सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसीसी इमर्जिङ टिम्स एसिया कप : भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन

आइतबार, ०७ साउन २०८०, २२ : ०५
आइतबार, ०७ साउन २०८०

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ । पाकिस्तानले आइतबार भएको फाइनल खेलमा चिर प्रतिद्वन्द्वी भारतलाई एक सय २८ रनको विशाल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५२ रनको विशाल स्कोर बनाएको थियो । पाकिस्तानका लागि मुहम्मद तैयब ताहिरले टोलीका लागि सतकीय योगदान गरेका थिए । उनले एक सय आठ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ७१ बलको सामना गरी चार छक्का र १२ चौका पनि प्रहार गरे । 

ओपनर ब्याट्सम्यान सइम अयुब र सहिबजादा फरहान उल्लाहले पनि अर्धसतकीय पाली खेले । सइमले ५९ रन बनाए । उनले ५१ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काए । अर्का ओपनर सहिबजादाले ६५ रन बनाए । 

उनले ६२ बलको सामना गरी चार छक्का र चार चौका हिर्काएका थिए । ओपनिङ ब्याट्सम्यानले एक सय २१ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ओमाइर बिन युसुफले पनि टोलीको खातामा ३५ रन थपेका थिए । सातौं नम्बरका ब्याट्सम्यान मुबासिर खानले पनि ३५ रन बनाए । भारतीय बलर राजबद्र्धन हंगारगेकर र रियान परागले दुई-दुई विकेट लिए । 

जवाफी ब्याटिङमा ओर्लिएको भारतले ४० ओभरमा अलआउट हुनुअघि दुई सय २४ रनमात्र बनाउन सक्यो । भारतका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर ब्याट्सम्यान अभिषेक शर्माले ६१ रन बनाए । उनले ५१ बलमा एक छक्का र पाँच चौका प्रहार गरे ।  

भारतीय टोलीका कप्तान यस ढुलले ३९ रन बनाए । ओपनर साई सुदर्शन २९ रनमा पेभेलियन फर्किएका थिए । पाकिस्तानी टोलीका बलर युफयान मोकिमले तीन विकेट लिए । मेहरान मुमताजले दुई विकेट हात पारे । अर्साद इक्बालले दुई विकेट लिए । मुहम्मद वसिमले पनि दुई विकेट लिए । मुबासिर खानले एक विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप