आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बीपी सङ्ग्रहालयमा कविता वाचन

आइतबार, ०७ साउन २०८०, ११ : ४०
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । बीपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसरमा विद्युतकर्मी साहित्य समाजद्वारा शनिबार सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयमा  कविता वाचन कार्यक्रम गरिएको छ । 
सो कार्यक्रममा सर्जकहरूले रचना वाचन तथा  बीपीको बहुआयामी व्यक्तित्वमाथि परिचर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कवि त्रिभुवनचन्द्र वाग्लेले बीपीलाई पञ्चायती सत्ताले राजनीतिमा नामेट गर्न खोजे पनि उनको समाजवादको लक्ष्यलाई नेपाली राजनीतिमा प्रविष्ट गराएको बताए ।
 नारी मनोविज्ञान, यौनमोविज्ञान, समाज चित्रण र प्रतिरोधात्मक वैकल्प्य लेखनलाई बीपीले नेपाली साहित्यमा स्थापित गरेको पनि उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्वसांसद गोविन्द शर्मा कँडेल (बाग्लुङ) ले आज बीपीका विचार आत्मबोध गर्ने दिन हो भन्दै बीपी विचारको सान्दर्भिकता वर्तमान राजनीतिमा अझ अकाट्य भएको बताए । 
बीपी सङ्ग्रहालयका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक परशुराम पोखरेलले इतिहास नामेट गराउनेहरूको हातबाट जेललाई सङ्ग्रहालय बनाएको बताए । उनले सङ्ग्रहालयलाई नागरिकको सम्पत्ति बनाउन पाएकामा सन्तोष व्यक्त गर्दै भने, “उहाँ जन्मेको वा निधन भएको दिनदेखि नै उत्सव वा स्मृति गरिने भएकाले यस पटक बीपीको ४१ औँ नभएर ४२ औँ स्मृति दिवस हुनुपर्ने हो ।”

विद्युतकर्मी साहित्य समाजका अध्यक्ष कवि कृष्णदेव रिमालले बीपीको स्मरण गर्न र योगदाको सम्मान गर्न काव्य गोष्ठी तथा रचना वाचन कार्यक्रम आयोजना गरिएको बताए । 
कार्यक्रममा कविहरू शारदादेवी पोखरेल, विष्णुप्रसाद आचार्य, मुकुन्दप्रसाद प्रसाईं, सङ्गीता अधिकारी, आविष्कार कला, रीता खनाल, बलराम पुडासैनी, यादवराज घले नरबहादुर श्रेष्ठ, विष्णु थापा बिछोड, नरबहादुर श्रेष्ठलगायतले कविता, मुक्तक तथा गीत वाचन गरेका थिए ।  

बीपीले सुन्दरीजल जेलमा रहँदा कपुरको रुखमुनि बसेर साहित्य सिर्जना गर्थे । करिब १५० वर्ष पुरानो सोही स्थानमा सो कार्यक्रम गरिएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप