आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको विवादले सम्मेलन गर्नै समस्या

बुधबार, ०३ साउन २०८०, ११ : ३८
बुधबार, ०३ साउन २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विवादले सम्मेलन गर्न समस्या भएको छ । अखिल क्रान्तिकारीको अध्यक्ष पन्चा सिंह पक्षले मंसिरमा २३ औं सम्मेलन गर्ने तयारी गरेको छ । तर, समानान्तर कमिटी चलाएको पवन कार्की पक्षले असोजमै सम्मेलन गर्नुपर्ने भन्दै दबाब बढाएको छ ।

एउटै पार्टी संगठनमा एकरुपता नहुँदा सम्मेलन गर्नै समस्या देखिएको हो । अखिल क्रान्तिकारीको २३ औं सम्मेलन मंसिरमा गर्ने तयारी गरिएको संगठनका उपाध्यक्ष नारायण खनालले बताए । संगठनभित्रको विवाद पार्टी नेताहरुद्वारा सिर्जित भएको हो कि भन्ने महसुस भइरहेको उनको भनाइ छ ।

‘अखिल क्रान्तिकारीको विवाद विद्यार्थी नेताहरुको मात्रै विवाद होइन । यो पार्टीका केन्द्रीय नेताबाट सिर्जित समस्या हो भन्नेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसमेत जानकार हुनुहुन्छ,’ खनालले भने, ‘हामीले विवाद मिलाउन प्रयास ग¥यौँ । पार्टी नेताहरुले मिलाएमा विद्यार्थी संगठनको समस्या हल स्वतः भइहाल्छ ।’

तर, अखिल क्रान्तिकारीको समानान्तर कमिटी चलाएका संयोजक पवन कार्कीले संगठनको २३ औं सम्मेलन असोजमै गरेर जानुपर्ने बताए । ‘संगठनको २३ औं सम्मेलन असोजमै गर्नुपर्छ । विधानभन्दा बढी समय लम्ब्याउनु हुँदैन,’ कार्कीले भने, ‘अब सहमतिको नाममा संगठनलाई भद्रगोल बनाउनु हुँदैन । आन्तरिक प्रतिस्पर्धा गर्न दिएर सम्मेलन गर्नुपर्छ ।’

संगठनमा विवाद हुँदा गत असार २० गते भएको क्रान्तिकारी स्ववियू काउन्सिलमा कार्की पक्ष अनुपस्थित भएको थियो । कार्की पक्षले काउन्सिल भेलामा पार्टीका नेताहरुलाई उपस्थित नहुन दबाब दिएको थियो । जसका कारण उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थित भएनन् ।

पन्चा पक्षले क्रान्तिकारी काउन्सिलको भेला गरे लगत्तै कार्की पक्षले साउन ४ गते स्ववियूमा निर्वाचित प्रतिनिधि राखेर भेला गर्ने तयारी गरेको थियो । भेलामा प्रधानमन्त्री प्रचण्ड उपस्थित हुन नसक्ने जानकारी गराएपछि मिति सारिएको छ ।

कार्की पक्षले प्रधानमन्त्रीलाई नै बोलाउने गरी स्ववियूको भेला गर्ने मिति पर्खेर बसेको छ । अखिल क्रान्तिकारीमा विवादले पार्टीकै नेताहरुको टाउको दुखाई भएको छ । माओवादी केन्द्रका सचिव एवम् अखिल क्रान्तिकारीका इन्चार्ज हितमान शाक्यले पार्टी केन्द्रीय समिति बैठकले विद्यार्थीको सम्मेलनको मिति तय गर्ने बताए ।

‘हामीले सबै विद्यार्थी नेताहरुलाई एकतावद्ध गरेर मंसिरमा सम्मेलन गर्ने तयारी गरेका छौँ । अब बस्ने केन्द्रीय समितिले मिति तय गर्नेछ,’ शाक्यले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप