मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यसरी पूर्णता पायो संघीय संसदले

आइतबार, ०४ चैत २०७४, १८ : ४२
आइतबार, ०४ चैत २०७४

काठमाडौं– संघीय संसद अन्र्तगत प्रतिनिधिसभा र राष्ट्रियसभाले पूर्णता पाएको छ । आइतबार राष्ट्रियसभाका उपाध्यक्षको निर्वाचन भएसँगै संघीय संसदका दुई सदनले पूर्ण पदाधिकारी पाएको हो ।

निर्वाचित भएको २ महिनापछि गत फागुन २१ गते प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले सपथग्रहण गरेका थिए । २२ गते पहिलो संसद बैठक बसेको थियो ।

यो बिचमा प्रतिनिधिसभामा सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न भएको छ भने राष्ट्रियसभाले पनि अध्यक्ष र उपाध्यक्ष पाइसकेको छ ।

संघीय संसदमा पुरुष अध्यक्ष भए महिला उपाध्यक्ष र महिला अध्यक्ष भए पुरुष उपाध्यक्ष हुने र दुबै पदमा फरक फरक पार्टीको सांसद हुनुपर्ने संबैधानिक ब्यवस्था रहेको छ ।

प्रतिनिधिसभा

गत फागुन २१ गते प्रतिनिधिसभाका २ सय ७४ सदस्यलाई जेष्ठ सदस्यहको हैसियतमा राजपाका नेता महन्त ठाकुरले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

त्यसअघि ठाकुरले राष्ट्रपतिसमक्ष सपथ लिएका थिए ।

यस्तै फागुन २६ गते माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध सभामुख चयन भएका थिए । काँग्रेसले महराको बिरुद्धमा अर्को उम्मेदवार खडा गरेन ।

चैत २ गते काँग्रेसकी उम्मेदवार पुष्पा भुसाल गौतमलाई पराजित गर्दै एमालेकी सांसद शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभाको निर्वाचनबाट संसदमा २ सय ७५ सांसद छन् ।

जसमा नेकपा एमालेको १ सय २१, काँग्रेसको ६३, माओवादी केन्द्रको ५३, राजपाको १७, संघीय समाजवादी फोरमको १६, नेमकिपाको १, राष्ट्रिय जनमोर्चाको १, राप्रपाको १, नयाँ शक्तिको १ जना संसाद छन् ।

प्रतिनिधिसभा १ सय ६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट आएका छन् भने अरु १ सय १० सदस्य सामानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका हुन् ।

प्रतिनिधिसभाले सभामुख र उपसभामुखको चयनका साथै प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया पनि पुरा गरेको छ ।

गत फागुन २७ गते संसदमा भएको विश्वासको मतदान प्रक्रियमा २ सय ८ सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गरेका थिए भने ६० सांसदले उनको बिपक्षमा मतदान गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गतेका लागि बोलाइएको छ ।

राष्ट्रियसभा    

गत फागुन २८ राष्ट्रियसभा अध्यक्षमा एमालेका प्रदेश नंबर ४ का सहसंयोजक एवं पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भए ।

उनको बिरुद्धमा काँग्रेसले उम्मेदवार खडा गरेन । यस्तै चैत ४ गते उपसभामुखमा माओवादी केन्द्रकी शशीकला दाहाल ४५ मत ल्याएर बिजयी भएकी छिन् । उनको प्रर्तिष्पर्धामा रहेकी काँग्रेसकी बिन्दादेवी आले रानाले ११ मत ल्याएकी थिइन् ।

गत माघ २४ गते भएको राष्ट्रियसभाको निर्वाचनबाट संघीय संसद अन्र्तगतको राष्ट्रियसभामा ५६ जना सदस्य निर्वाचन प्रक्रियाबाट आएका थिए भने ३ जनालाई सरकारले नियुक्त गरेको थियो ।

राष्ट्रियसभामा सदस्य पठाउनका लागि गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेश सभाका सांसदहरुले मतदान गरेका थिए ।  

राष्ट्रियसभामा भएको निर्वाचनमा बामगठबन्धनले ३९ सदस्य जितेको थियो जसमा एमालेको २७ र माओवादी केन्द्रका १२ जना सांसद छन् ।

यस्तै काँग्रेसका १३ जना सदस्य रहेका छन् । पछि काँग्रेसले नियुक्त गरेका सदस्य बदर गर्दै एमालेले सिफारिस गरिएका ३ सदस्यलाई राष्ट्रपतिले मनोनयन गरेकी थिइन ।

६ बर्षको पदावधी रहने राष्ट्रियसभामा गोला प्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, बाँकी एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्ष पदावधि कायम हुने संबैधानिक ब्यवस्था रहेको छ ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ३ महिला, १ दलित, १ अल्पसंख्यक अथवा अपाङ्ग र  खुल्ला सदस्यले समानुपातिक ढंगले प्रतिनिधित्व गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप