आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

उच्चपदस्थको नाम आउने बित्तिकै किन ओझेलमा पर्छ अनुसन्धान ?

गृहमन्त्री भन्छन्–प्रमाण पुगे कसैलाई छाडिँदैन
बुधबार, १० साउन २०८०, २० : ०३
बुधबार, १० साउन २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास गरी बाहिरिएको झन्डै एक क्विन्टल सुनको मालिक खोज्ने काम भइरहेको छ । राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोगमा अनुसन्धानलाई तीव्रता दिएको छ ।

प्रहरीका एसपी कृष्ण पंगेनी विभागलाई अनुसन्धानमा सहयोग गर्न खटिएका छन् । संगठित रुपमा भएका ठूला तस्करीमा राज्यको उपल्लो तहको मिलेमतो नभई सम्भव नहुने विज्ञहरु बताइरहेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो सुन तस्करी प्रकरणलाई गहिराइमै पुगेर अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने दाबी गरिरहेका छन् । तर, यतिबेला सर्वसाधारणमा उत्तिकै चासो रहेका गम्भीर प्रकृतिका अन्य अपराधको भने अनुसन्धान ओझेलमा परेको देखिन्छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ रुपैयाँ उठाएको प्रकरण, सरकारी जग्गा किर्ते गरेर व्यक्तिका नाममा ल्याइएको ललिता निवासको जग्गा प्रकरण र भेपमा लुकाएर ल्याएको १० किलो सुन प्रकरणको अनुसन्धान यतिबेला ओझेलमा परेको छ ।

भुटानी शरणार्थीको अनुसन्धान उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ परिसरले, ललिता निवास प्रकरण र भेप प्रकरण केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको हो । भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझी, सचिव टेक नारायण पाण्डे लगायत १६ जना काठमाडौँ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् । तर, पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिकलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीविरुद्ध पक्राउ पुर्जी जारी छ ।

यो प्रकरणमा खाणकी पत्नी मञ्जु, एमालेका अध्यक्ष एवं केपी ओलीका मुख्य स्वकीय सचिव राजेश ब्रजाचार्य, तत्कालीन गृह सचिव एवं वर्तमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई लगायतको संलग्नताबारे आरोपितहरुले नाम पोलेका थिए । उनीहरुले करोडौँ रुपैयाँ बुझाएको बयानमा पोलेका छन् ।

त्यतिमात्रै होइन, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु र खाणकी पत्नी मञ्जुले ८ करोड ५० लाख लिएको वार्तालाप सम्बन्धी अडियो बाहिरिएको थियो । तर, आरोपितले पोलेका व्यक्तिलाई पक्राउ गर्न त परै जाओस्, सोधपुछ समेत भएको छैन । आरजुले त उक्त अडियोबारे छानबिन गरी दोषी पत्ता लगाउन साइबर ब्यूरोमा उजुरी नै दिइन् । आरोपितले पोलेका अन्य व्यक्तिले पनि आफूमाथिको आरोपलाई सार्वजनिक रुपमा खण्डन गर्दै आएका छन् ।

ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर कुमार शाह लगायत हालसम्म २२ जना पक्राउ परेका छन् । यही प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल, बाबुराम भट्टराई, पूर्व मुख्य सचिव लीलामणि पौड्याल लगायतका उच्च पदस्थ व्यक्तिको संलग्नताबारे सार्वजनिक चर्चा भइरहेको छ । तर, प्रहरीले उनीहरुसँग सोधपुछ गर्न सकिरहेको छैन ।

गृहमन्त्री श्रेष्ठले ललिता निवास प्रकरणलाई ‘यो’ वा ‘त्यो’ नभनीकनै अनुसन्धान टुङ्गोमा पु¥याउने बताइरहेका छन् । सत्ता गठबन्धनमै अप्ठ्यारो पर्ने भएपछि नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा उच्चपदस्थलाई अनुसन्धानको दायरामा नल्याइएको आरोप उपप्रधानमन्त्री श्रेष्ठमाथि छ ।

प्रतिपक्षीले समेत यो प्रकरणको अनुसन्धानमा ‘कसैलाई काखा र कसैलाई पाखा’ नबनाउन भनिरहेको छ ।

भेपको प्याकेटमा तस्करी गरी ल्याइएको सुन प्रकरणमा पाँच जना क्रमशः भन्सारका नासु रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षा गार्ड निर्मल कुमार विक र व्यापारीहरु वेद प्रकाश अग्रवाल तथा साहेव राव पाण्डुरङ मगर जिल्ला अदालतको आदेशमा थुनामा छन् । तर, यही प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महरा र उनका छोरा राहुलबारे प्रहरी अनुसन्धान मौन देखिन्छ । अहिले माओवादी केन्द्र सरकारको नेतृत्वमा छ । महरा प्रधानमन्त्री प्रचण्ड निकट छन् । महरासँगै उनका छोरा राहुल र चिनियाँ नागरिक वाङबीच पटकपटक सम्वाद भएको पुष्टि भए पनि प्रहरीले उनीहरुलाई अनुसन्धानको दायरामा नल्याउनु सत्ताकै प्रभावका रुपमा बुझिएको जानकारहरुको भनाइ छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले प्रहरीले कसैको दबाब र प्रभावमा अनुसन्धान नरोकेको बताए । उनले भने, ‘अहिलको सुन तस्करी अनुसन्धानलाई लिएर अन्य ठूला प्रकरण ओझेलमा परेको भन्न मिल्दैन । प्रहरीलाई अनुसन्धानको गति बढाउन पटकपटक निर्देशन दिएको छु ।’

उनले कुनै पनि बहानामा अनुसन्धान नरोकिने बताए । ठूला प्रकरणमा उच्चपदस्थ व्यक्तिको नाम आउँदा सत्ता गठबन्धनमै तलमाथि पर्छ कि भनेर छानबिनको दायरामा नल्याइएको हो ? भन्ने प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने, ‘अनुसन्धान कसैले ओझेलमा पार्छु भनेर सक्दैन, पर्दैन । कसैको चाहनाकै कारण नाम जोडिएकै भरमा सम्बन्धितलाई छानबिनको दायरामा ल्याउन मिल्ने पनि होइन । प्रमाण पुगे कसैलाई छाडिँदैन । पुरानै स्प्रिट अनुसार अनुसन्धान अघि बढिरहेको छ ।’

उनले अनुसन्धान गर्दा सत्ता गठबन्धनको कुरै नआउने बताए ।

प्रहरी केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतले ललिता निवासको जग्गा प्रकरण र अन्य प्रकरणको प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको बताए । ‘अनुसन्धान भन्नेबित्तिकै टुङ्गिदैन, प्रहरीले गरिरहेको छ, बाहिर आएका उच्चपदस्थ भनौँ वा ठूला व्यक्तिका नामकै आधारमा उनीहरुलाई किन छानबिनको दायरामा ल्याइएन भन्ने प्रश्न छ,’ कडायतले भने, ‘तथ्य र प्रमाणले पुष्टि भयो भने पो पक्राउ गर्ने हो । प्रहरी हल्लाका भरमा लाग्ने कुरो आउँदैन । अनुसन्धान गर्न कसैको रोकटोक छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप