समूह विजेता बन्न आज चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच भिडन्त
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आज दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीच भिडन्त हुँदै छ । पाकिस्तान र भारतबीचको खेल नेपाली समयअनुसार, दिउँसो २:१५ बजे (दिवा-रात्रि) सुरु हुनेछ ।
प्रतियोगिताको समूह ‘बी’ मा रहेका यी दुवै राष्ट्र यसअघि नै प्रतियोगिताको नकआउट चरणमा पुगिसकेका छन् । सोही समूहमा रहेका नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।
बुधबार नै बिहान १०:१५ बजे नेपाल र यूएईबीच अर्को खेल हुँदै छ । जारी प्रतियोगितामा यी दुवै टोली सान्त्वना जितको खोजीमा छन् । भारत र पाकिस्तान भने समूह विजेता बन्ने होडमा छन् । यी दुवै टोलीको चार—चार अङ्क छ ।
समूहगत चरणको अन्तिम खेलमा विजयी हुने टोली समूह विजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्नेछ । त्यसै पनि विश्व क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई विशेष रूपमा लिने गरिएको छ ।
खासगरी भारत र पाकिस्तानबीच हुने क्रिकेट खेल मैदानमा केवल खेलका रूपमा मात्र सीमित रहँदैन । राजनीतिक रूपमा एक अर्काका कट्टर विरोधी यी दुवै राष्ट्रका समर्थकहरूले क्रिकेट खेललाई पनि सोही रूपमा लिने गरेका छन् ।
त्यसैले क्रिकेट मैदानमा यी दुई चिरप्रतिद्वन्द्वी राष्ट्र आमनेसामने हुँदा समर्थकहरुबीच चर्को तनाव देखिन्छ । क्रिकेटमा यी दुई राष्ट्रबीच जुनसुकै स्तरको खेल भए पनि समर्थकहरूमा चर्चा र बहसको विषय बन्न पुग्छ । जारी प्रतियोगितामा पाकिस्तान र भारत दुवै टोलीको प्रदर्शन स्तरीय छ । यी दुवै टोलीले अघिल्ला खेलमा आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो अन्तरले हराएका छन् ।
एसीसी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालबाहेक अन्य सातवटै राष्ट्रले आफ्नो ‘ए’ टोलीलाई समावेश गराएको छ । भारत र पाकिस्तानबीचको खेल श्रीलङ्काको राजधानी कोलम्बोस्थित प्रेमादासा रङ्गशालामा खेलिने छ ।
अर्कोतिर, समूह ‘ए’ बाट भने दुई टेस्ट राष्ट्र श्रीलङ्का र बङ्गलादेश क्रमशः पहिलो र दोस्रो हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । यी दुवै टोली चार—चार अङ्कसहित सेमिफाइनलमा पुगेका हुन् । चार अङ्कसहित अफगानिस्तान तेस्रो स्थानमा रहे पनि नेट रन रेटमा श्रीलङ्का र बङ्गलादेशसँग पछाडि पर्यो । चौथो स्थानमा रहेको ओमानले भने खातासम्म खोल्न सकेन ।