आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टीमा एक गुटले अर्को गुटको नेतालाई दुस्मनजस्तो व्यवहार गर्छन् : भीम पराजुली

आइतबार, ०७ साउन २०८०, १२ : ०१
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीभित्र चरम गुटबन्दी रहेको बताएका छन्। 

आइतबारको केन्द्रीय समितिमा बैठकमा  उनले भने, ‘पार्टीभित्र चरम गुटबन्दी देखिएको छ। एक गुटको नेता कार्यकर्ता अर्को गुटमा जाँदा सम्मानजनक व्यवहार देखिँदैन । अरू पार्टीका नेतासँग सुमधुर सम्बन्ध राख्ने तर आफ्ना पार्टीका नेताहरूसँग दुस्मनको जस्तो व्यवहार गरेको देखिन्छ । एक गुटले अर्को गुटको नेतालाई दुस्मनजस्तो व्यवहार गर्छन्।’ 

गुटबन्दीको आफू पनि सिकार भएको भन्दै अन्तर्घात गर्नेलाई कडा अनुशासनको कारबाही गरिनुपर्ने उनको भनाइ छ । आफू प्रदेश सभा चुनाव लड्न हराउन खोजे पनि मेयर हुँदाका बेला गरेको कामले गर्दा जनताको मतले जित्न सफल भएको उनको भनाइ छ।

उनले पार्टीका शीर्ष नेताको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने पनि बताए। ‘सम्पत्ति विवरण पार्टीमा बुझाउने अभियान सञ्चालन गर्नुपर्छ,’ उनले भने।

केन्द्रीय नेता पनि महाधिवेशनअघि वडाबाटै निर्वाचित भएर आउने व्यवस्था विधानमै समावेश गर्न उनले माग गरे।

कांग्रेस प्रदेश र केन्द्रमा सरकारमा भए पनि सुशासनको प्रत्याभूति नभएको उनले बताए। ‘जनउत्तरदायी काम गर्न ढिला गर्न हुन्न,’ उनले भने, ‘सरकारको नेतृत्व माओवादीले गरेको छ । राम्रो काम जति उसले जस लिने, नराम्रा कुरा भने कांग्रेस थाप्लोमा आउने परिस्थितिबारे समीक्षा आवश्यक छ ।’

बैठकको लाइभ गरेकोमा सभापति शेरबहादुर देउवालाई धन्यवाद दिँदै यसले पार्टीमा नयाँ सुरुवातसँगै ऊर्जा भरेको पराजुलीले बताए । यस्तै उनले नीति महाधिवेशन र महासमिति बैठकसँगै बोलाउनुपर्ने बताए । ‘नीति निर्माणसँग आवश्यक विधान संशोधन गर्नुपर्छ,’ उनले भने ।

भ्रातृ सङ्गठनलाई युवामैत्री बनाउन तरुण दलमा ४० र नेविसंघ ३२ र नेपाल महिलासंघमा ४५ वर्षको उमेर हद राख्नुपर्ने बताए । ‘महाधिवेशन प्रतिनिधिमा १८ देखि ४० सम्मका उमेर समूहलाई छुट्टै आरक्षको व्यवस्था गर्नु पर्दैछ । केन्द्रीय समितिमा पनि सोही अनुसारको आरक्षको व्यवस्था गर्नुपर्दछ । देशभरिका गुनासो सुन्न पार्टीको संयन्त्र बनाउनुपर्छ ।’

यस्तै धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातनको एजेन्डा कांग्रेसले बोकेर हिड्नुपर्ने पराजुलीले बताए । ‘देशमा ८४ प्रतिशत ओमकार परिवार छन् । त्यसका लागि छुट्टै धर्म र संस्कृति विभाग गठन गर्नुपर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप