सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रसुवामा लम्पी स्किनबाट एक सय ५९ पशु मरे

बिहीबार, ०४ साउन २०८०, ०७ : ४७
बिहीबार, ०४ साउन २०८०

रसुवा । रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म जिल्लामा लम्पी स्किनबाट एक सय ५९ पशुचौपाया मरेका छन् । 
               
जिल्लाका पाँचवटै गाउँपालिकाका पशुचौपाया लम्पी स्किन रोग फैलिएको छ । सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको छ ।

उक्त गाउँपालिकाको स्याफ्रुबेँसीमा कार्यरत पशुसेवा प्राविधिक प्रमुख सुरेश वडालका अनुसार छ वडामा लम्पी स्किनबाट हालसम्म २१ चौरी, एउटा याक र ४१ स्थानीय जातका गाईगोरुको मृत्यु भएको छ । 

“रोग नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ”, उनले भने । गोसाइँकुण्डभित्र करिब आठ सय पशु लम्पी स्किनबाट सङ्क्रमित छन् । लम्पी स्किनबाट सङ्क्रमित पशुचौपायालाई छुट्टै क्वारेन्टाइनमा राख्नुपर्ने आवश्यकता रहेको बडालको भनाइ छ ।

हिमाली क्षेत्रको खाली पाखामा पशुचौपाया छोड्ने चलनले रोग बढी फैलिएको उनी बताउछन् । 

जिल्लाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा पनि लम्पी स्किन रोगबाट पशुचौपायामा क्षति भएको छ । आमा छोदिङ्मोबाहेक अन्य गाउँपालिकामा झण्डै एक हजार पाँच सय  पशुचौपायाको उपचार भइरहेको सम्बन्धित गाउँपालिकाका प्राविधिकले जानकारी दिएका छन् । 
             
कालिका गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख बुद्धिनाथ न्यौपानेले दक्षिणी रसुवाकाका पालिकका पशुचौपायामा लागेको लम्पी स्किन रोग नियन्त्रणका लागि प्राविधिक समूह खटिएको बताइन् । सङ्क्रमणका कारण अधिकांश गोरु बिरामी परेकाले किसानलाई धान रोपाइँ गर्न समस्या भएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप