पहिचान बिनाको म
सम्भ्रान्त सहरको व्यस्त सडकमा
हुर्किएको म,
मेरा लागि घामपानी र ठिहीमा
ओत लाग्ने र सुत्ने महल
सडक पेटी र आकाशे पुल थिए
मेरा लागि बाबु आमा तिनै थिए
जसले सडकमा दयाले
पैसा, खानेकुरा दिने गर्थे
मेरा लागि सर्वस्व तिनै साथी थिए
जसले ज्वरोले हनहनी भएर थलिएको बेला
सिटामोल ख्वाएर
मेरो हेरविचार र स्याहार गर्थे ।
हो, म त्यही हुँ
यही देशको सम्भ्रान्त सहरको
सडकमा हुर्किएको, बढेको
नाम, थर ठेगाना कुल गोत्र
केही पनि थाहा नभएको
पहिचान बिनाको म ।
अग्लो पनि छुइन, होचो पनि होइन
चुच्चो नाक छैन, थेप्चो पनि होइन
गोरो पनि छैन, कालो पनि होइन
हिन्दू, मुस्लिम, बौद्ध, क्रिश्चियन,
कुनै धर्मको होइन
बाहुन, क्षेत्री, जनजाति, दलित,
कुनै जात छैन ।
अनि म आफैसँग प्रश्न गर्छु–
म को हुँ ?
पहिचान बिनाको म ।
निरङ्कुशता विरुद्धको
आन्दोलन सडकमा चलिरहँदा
भोकभोकै योद्धाहरूसँग अग्रपङ्क्तिमा
निषेधाज्ञा र कर्फ्यु तोड्न
अश्रुग्याँस र पानीको फोहरालाई परास्त गर्दै
जनताको जित भन्दै
विजयोत्सव मनाउँदै गर्दा
योद्धाहरूबाट
मैले अवास्तविक पहिचान पाएको थिएँ ।
मलाई अवास्तविक पहिचान दिने,
योद्धाहरू अहिले
सिंहदरबारको सिंहासनमा
विराजमान हुनुहुन्छ
ती माननीयज्यूलाई म सोध्न चाहन्छु–
तपाईंले दिएको अवास्तविक पहिचान
तपाईंको सरकारी कागजातमा
उल्लेख गरेर
मलाई कहिले न्याय
दिनुहुन्छ माननीयज्यू ?
ओ, माननीयज्यू ...।