सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मैत्रीपूर्ण खेलमा आर्सनलमाथि युनाइटेड हाबी

आइतबार, ०७ साउन २०८०, ०९ : ४०
आइतबार, ०७ साउन २०८०

न्यु जर्सी । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । न्यु जर्सीमा रहेको मेटलाइफ स्टेडियममा आयोजित खेलमा युनाइटेड २–० गोलले विजयी बनेको हो ।

रेकर्ड ८२ हजार २६२ दर्शक सामु खेलिएको खेलमा नवनियुक्त कप्तान ब्रुनो फर्नान्डेजले खेलको ३० औँ मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए । ७ मिनेटपछि जेडन सान्चोले युनाइटेडको अग्रता दोब्बर बनाए ।

यद्यपि, खेल युनाइटेडका लागि सुखद भने रहेन । फरवार्ड अमाद डियालो मैदान प्रवेश गरेको केही मिनेटमा नै घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए ।

उता, आर्सनलले थुप्रै अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत भने गर्न सकेन । ग्याब्रिएलले अन्तिमतिर गरेको प्रहार बाहिरिएको थियो ।

खेल सकिएपछि दुवै टोलीले पेनाल्टी सुटआउटको अभ्यास पनि गरेका थिए । त्यसमा पनि युनाइटेड ५–३ गोलले विजयी बन्यो । आर्सनलका फाबियो भिएराको प्रहार पोस्ट बाहिर गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप