सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला विश्वकप : राष्ट्रिय गान गाउन नमानेपछि अमेरिकी खेलाडीको आलोचना

बिहीबार, ११ साउन २०८०, १२ : ५७
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । महिला विश्वकप फुटबलको इतिहासमा अमेरिकाको दबदबा रहँदै आएको छ । हालसम्म आठ पटक महिला विश्वकपको उपाधिको छिनोफानो भइसकेको छ । त्यसमध्ये अमेरिकाले मात्र चार पटक उपाधि चुमिसकेको छ । 

अमेरिका महिला विश्वकपको साविक विजेता राष्ट्र पनि हो । अहिले अस्ट्रेलिया र न्युजिल्यान्डमा महिला विश्वकपको नवौं संस्करण आयोजना हुँदैछ । पाँचौं पटक उपाधि चुम्ने योजनामा रहेको अमेरिकाले जारी विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । 

समूह ‘ई’ तालिकामा अमेरिका चार अंकसहित अग्रस्थानमा छ । जारी विश्वकपमा अमेरिकाले हालसम्म दुई खेल खेलेको छ । आफ्नो पहिलो खेलमा भियतनामलाई ३—० गोलले हराएको अमेरिका बिहीबार खलिएको दोस्रो खेलमा भने नेदरल्यान्ड्ससँग १—१ गोलको बराबरीमा रोकिएको छ ।

तर, यो विश्वकपमा अमेरिका आफ्ना खेलाडीको खेलभन्दा पनि अन्य कारणले नै बढी चर्चामा छ । ठूला प्रतियोगिताहरुमा खेल सुरु हुनुभन्दा अगाडि सम्बन्धित राष्ट्रको राष्ट्रिय गान बजाइने प्रचलन हुन्छ । राष्ट्रिय गान बज्दा मैदानमा रहेका सम्बन्धित राष्ट्रका खेलाडीहरुले पनि सँगसँगै गाउने गर्छन् ।

महिला विश्वकपमा पनि यो परम्परा छ । तर, आफ्नो राष्ट्रको राष्ट्रिय गान बज्दा अमेरिकी खेलाडीहरुले राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि त्यसले ब्यापक चर्चा पाएको छ । आफ्नै देशभित्र पनि अमेरिकी खेलाडीहरुको आलोचना हुन थालेको छ । 

जारी विश्वकपमा अमेरिकाले आफ्नो पहिलो खेल भियतनामसँग खेलेको थियो । उक्त खेलअघि आफ्नो देशको राष्ट्रिय गान बज्दा भियतनामका खेलाडीले सम्मान प्रकट गर्दै छातिमा हात राखेर राष्ट्रिय गान गाएका थिए । तर, अधिकांश अमेरिकी खेलाडीले भने न आफ्नो देशको राष्ट्रिय गान गाए न त राष्ट्रिय गान बज्दा छातिमा हात राखेर सम्मान नै प्रकट गरे । 
भियतनामविरुद्दको खेलअघि केवल तीनजना अमेरिकी खेलाडीले छातिमा हात राखेर राष्ट्रिय गान गाएका थिए । त्यतिबेला अमेरिकी खेलाडी जुली एर्टज, एलिसा नाहेर र लिन्ड्से होरानले मात्र राष्ट्रिय गान गाएका थिए । अन्य खेलाडी मौन रहेका थिए । 

यसैगरी बिहीबार अमेरिकाले नेदरल्यान्ड्ससँग दोस्रो खेल खेल्यो । उक्त खेलअघि पनि अधिकांश अमेरिकी खेलाडीले राष्ट्रिय गान गाएनन् । उनीहरुले राष्ट्रिय गान बज्दा सम्मान प्रकट गर्दै छातिमा हातसम्म राख्न मानेनन् ।  यो घटनापछि आफ्नै देशभित्र अमेरिकी खेलाडीको ब्यापक आलोचना सुरु भएको छ । राष्ट्रिय गान नगाउनेमध्येकी एक अमेरिकी खेलाडी नाओमी गिरमाले खेलअघि राष्ट्रिय गान गाउनु वा नगाउनु खेलाडीको आफ्नो स्वविवेकमा भर पर्ने कुरा भएको बताइन् । ‘म केवल यति भन्छु, राष्ट्रिय गान गाउनु वा नगाउनु खेलाडीको स्वविवेकको कुरा हो,’ उनले भनिन् ।

आफ्नो देशभित्र सामाजिक भेद्भाव, रंगभेदी ब्यवहार र अश्वेत जातीमाथि हुने दूर्व्यवहारजस्ता कुराको विरोध गर्दै अमेरिकी खेलाडीहरुले खेल मैदानमा राष्ट्रिय गान नगाएको बताइएको छ । अमेरिकी टोलीकी सबैभन्दा अनुभवी खेलाडीमध्येकी एक मेगन रापिनोएले पनि यो अभियानमा समर्थन जनाउँदै आएकी छन् ।  साउथ क्यारोलिनाकी पूर्वगभर्नर निक्की हेलीले पनि विश्वकपमा महिला खेलाडीहरुको ब्यवहारलाई लिएर चर्को आलोचना गरेकी छन् । उनले महिला राष्ट्रिय टोलीका खेलाडीहरुमा राष्ट्रभक्तिको भावना नरहेको आरोप पनि लगाएकी छन् । 

‘उनीहरु (अमेरिकी महिला फुटबल खेलाडी) अमेरिकामा जन्मिए, अमेरिकामै हुर्किए र उनीहरुले अमेरिकाबाटै धेरै कुरा पनि पाए । तर, उनीहरुमा राष्ट्रभक्तिको भावना भने रत्तिभर देखिएन,’ निक्की हेलीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेकी छन् ।  तर, अमेरिकाकी चर्चित टेनिस स्टार मार्टिना नाभ्रातिलोभा भने महिला फुटबल खेलाडीहरुको समर्थनमा ओर्लिएकी छन् । उनले महिला फुटबल खेलाडीको वचाउ गर्दै सबैको ध्यान खेलमा केन्द्रित हुनुपर्ने सुझाव दिएकी छन् । 

‘उनीहरु राष्ट्रिय गान गाएर विश्वकपको मैदानसम्म पुगेका होइनन् । बरु उनीहरु कडा परिश्रम गरेर राष्ट्रिय टोलीमा स्थान बनाउँदै अमेरिकालाई विजयी बनाउन त्यहाँ (विश्वकपमा) पुगेका हुन् । त्यसैले यतिबेला सबैको ध्यान खेलमै केन्द्रित हुनुपर्छ,’ नाभ्रातिलोभाले ट्वीट गरेकी छन्, ‘आखिर यसअघि चार पटक उनीहरुले देशकै लागि विश्वकप जितेका होइनन् र ? अहिले पनि हाम्रा खेलाडी देशकै प्रतिष्ठा बढाउन खेल मैदानमा पसिना बगाइरहेका होइनन् र ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप