आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
लम्पी स्किन

लुम्बिनी प्रदेशमा लम्पी स्किनबाट १ लाख १८ हजार पशु सङ्क्रमित

जिल्ला जिल्लामा खोप लगाउन सुरु
बुधबार, १० साउन २०८०, १० : ३३
बुधबार, १० साउन २०८०

बुटवल । लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट १ लाख १८ हजार पशु सङ्क्रमित भएका छन्। त्यस्तै, ५ हजार ८९ पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालय बुटवलका अनुसार ८८ हजार ९ सय ८४ सक्रिय सङ्क्रमित उपचार भैरहेको अवस्था छ । बाँकी निको भएका छन् । 

क्षति रोक्न प्रदेश सरकारले सबै जिल्लाका स्वस्थ्य पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरेको छ । अहिले प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालयले साउन ४ देखि सबै जिल्लामा खोप पठाएर लगाउन थालेको निर्देशनालयका निर्देशक डा.परबेज आलमले रातोपाटीलाई बताए । 

उनले अहिले प्रदेश सरकारले आकस्मिक कोषको बजेटले खोप खरिद गरेर जिल्ला जिल्ला पठाएको बताउँदै अबको व्यवस्थापनको लागि ५ करोड रुपैयाँ माग गरिएको जनाए ।

लुम्बिनीमा लम्पी स्किनको प्रकोपले पछिल्लो तीन महिनामा किसानले करोडौँ  रुपैयाँको नोक्सान व्योहोरेका छन् । डा.आलमका अनुसार पशुको मृत्यु उपचार खर्च, दूध उत्पादनमा कमी आएको कारणले एक करोड रुपैयाँको भन्दै धेरैको नोक्सान भएको अनुमान छ । तर, यसबारे यकिन नोक्सानको मूल्य अझै ननिकालिएको बताए । 

कुन जिल्लामा कति खोप ? 

प्रदेशमा सबै जिल्लामा साउन ४ देखि किसानको गोठ गोठमा पुगेर खोप लगाउन सुरु गरिएको प्रदेश निर्देशनालयले जनाएको छ । यसअघि पालिकाहरु आफैले व्यवस्थापन गरेर खोप लगाएका छन् ।

निर्देशक डा.आलमले अहिलेसम्म प्रदेशका १२ जिल्लामध्ये बर्दिया र पूर्व रुकुमबाहेक १० जिल्लामा २१ हजार ७ सय २१ खोप लगाइएको जानकारी दिए । 

भेटनरी अस्पताल तथा पशुविज्ञ केन्द्र गुल्मीका प्रमुख डा.भरत काफ्ले प्रदेश सरकारले पठाएका भ्यासिन पालिकामा  वितरण गरिरहेको बताउँछन् । 

उनले प्रदेशबाट आएका २५ सय भ्याक्सिन अहिले प्रत्येक पालिकामा २ सयका दरले पठाइएको बताउँदै प्राविधिकहरूले किसानको घर घरमा पुगेर खोप लगाउन सुरु गरेको जनाए । अहिलेसम्म पाल्पामा साढे ४ सय पशुमा खोप लगाइ सकिएको  प्रदेश निर्देशनालयले जनाएको छ ।  

गुल्मीमा १५ हजार भ्याक्सिनको माग रहेको छ ।  गुल्मीमा हालसम्म ८६०४ पशु संक्रमित छन् । जिल्लामा यो रोगबाट ३ सय ३२ पशुको मृत्यु भएको छ । 

उता पाल्पामा अहिलेसम्म ६४०१ पशु संक्रमित भएका छन्, त्यसमध्ये २९७ पशु मरेका छन् । 

अर्घाखाँचीमा ६२८० पशुको संक्रमित भएका छन् भने १९२ पशुको मृत्यु भएको छ । अहिलेसम्म १७८४ पशुमा खोप लगाइएको छ । 

लम्पी स्किन रोगबाट धेरै क्षति पुगेको दाङ जिल्लामा २८,६७३ पशु संक्रमित भएका छन् भने यो रोगबाट ७२४ पुशको मृत्यु भएको छ । यहाँ १२०० स्वाथ्य पशुलाई खोप लगाइएको छ । 

पूर्वी रुकुममा १२ हजार ७१ पशुमा लम्पी स्किन रोगबाट संक्रमित भएका छन् । यहाँ ९६५ पशुको मृत्यु भएको छ । तर यो जिल्लामा अहिलेसम्म खोप लगाइएको अवस्था छैन । 

रोल्पामा ३० हजार ३७९ पशु सङ्क्रमित भएका छन् भने १९२३ पशुको मृत्यु भएको छ । यहाँ हालसम्म ११५० पशुमा खोप लगाइएको अवस्था छ ।  

उता, प्रदेशको नवलपरासी र बर्दियामा भने अन्य जिल्लाको तुलनामा निकै कम पशुहरू संक्रमित भएका छन् । बर्दियामा ३७९ पशु सङ्क्रमित भएका छन् भने यहाँ जम्मा ४ वटा पशुको मृत्यु भएको छ ।   

यस्तै, नवलपरासीमा हालसम्म ३४९ पशु सङ्क्रमित भएका छन् भने जम्मा १६ वपशुको मृत्यु भएको छ । यो जिल्लामा ११५० स्वाथ्य पशुलाई खोप लगाइएको छ । 

उता, नवलपरासीको छिमेकी जिल्ला रुपन्देहीमा संक्रमित दर उच्च रहेको छ । प्रदेश निर्देशनालयको तथ्याङ्कअनुसार यहाँ हालसम्म ६७८५ पशु सङ्क्रमित भएका छन् भने १८६ को मृत्यु भएको छ । यहाँ १४६४ पशुमा खोप लगाइएको छ । 

कपिलवस्तुमा १२ हजार पशु सङ्क्रमित भएका छन् भने ३०० को मृत्यु भएको छ । यहाँ हालसम्म ५५८ मा खोप लगाइएको छ । 

बाँकेमा ४ हजार पशु सङ्क्रमित भएका छन् भने २०० को मृत्यु भएको छ। यहाँ २३३७ मा खोप लगाइएको छ । 

प्युठानमा २२३० सङ्क्रमितमध्ये ५० पशुको मृत्यु भएको छ । यहाँ १२७४ पशुमा खोप लगाएको अवस्था छ ।

पछिल्लो समय स्थानीय र प्रदेश सरकारवाट खोप पाएपछि किसानलाई धेरै राहत मिलेको गुल्मी, मुसिकोट गाउँपालिका–८ का किसान प्रेम जिसीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप