सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला विश्वकप : चर्चामा छिन् १६ वर्षीया क्यासी

सोमबार, ०८ साउन २०८०, १३ : ४६
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । अहिले अस्ट्रेलिया र न्युजिल्यान्डमा महिला विश्वकपको नवौं संस्करण चलिरहेको छ । अधिकांश टोलीले आफ्नो पहिलो खेल खेलिसकेका छन् । तर, एसियाली राष्ट्र दक्षिण कोरियाले भने आफ्नो पहिलो खेल खेल्न बाँकी छ ।

दक्षिण कोरियाले मंगलबार कोलम्बियासँग आफ्नो पहिलो खेल खेल्दैछ । दक्षिण कोरियाको पहिलो खेलअघि एक अमेरिकी किशोरी निकै चर्चामा छिन् । उनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि छाएकी छन् । उनी हुन्, १६ वर्षीया क्यासी फाइर ।

दक्षिण कोरियाको महिला टोलीका प्रमुख प्रशिक्षक कालिन बेलले विश्वकपका लागि घोषित दक्षिण कोरियाली टोलीमा समेटेदेखि नै यी अमेरिकी किशोरी चर्चामा छिन् । १६ वर्षीया क्यासी अहिले विश्वकप खेल्ने दक्षिण कोरियाली टोलीकी सदस्य हुन् । खासमा क्यासी दक्षिण कोरियाली आमा र अमेरिकी बुवाकी सन्तान हुन् ।

उनी दक्षिण कोरियाको राष्ट्रिय फुटबल टोलीमा पर्ने पहिलो वहुजातीय खेलाडी हुन् । यसअघि दक्षिण कोरियाको पुरुष राष्ट्रिय फुटबल टोलीमा पनि वहुजातीय खेलाडीले स्थान पाएका थिएनन् ।

‘मलाई थाहा छ, उनी (क्यासी) दक्षिण कोरियाको राष्ट्रिय टोलीमा पर्ने पहिलो वहुजातीय खेलाडी हुन् । त्यसैले यतिबेला उनी चर्चामा पनि छिन् । उनका लागि पनि यो फरक अनुभव हुनेछ,’ प्रशिक्षक बेल भन्छन्, ‘तर, उनलाई विश्वकपका लागि राष्ट्रिय टोलीमा समेटनुको मुख्य कारण भने उनको उत्कृष्ट खेल्ने शैली हो ।’

क्यासी दक्षिण कोरियाको राष्ट्रिय फुटबल टोलीमा स्थान बनाउने सबैभन्दा कम उमेरकी खेलाडी पनि हुन् । यदि जारी विश्वकपको समूहगत चरणको पहिलो वा दोस्रो खेलमा मैदानमा ओर्लने अवसर पाइन् भने क्यासी विश्वकप खेल्ने सबैभन्दा कम उमेरकी खेलाडी पनि बन्नेछिन् ।

sasey-2

जारी विश्वकपको समूहगत चरणमा दक्षिण कोरियाले पहिलो खेल मंगलबार कोलम्बियासँग र दोस्रो खेल जुलाई ३० तारिखमा मोरक्कोसँग खेल्नेछ । विश्व फुटबल महासंघ (फिफा) का अनुसार, हाल सबैभन्दा कम उमेरमा महिला विश्वकप खेल्ने कीर्तिमान भने नाइजेरियन खेलाडी ईफेनी चिजिनेको नाममा रहेको छ ।

सन् १९९९ मा अमेरिकामा आयोजित महिला विश्वकपको तेस्रो संस्करण खेल्दा नाइजेरियन स्ट्राइकर ईफेनीको उमेर १६ वर्ष ३४ दिन थियो । हाल ३६ वर्ष पुगेकी ईफेनीले त्यतिबेला दक्षिण कोरियाविरुद्घ नै आफ्नो पहिलो खेल खेलेकी थिइन् ।   

सबैभन्दा कम उमेरमा महिला विश्वकपमा गोल गर्ने कीर्तिमान भने रुसकी एलेना डानिलोभाको नाममा रहेको छ । सन् २००३ को महिला विश्वकपमा गोल गर्दा एलेनाको उमेर १६ वर्ष एक सय सात दिन रहेको थियो । त्यसैले यतिबेला क्यासीसँग एलेनाको कीर्तिमान तोड्ने अवसर पनि छ । ‘यति महत्वपूर्ण कीर्तिमानहरु बनाउने अवसर पाएकोमा म निकै खुसी छु । यो अवसरका लागि म सबैप्रति आभारी पनि छु । अब मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने जिम्मेबारी मेरो काँधमा आएको छ । यसका लागि म तयार पनि छु,’ क्यासी भन्छिन्, ‘म आफ्नो राष्ट्रलाई सफलता दिलाउन खेल मैदानमा सक्दो प्रयास गर्नेछु ।’

क्यासीको चर्चासँगै अर्को एउटा प्रश्न पनि उठेको छ । कतै कम उमेरका कारण क्यासीले विश्वकप अवधिभर बेञ्चमै बस्नु पर्ने त होइन ? तर, प्रशिक्षक बेलसँगै फुटबल विज्ञहरु भन्छन्, फिफाको नियमका कारण त्यस्तो अवस्था आउँदैन । ‘हामी सबैले उनको राम्रो हेरचाह गरिरहेका छौं । उनी अग्रपंक्तिकी खेलाडी हुन् र उनको खेल्नै शैली पनि गजबको छ । हामीले क्यासीबाट उत्कृष्ट प्रदर्शनको आशा गरेका छौं । विश्व फुटबलमा उनको भविष्य पनि उज्जवल छ,’ प्रशिक्षक बेल भन्छन्, ‘विश्वकप हेर्न मात्र टोलीमा परेकी होइनन् । बरु उनी दक्षिण कोरियाली टोलीकी महत्वपूर्ण सदस्य हुन् ।’

प्रशिक्षक बेलको अभिब्यक्तिबाट पनि क्यासीले समूहगत चरणकै खेलमा मैदानमा ओर्लर्न पाउने सम्भावना देखिन्छ । किनभने क्यासीको खेल्ने शैलीबाट प्रशिक्षक बेल प्रभावित देखिन्छन् । सन् २००७ को जुन २९ तारिखमा जन्मिएकी क्यासी पछिल्लो समय अमेरिकाको न्यू जर्सीस्थित ‘प्लेयर डेभलपमेन्ट एकेडेमी’ मा प्रशिक्षण गर्छिन् । दक्षिण कोरियाको उमेर समूहको राष्ट्रिय टोलीबाट भने उनले यसअघि पनि विभिन्न प्रतियोगिता खेलिसकेकी छन् । उनले दक्षिण कोरियाको यू—१७ टोलीबाट पाँच गोल पनि गरेकी छन् । उनले एसियन कपको छनोट प्रतियोगितामा पाँच गोल गरेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप