आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशसँगको सिरिज जितेर नेपाल फर्कियो महिला फुटबल टोली

सोमबार, ०१ साउन २०८०, १५ : ५७
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । नेपाली महिला फुटबल टोली बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर सोमबार स्वदेश फर्किएको छ । 

१९औं एसियाडको तयारी स्वरूप नेपालले महिला फुटबलमा दक्षिण एशियाको बलियो टोली बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । 

उक्त भ्रमणमा नेपालले पहिलो खेलमा १–१ बराबरीको नतिजा सामना गर्दा दोस्रो खेल टाइब्रेकरमार्पmत ४–२ गोलअन्तरले जित्दै सिरिजको ट्रफी उचाल्यो । दोस्रो खेलमा वैकल्पिक गोलकिपरका रूपमा मैदान प्रवेश गरेकी अञ्जना रानामगरले दुई पेनाल्टी बचाएपछि नेपालले रोमाञ्चक जित निकालेको थियो । 

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले स्वागत गरेका थिए ।  

सोमबार स्वदेश फर्किएका नेपाली टोलीले पर्याप्त म्याच एक्सपोजर पाउन सकेमा एसियाडका लागि राम्रो तयारी हुने धारणा राखेका थिए । नेपाली महिला फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले साफको च्याम्पियन टोलीविरुद्ध आफ्नो टोलीले गरेको जुझारु प्रदर्शनले आगामी खेलमा नेपाली खेलाडीको आत्मबल बढाउने विश्वास व्यक्त गरे । तुलनात्मक रूपमा नेपाली टोलीमा धेरै पक्ष सुधार आएको प्रशिक्षक थापाले बताए । प्रशिक्षक थापाले टोलीमा अझै पनि फिटनेसमा केही समस्या देखिएको बताए । त्यसका लागि उनीहरूलाई जतिसक्दा धेरैभन्दा धेरै म्याच एक्सपोजर दिन आवश्यक रहेको औंल्याए । 

नेपाली महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बालेले एसियन गेम्समा बंगलादेशभन्दा कठिन प्रतिद्वन्दीहरू सामना गर्नुपर्ने भएकाले टोलीमा धेरै सुधार गर्नुपर्ने आश्यकता रहेको बताइन् । उनले अझ पनि माथिल्लो स्तरको टोलीविरुद्ध म्याच एक्सपोजर पाएमा एसियाडको तयारी राम्रो हुने विश्वास व्यक्त गरिन् ।  

नेपाली टोलीकी भरपर्दी स्ट्राइकर सावित्रा भण्डारीले पछिल्ला साफमा भएका गल्तीहरू कम गर्दा बंगलादेशबिरुद्ध जित सम्भव भएको बताइन् । उनले एशियन गेम्स खेल्न पाउनु नै आफूहरूका लागि ठूलो अवसर भएपनि त्यो प्रतिष्पर्धाले गर्दा नेपालको वास्तविक खेलस्तर कस्तो रहेछ भन्ने प्रमाणित गर्ने धारणा राखिन् । 

नेपाली टोलीकी स्ट्राइकर सावित्राले पुरुष टिमको जस्तै युथ र सिनियर लेभलको लिग गरे महिला फुटबलको भविष्य राम्रो रहेको संकेत गरिन् । साथै सिनियर टोलीको म्याच एक्सपोजर पनि उत्तिकै आवश्यक रहेको सावित्राले औंल्याइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप