आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ नेता च्युन र सभामुखबीच भेटवार्ता, ८० लाख युआन सहयोगको घोषणा

सोमबार, ०८ साउन २०८०, १९ : ५०
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युयान च्या च्युनसँग भेटवार्ता गरेको छ ।  सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरेका छन् । 

‘सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,’ उनले भने, ‘द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।’ सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गरे । संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको भन्दै उनले तत्कालिन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धी र रसुवागढी–केरुङ रेल मार्गको विकासका लागि जोड दिएका छन् । 

जनगणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चानशुको गएको वर्ष भएको भ्रमण र नेपालको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको एकमहिना अघि भएको भ्रमणले संसदीय आदान प्रदान विस्तारित हुँदै गएको सभामुखको भनाइ छ । चीन संसारको आर्थिक शक्ति रहेको उल्लेख गर्दै सभामुख घिमिरेले नेपाललाई अन्नको भण्डार बनाउन नमूना कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे । 

सीपीसी नेता च्या च्युनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने आश्वसन दिए । उनले आफ्नो नेपाल भ्रमणमा ८० लाख युआन अर्थात् नेपाली १४ करोड रुपैयाँ सहयोगको घोषणा समेत गरे ।  नेता च्याचिनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तोसमेत दिए ।सोमबार नै एलआरआई स्कूल कलंकीमा भएको कार्यक्रममा सभामुख घिमिरे र नेता च्याचिनले भाषा ल्याबको सुरुवात गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप