आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेटौँडामा बीपी स्मृति दिवस : वृक्षरोपणदेखि चियापानसम्म

शनिबार, ०६ साउन २०८०, १६ : २२
शनिबार, ०६ साउन २०८०

हेटौँडा । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा मकवानपुरको हेटौँडा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाली कांग्रेस मकवानपुर र विभिन्न भातृ तथा कांग्रेसनिकट संघ-संस्थाहरूले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसमा चियापानदेखि वृक्षरोपण लगायतका कार्यक्रमहरू आयोजना गरेका छन् ।

विक्रम संवत १९७१ भदौ २४ गते जन्मेका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्दै २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किएका वीपीको २०३९ साउन ६ गते निधन भएको थियोे । उक्त दिनलाई कांग्रेसले वीपी स्मृति दिवसको रूपमा मनाउँदै आएको छ ।

स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले चियापान सँगै मकवानपुरबाट कांग्रेसको पार्टी, भातृ तथा शुभेच्छुक संस्थाहरूमा मनोनीत भएका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी एवं सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षता भएको कार्यक्रममा पार्टी र विभिन्न भातृ एवं शुभेच्छुक संस्थामा मनोनीत भएका २३ जनालाई बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रममा बोल्दै सभापति लामाले स्व.कोइरालाले आफ्नो प्रधानमन्त्रीको कालमा दुवै छिमेकी राष्ट्रहरूसँग सन्तुलित र कुटनैतिक सम्बन्ध स्थापित गरेर नेपाललाई आर्थिक र विकासको पूर्वाधारलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान गरेको बताए । उनले स्व.कोइरालाको योगदान चिरस्मरणीय रहेको र उनको प्रेरणाले आज मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट पार्न सफलता प्राप्त भएको बताए ।

उक्त अवसरमा जिल्ला पार्टी कार्यालयमा रहेको बीपीको अर्धकदको शालिकमा माल्यार्पण समेत गरिएको थियो भने निको अस्पताल प्रालि तथा तमु फार्मेसी हेटौडासँगको समन्वयमा उपस्थित नेता तथा कार्यकर्ताहरूको निःशुल्क स्वास्थ्य जाँच समेत गरेको थियो ।

स्मृति दिवसको अवसरमा बीपी विचार समाज मकवानपुरले हेटौँडा– ११ मा ४१ प्रजातिका बिरुवा वृक्षारोपणसहित विचार गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । समाजले हेटौँडा– ११ सरस्वतीमा वृक्षारोपण तथा विचार गोष्ठी गरेको हो । उक्त अवसरमा हेटौँडा– ११ सरस्वतीमा ४१ प्रजातिका बोटविरूवाको वृक्षारोपण गरिएको थियो ।

प्राध्यापक डाक्टर तथा वरिष्ठ समालोचक गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा भएकोमा कार्यक्रममा समाजका मकवानपुरका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षता रहेको थियो । विचार गोष्ठी कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले नेपाली कांग्रेस र तिनका अनुयायीहरूले वीपीको विचार छोड्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सङ्गठन विभाग प्रमुख माइकल रामचन्द्र अर्याल, साहित्यकार प्राध्यापक डाक्टर शैलेन्द्रप्रकाश नेपाल लगायतले बीपी कोइरालाको बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप