आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बेथिति

कर्मचारीकै संलग्नतामा हुन्छ विमानस्थलबाट सुन तस्करी

बुधबार, १० साउन २०८०, ०७ : ०४
बुधबार, १० साउन २०८०

काठमाडौं । २०७९ साल पुस महिनामा चीनबाट भेप (विद्युतीय चुरोट)मा लुकाएर सुन तस्करी हुने गरेको एउटा तथ्य खुल्यो । चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको भेपमा शंकास्पद वस्तु भेटिएपछि गरिएको थप अनुसन्धानका क्रममा सुन रहेको पाइयो ।

खासगरी, पुस १० गते चीनबाट ल्याइएको ७३० थान भेपभित्र लुकाएर १९ किलोग्राम सुन ल्याइएको खुलेको थियो । यससँगै, नेपालमा सुन तस्करीको नयाँ रहस्य खुल्यो । र, यसबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्दा विमानस्थल भन्सार कार्यालयका कर्मचारीको समेत संलग्नता खुल्यो ।

विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्काले तस्करसँगको मिलोमतोमा सुन लुकाइएको भेप छुटाउन सहयोग गरेको भन्दै सीआईबीले पक्राउ गरेको थियो । अनुसन्धानमा संलग्न एक कर्मचारीका अनुसार ती नायब सुब्बाले सुन पास गराउन ६ करोड रुपैयाँ घुस लिएको खुलेको थियो । यसका लागि नायब सुब्बा खड्काले तस्करसँग लिएको पैसा आफ्नी प्रेमिकाको खातामा जम्मा गरेको खुलेको थियो ।

यसपछि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ‘ब्रेक प्याड’मा लुकाएर हङकङबाट क्वीन्टलका क्वीन्टल सुन ल्याउने गरेको तथ्य समेत खुलिसकेको छ । विमानस्थलको भन्सारबाट जाँचपास भएर अवैधरुपमा सुन ल्याउने तथ्य राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट खुलिसकेको छ । यो तस्करी प्रकरणमा समेत भन्सार कर्मचारी अछुतो रहन सकेनन् ।

हङकङबाट पटक–पटक गरी करिब २ हजार किलोग्राम सामान आयात गरेको ‘रेडी ट्रेड्स’ क्याथे प्यासिफिकबाट ल्याएको सामानमा सुन लुकाएको खुलिसकेको छ । अहिले अनुसन्धानमै रहेको यो प्रकरणमा संलग्न रहेको आशंकामा राजस्व अनुसन्धान विभागले ३ जना कर्मचारी पक्राउ गरेको छ ।

असार ३० गते हङकङबाट ल्याइएको उक्त परिणामको सुन छुटाउन सहयोगी भूमिका खेलेको आशंकामा साउन ७ गते तीन जना कर्मचारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन् । अन्य धेरै सुन तस्करी प्रक्ररणमा भन्सार कार्यालयका कर्मचारी मुछिएका छन् ।

ठूला सुन तस्करी प्रकरण भन्सार कर्मचारीसँगको मिलेमतोबिना सम्भव नहुने जानकारहरु बताउँछन् । भन्सारबाट सुन पास गराउने क्रममा जाँचपास अन्तर्गत गरिने एक्सरेमा बेवास्ता गर्ने र शंकास्पद वस्तु भेटिए पनि पास गराइदिने भूमिका कर्मचारीले मात्र निर्वाह गर्न सक्ने उनीहरुको भनाइ छ ।

यसअघि, २०७३ पुस २१ मा संयुक्त अरब इमिरेट्स (यूएई)बाट ल्याइएको ३३ किलो सुनकाण्डमा समेत विमानस्थल भन्सार कार्यलयका कर्मचारी मुछिएका थिए । उक्त सुन काण्डमा विमानस्थलका एक्सरे टेक्निसियन रेडियो अपरेटर लगायतका कर्मचारी समेत पक्राउ परेका थिए । यसबाट समेत विमानस्थल भन्सार कार्यालयका कर्मचारीसँगको संलग्नतामा तस्करले अवैध सुन आयात गर्दै आएको बुझिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयका उप–सचिव नारद गौतम सुन तस्करी प्रकरणमा कर्मचारीको संलग्नताबारे बेखबर रहेको बताउँछन् । उनले पछिल्लो दुई घटनालाई छाड्ने हो भने भन्सार कर्मचारी यस्ता अनैतिक क्रियाकलापमा संलग्न नहुने गरेको दाबी गरे । ‘भेपमा ल्याइएको सुनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘अहिलेको प्रकरणमा अनुसन्धान भइरहेको छ । यसबारे बोल्न मिलेन । समग्रमा भन्दा कर्मचारी सुन प्रकरणमा मुछिने गरेको कमै घटना छन् ।’

ठूला सुन तस्करी प्रकरण भन्सार कर्मचारीसँगको मिलेमतोबिना सम्भव नहुने जानकारहरु बताउँछन् । भन्सारबाट सुन पास गराउने क्रममा जाँचपास अन्तर्गत गरिने एक्सरेमा बेवास्ता गर्ने र शंकास्पद वस्तु भेटिए पनि पास गराइदिने भूमिका कर्मचारीले मात्र निर्वाह गर्न सक्ने उनीहरुको भनाइ छ ।

खासगरी, दिनरात विमानस्थल भन्सारमा रहेर काम गर्ने कर्मचारीसँग नजिकको सम्बन्ध स्थापित गर्ने र प्रलोभन दिएर तस्करहरुले आफ्नो प्रभावमा पार्छन् । राज्यको एउटा जिम्मेवार कर्मचारीका रुपमा देशको हितमा काम गर्नुपर्ने दायित्व बोकेका कर्मचारीमध्ये केहीले आर्थिक प्रलोभनमा परेर तस्करका लागि काम गर्ने गरेका कारण तस्करीका यस्ता घटना हुने गरेको सरोकारवाला बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप