सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोरक्कोकी कप्तानलाई समलिङ्गी सम्बन्धको बारेमा प्रश्न सोधेपछि बीबीसीले माफी माग्यो

मङ्गलबार, ०९ साउन २०८०, ११ : ५५
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । महिला विश्वकपको नवौँ संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ । विश्वकपमा सोमबार जर्मनी र मोरक्कोबीच खेल भएको थियो । उक्त खेलमा जर्मनीले मोरक्कोलाई ६—० गोलको फराकिलो अन्तरले हराएको थियो । 

जर्मनीविरुद्धको खेल सुरु हुनुअघि ब्रिटिस न्युज अर्गनाइजेसनको विश्व सेवाकी एक सञ्चारकर्मीले मोरक्कोकी कप्तान घिजलेन चेबाकलाई एउटा अस्वाभाविक र असान्दर्भिक प्रश्न सोधेका थिए । सञ्चारकर्मीको प्रश्न सुनेर मोरक्कोकी कप्तान चेबाक अकमक्क परेकी थिइन् । 

त्यसपछि ती सञ्चारकर्मीले सोधेको प्रश्नलाई लिएर व्यापक आलोचना सुरु भएको थियो । आलोचना बढ्दै गएपछि अहिले बीबीसीले त्यसका लागि सार्वजनिक रूपमा माफी मागेको छ । खेल सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा ती सञ्चारकर्मीले मोरक्कोकी कप्तान चेबाकसँग ‘तपाइँको देशमा समलिङ्गी सम्बन्धलाई कानुनी मान्यता प्राप्त छ, होइन त ?’ भनेर प्रश्न सोधेका थिए । 

त्यति प्रश्नले मात्र सञ्चारकर्मीको चित्त बुझेन । लगत्तै उनले मोरक्कोकी कप्तानलाई पहिलो प्रश्नसँगै सम्बन्धित अर्को प्रश्न पनि सोध्न भ्याए । कप्तान चेबाकसँग सञ्चारकर्मीको अर्को प्रश्न थियो, ‘के विश्वकप खेल्न आएको तपाइँको टोलीमा पनि समलिङ्गी खेलाडीहरू छन् ? यदि छन् भने मोरक्कोमा उनीहरूको जीवनशैली कस्तो छ ?’  

अप्रत्याशित रूपमा सञ्चारकर्मीले असान्दर्भिक प्रश्न सोधेपछि मोरक्कोकी कप्तान चेबाक जिल्ल परेकी थिइन् । उनले कुनै जवाफ भने फर्काइनन् । सञ्चारकर्मीले यस्तो असान्दर्भिक प्रश्न सोधेपछि पत्रकार सम्मेलन सञ्चालकले तत्काल हस्तक्षेप गरेका थिए । 

पत्रकार सम्मेलनका सञ्चालकले ती सञ्चारकर्मीसँग भने, ‘यो राजनीतिक प्रश्न हो । हामी फुटबल रङ्गशालामा छौँ । त्यसैले कृपया फुटबलसँग सम्बन्धित प्रश्न मात्र सोधेर सहयोग गर्नु हुनेछ भन्ने विश्वास लिएका छौँ ।’ 

पत्रकार सम्मेलनको सञ्चालकले यति भन्दा पनि ती सञ्चारकर्मी रोकिएनन् । उनले जिद्दी गर्दै भने, ‘यो राजनीतिक प्रश्न हुँदै होइन । यो सर्वसाधारण पाठकले जान्न चाहेको विषय हो । त्यसैले कृपया उनलाई (मोरक्कोकी कप्तानलाई) मेरो प्रश्नको जवाफ फर्काउन दिनुस् ।’ सञ्चारकर्मीले निरन्तर आफ्नो अडान कायम राखेपछि पत्रकार सम्मेलन नै टुङ्ग्याइएको थियो । 

यो प्रसंग बाहिरिएपछि ती सञ्चारकर्मी र उनले सोधेको असान्दर्भिक प्रश्नको व्यापक आलोचना भएको थियो । त्यसपछि बीबीसीले उक्त विषयलाई लिएर सार्वजनिक रूपमा माफी मागेको हो । बीबीसीका एक प्रवक्ताले सीएनएनसँग भनेका छन्, ‘पक्कै पनि त्यो प्रश्न असान्दर्भिक थियो । सञ्चारकर्मीको त्यो प्रश्नबाट पर्न गएको असुविधाप्रति हामी माफी माग्न चाहन्छौं ।’

पत्रकार सम्मेलन कक्षमा रहेका सीबीसीका सञ्चारकर्मी सिरिन अहमदले पनि प्रश्न असान्दर्भिक रहेको बताए । ‘पक्कै पनि त्यो प्रश्न असान्दर्भिक थियो र फुटबल मैदानभन्दा टाढा अन्तै कतै भट्किएको थियो,’ उनले भनेका छन्, ‘फुटबल टोलीका कप्तान र प्रशिक्षकहरुसँग यस्ता अनावश्यक प्रश्नहरूको जवाफ नै हुँदैन ।’

विश्व फुटबल महासंघ (फिफा_ र मोरक्को फुटबल महासङ्घले भने यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । सीएनएनको प्रश्नमा पनि यी दुई निकायका प्रतिनिधिहरूले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप