सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला विश्वकप : कोलम्बियाले जिते पनि कोरियाकी क्यासीले इतिहास रचिन्

मङ्गलबार, ०९ साउन २०८०, १० : ५३
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको मंगलबार खेलिएको खेलमा कोलम्बियाले एसियाली राष्ट्र दक्षिण कोरियामाथि २—० गोलको सजिलो जित हासिल गरेको छ । पराजयका बाबजुद उक्त खेलमा दक्षिण कोरियाकी एक खेलाडीले कीर्तिमान बनाएकी छन् । 

समूह ‘एच’ अन्तर्गतको उक्त खेलमा कोलम्बियाले दुवै गोल पहिलो हाफमा गरेको हो । खेल सुरु भएको ३०औँ मिनेटमा कोलम्बियाका लागि क्याटालिना अस्मीले पहिलो गोल गरेकी थिइन् । उनले टोलीका लागि पेनाल्टीमार्फत गोल गरेकी हुन् । 

सिड्नीमा खेलिएको उक्त खेलको ३९औँ मिनेटमा लिन्डा कासेडोले अर्को गोल थप्दै कोलम्बियालाई सजिलो जित दिलाइन् । समूहमा जर्मनी तीन अङ्कसहित पहिलो र कोलम्बिया तीन अङ्कसहित दोस्रो स्थानमा छन् । आफ्नो पहिलो खेलमा जर्मनीले मोरक्कोलाई ६—० गोलले हराएको थियो । 

उक्त खेलमा दक्षिण कोरियाकी १६ वर्षीय खेलाडी क्यासी फाइरले इतिहास रचेकी छन् । उनी दक्षिण कोरियाली आमा र अमेरिकी बुवाकी सन्तान हुन् । उनी दक्षिण कोरियाको राष्ट्रिय फुटबल टोलीबाट विश्वकप खेल्ने पहिलो वहुजातीय खेलाडी बनेकी छन् । 

यसअघि दक्षिण कोरियाको पुरुष राष्ट्रिय फुटबल टोलीमा पनि वहुजातीय खेलाडीले स्थान पाएका थिएनन् । क्यासी दक्षिण कोरियाको राष्ट्रिय फुटबल टोलीमा स्थान बनाउने सबैभन्दा कम उमेरकी खेलाडी पनि हुन् ।  

कोलम्बियाविरुद्घको खेलपछि क्यासी विश्वकप खेल्ने सबैभन्दा कम उमेरकी खेलाडी पनि बनेकी छन् । विश्व फुटबल महासंघ (फिफा) का अनुसार, क्यासीभन्दा अगाडि सबैभन्दा कम उमेरमा महिला विश्वकप खेल्ने कीर्तिमान नाइजेरियन खेलाडी ईफेनी चिजिनेको नाममा रहेको थियो । 

सन् १९९९ मा अमेरिकामा आयोजित महिला विश्वकपको तेस्रो संस्करण खेल्दा नाइजेरियन स्ट्राइकर ईफेनीको उमेर १६ वर्ष ३४ दिन थियो । हाल ३६ वर्ष पुगेकी ईफेनीले त्यति बेला दक्षिण कोरियाविरुद्घ नै आफ्नो पहिलो खेल खेलेकी थिइन् ।   

सबैभन्दा कम उमेरमा महिला विश्वकपमा गोल गर्ने कीर्तिमान भने रुसकी एलेना डानिलोभाको नाममा रहेको छ । सन् २००३ को महिला विश्वकपमा गोल गर्दा एलेनाको उमेर १६ वर्ष एक सय सात दिन रहेको थियो । त्यसैले यतिबेला क्यासीसँग एलेनाको कीर्तिमान तोड्ने अवसर पनि छ । 

सन् २००७ को जुन २९ तारिखमा जन्मिएकी क्यासी पछिल्लो समय अमेरिकाको न्यू जर्सीस्थित ‘प्लेयर डेभलपमेन्ट एकेडेमी’ मा प्रशिक्षण गर्छिन् । मंगलबार कोलम्बिया र दक्षिण कोरियाबीच खेल हुँदा उनको उमेर १६ वर्ष २६ दिन पुगेको छ । 

दक्षिण कोरियाको उमेर समूहको राष्ट्रिय टोलीबाट पनि उनले विभिन्न प्रतियोगिता खेलिसकेकी छन् । उनले दक्षिण कोरियाको यू—१७ टोलीबाट पाँच गोल पनि गरेकी छन् । उनले एसियन कपको छनोट प्रतियोगितामा पाँच गोल गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप