आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लम्पी स्किन सङ्क्रमित पशुको दूध पिउन मिल्छ ? चिकित्सकको यस्तो छ सुझाव

बिहीबार, ११ साउन २०८०, १५ : १७
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । पशु सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन सङ्क्रमण देखिएको छ । जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु निको भइसकेका छन् । 

तर आम मानिसमा लम्पी स्किन रोग सङ्क्रमित पशुको दूध पिउँदा कुनै रोग सर्छ की सर्दैन भन्ने प्रश्न छ । पछिल्लो समय देशभर पशुहरु लम्पी स्किनबाट सङ्क्रमित भएसँगै आम मानिसमा लम्पी स्किन रोग सङ्क्रमित पशुले दिने दूध पिउँदा रोग सर्नसक्ने त्रास पाइन्छ । तर लम्पी स्किन रोग सङ्क्रमित पशुको दूध पिउँदा कुनै रोग नसर्ने पशु चिकित्सकहरू बताउँछन् । 

पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले लम्पी स्किन रोग लागेको पशुको दूध उमालेर खान सकिने बताए । उनले लम्पी स्किन रोग जुनोटीक रोग नभएको भन्दै यो रोग पशुबाट मानिसमा सर्ने रोग नभएको जानकारी दिए । 

उनले आज सम्मको अध्ययनले यो रोग मान्छेमा नसरेको बताए । लम्पी स्किन रोग विशेष गरी गाई, भैँसी र चाँैरीमा देखिने गरेको छ । डा.ढकालले भेडा,बाख्रामा लम्पी स्किन रोग अहिलेसम्म नलागेको बताए ।  यदी रोग लागेका पशुलाई एन्टीबायोटिक खुवाइएको छ भने औषधिको प्रयोग हुन्जेलसम्म त्यस्ता पशुले दिएको दूध नखानु नै राम्रो हुने चिकित्सकको सुझाव छ । 

‘लम्पी स्किन रोग जुनोटीक रोग होइन । यो पशुबाट मान्छेमा सर्ने रोग होइन । कतै पशुबाट मान्छेमा पनि सर्ने रोग हो की भन्ने प्रश्न पनि उठिरहेको छ’, उनले भने, ‘मान्छेलाई रोग लाग्छ की लाग्दैन भन्ने जिज्ञासा आउन सक्छ । आजसम्मको कुनैपनि अध्ययनले यो रोग मान्छेमा सरेको छैन नै भन्छ । यो पशुकै रोग हो । र, अन्य प्रजातीका पशुहरुमा पनि लागेको देखिएको छैन । भेडा,बाख्रामा पनि लम्पी स्किन रोग लागेको तथ्याङ्क छैन । यो रोग लागेको पशुको दूध उमालेर खान सकिन्छ ।’

उनले अगाडि भने, ‘तर, उमाल्ने सन्दर्भमा कुनै स्वस्थ पशुको दुधपनि उमालेर खानुपर्छ । बिरामी पशुको उपचारमा एन्टीबायोटिकको प्रयोग भएको हुनसक्छ । यदी एन्टीबायोटिक प्रयोग गरिराखिएको छ भने त्यो एन्टीबायोटिक कुन एन्टीबायोटिक प्रयोगमा आएको हो, त्यसको निश्चित समयपछि खानु उपयुक्त हुन्छ । ढुक्कसँग दूध उमालेर खान सकिन्छ । यो सङ्क्रमण देखिएको बेला पशुको उपचारमा प्रयोग भएका औषधिमा भने ख्याल गर्नुपर्ने हुन्छ ।’

डा.ढकालले लम्पी स्किन एक किसिको भाइरसले लाग्ने संक्रामक रोग भएको बताए । उनले लम्पी स्किन छिटो फैलने र यसले पशुका सबै अंग प्रणालीमा सङ्क्रमण गर्ने बताए । यसका लक्षणहरुमा छालामा घाउ नै घाउहरु देखिने, १ देखि ५ सेन्टीमिटरसम्मका गोला गिर्खाहरु बाहिर देखिने, उच्च ज्वरो आउने, खुट्टा जोर्नी सुनिने, नाक मुखभित्र, कल्चौंडा, थुनमा घाउ हुने हुन्छ । 

अहिले लम्पी स्किन भाइरसबिरुद्धको खोप स्थानीय पालीकामा उपलब्ध रहेको डा. ढकालले बताए । उनले सङ्क्रमित क्षेत्रबाट पशु किनेर पनि ल्याउन नहुने बताउँदै एउटा पशुले गर्दा हजारौं पशुहरु सङ्क्रमित हुनसक्ने बताए । 

महामारी रोकथाममा किसान, उपभोक्ता, नागरिक समाजका प्रतिनिधि, शिक्षक, विद्यार्थीको भुमिका उल्लेखनीय रहने उनले बताए । 

सङ्क्रमण भइहाले तत्कालै नजिकैको पशु कार्यालय, स्थानीय निकाय, पशु प्राविधिकहरुसँग सम्पर्क गर्न सकिने र यो रोग लागेपछि पशुको मृत्युको कारण ज्वरो रहेको विज्ञहरुको सुझाव छ । लम्पी स्किनबिरुद्ध अहिलेसम्म तीन लाख भन्दा बढी पशुमा खोप लगाइसकिएको पशु सेवा विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप