आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रेल्वे स्टेशनबाटै दुई लाख ७० हजार लुटेर फरार हुनेको अझै खुलेन पहिचान

सोमबार, ०८ साउन २०८०, १५ : २१
सोमबार, ०८ साउन २०८०

जनकपुरधाम । नेपालको एकमात्र रेल सेवा नेपाल रेल्वे सुरक्षित नभएको पाइएको छ । आइतबार दिउँसो रेल्वेमा एक जना महिलाको २ लाख ७० हजार रुपैयाँ लुटिएको घटनामा अहिलेसम्म प्रहरीले लुटेराको पहिचान गर्न सकेको छैन ।

सुरक्षाका लागि दर्जनौँ सुरक्षाकर्मी खटाइए पनि धनुषाको जनकनन्दनी गाउँपालिका–३, कठालकी सुनिता कुमारी यादवको साथबाट रकम लुटिएको हो । रेल्वे स्टेशनमा सीसीटीभी क्यामेरासमेत नरहेका कारण लुटेराको पहिचान गर्न कठिन भएको प्रहरीको भनाइ छ ।

जनकपुरधामस्थित एनआईसी एसिया बैंकबाट पैसा निकालेर घर जाने क्रममा सुनिताको साथबाट रकम लुटिएको थियो । आइतबार दिउँसो करिब ४ बजेर ३० मिनेटको समयमा रेलमा चढ्ने बित्तिकै उनको ह्याण्ड ब्याग कसैले लुटेको थियो जसमा २ लाख ७० हजार रुपैयाँ थियो ।

गाउँमा जग्गा किनेबापत जग्गा धनीलाई पैसा दिन पतिले विदेशबाट पठाएको पैसा झिकेर घर आउने क्रममा उनको पैसा लुटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले पाकेटमारले पैसा लुटेको सूचना आएको बताएका छन् । उनले घटनालगत्तै टोली परिचालन गरेको बताए । तर, रेल्वे स्टेशनमा सीसीटीभी क्यामरा नभएका कारण लुटेरालाई खोज्न कठिन भइरहेको उनको भनाइ छ ।

भिडभाड रहने धार्मिक पर्यटकीय नगरी जनकपुरधाम रेल्वे स्टेशनको सुरक्षामा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धन निरञ्जन झा गम्भीर नदेखिएको भन्दै आलोचना हुन थालेको छ । भिडभाड रहने स्थानमा सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पार्न सीसीटीभी क्यामेरा राख्नुपर्नेमा रेल्वे कम्पनीले त्यसतर्फ ध्यान नदिएका कारण यस प्रकारका लुटपाटका घटना हुने गरेको सरोकारवाला बताउँछन् ।

यसअघि रेल्वेबाट दैनिक भन्सार छली गरी अवैध रुपमा गुट्खा, कपडा लगायतका सरसामान आउने गरेको थियो । रातोपाटीले तस्करीको विषयमा भिडियोसहित समाचार प्रकाशन गरेपछि केही दिन तस्करीका गतिविधि बन्द भए पनि अचेल फेरि त्यस्ता गतिविधिले प्रश्रय पाउन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप