागि सरकारले सबै गरी (राजस्व, गैर राजश्व,अनुदान लगायत) १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रुपैयाँ उठाउने लक्ष्य राखेको थियो । 

तथापि, लक्षित राजस्व प्राप्ति गर्न नसकिने देखेपछि सरकारले फागुनमा बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेट खर्च समेत घटाएको थियो । सरकारले २ खर्ब ४४ अर्ब अर्थात् विनियोजित बजेटको १४ प्रतिशत बजेट कटौती गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेको थियो । संशोधित बजेट समेत कार्यान्वयन हुन नसकेको हो । 

expenditure-comparision

स्रोतको अभावमा बजेट संशोधन गरेको सरकारलाई गत आर्थिक वर्षमा ३ खर्ब ९७ अर्ब ८७ करोड १९ लाख रुपैयाँ खुद घाटा लागेको छ । 

नयाँ ब्याजदर कार्यान्वयनमा

नयाँ आर्थिक वर्ष सुरु भएसँगै यता सोमबारदेखि नयाँ ब्याजदर समेत कार्यान्वयनमा आएको छ । गत बिहीबारको बैंकर्स संघको निर्णय अनुसार वाणिज्य बैङ्कहरूले साउन महिनाका लागि खुल्ला ब्याजदर नीति अनुसार आ–आफ्नै किसिमको नयाँ ब्याजदर घोषणा गरेका छन् । बैङ्कहरूले साउन महिनाका लागि निक्षेपको ब्याजदर न्यूनतम ७.५२ प्रतिशतदेखि अधिकतम १०.९८ प्रतिशतसम्म तोकेका छन् । 

गत असार महिनाका लागि बैङ्कहरूले भद्र सहमतिमा निक्षेपमा ७.९९ प्रतिशतदेखि ९.९९ प्रतिशत (एकै किसिमको) ब्याजदर तोकेका थिए । 

जुन परिवर्तित आज अर्थात् आजदेखि कार्यान्वयनमा गएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप