आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खडेरीले सिराहामा ५० प्रतिशत खेतमा मात्र धान रोपाइँ

कमला नहरमा पर्याप्त पानी नहुँदा किसान चिन्तित
शनिबार, १३ साउन २०८०, १२ : ५४
शनिबार, १३ साउन २०८०

सिराहा। लामो समयदेखि सिराहामा आकाशे पानी नपर्दा किसानहरू चिन्तित बनेका छन्। पछिल्लो केही समयदेखि विशेष गरी धान रोप्ने मुख्य समयमा आकाशे पानी नपरेको कारण किसानहरू चिन्तित बनेका हुन्। 

लामो समयको खडेरीले धेरै किसानहरूले धान रोप्न पाएका छैनन्। रोपेका धान पनि सुक्न थालेका छन् भने रोप्न बाँकी रहेका किसानको बिउ ब्याडमै सुक्न थालेको छ। धान मात्र हैन, पानी अभावका कारण फल्न लागेका मकै, मडुवा (कोदो) लगायतका बाली पनि सुक्न थालेको किसानहरू बताउँछन्।

आकाशे पानी नपर्दा जिल्लामा करिब ५० प्रतिशत खेतमा मात्र धान रोपाई भएको छ । धान रोप्ने समय बितिसक्दा पनि सिराहाको नरहा गाउँ पालिका ५ का किसान राजदेव यादवको दुई बिगाहा खेत बाँझै छ। करिब १२ कट्ठा जमिनमा स्यालो ट्युवेलको सहयोगमा जसोतसो रोपाइँ गरेपनि रोपाइँ हुने गरी पानी नपर्दा यादवको बाँकी खेत बाँझै रहेका छन् । 

 पानी अभावका कारण विष्णुपुर गाउँ पालिका ५ का त्रिभुवन महतोले पनि धान रोप्न राखेको एक विगहा जमिन अझै बाँझै छ। साउनको मध्ये सम्ममा पनि सुख्खा जारी रहेकाले उनको खेतमा धान रोपाइँ हुन नसकेको महतोले बताए। 

महताको जमिनमा कमलाको नहर लाग्ने भए पनि लामो समय देखिको खरेडीले नहरमा पानी नआउँदा रोपाई हुन सकेको छैन। 

सिराहा नगरपालिका १० पदमपुरका नुनु पासवानले गाउँकै गिरहतको करिब एक विगहा जमिन अधिया गरेका छन्। उनले स्यालो ट्युवेलबाट पानी पटाएर जसोतसो रोपाइँ गरे पनि खडेरीले रोप सुक्न थालेको छ।

धान रोप्ने समय सकिनै लागेपनि सिराहामा ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ। लामो समयदेखि धान रोपाइँका लागि अवश्यक पानी नपरेका कारण धान रोप्ने समय घर्किसक्दा पनि आधा जमिन बाँझै रहेको हो।  

आकाशे पानीको भरमा खेतिहुँदै आएको सिराहामा विशेष गरी धानरोप्ने मुख्य समयमा पानी नपरेको कारण  रोपाइँमा कमी आएको कृषि ज्ञान केन्द्र सिराहाका प्रमुख नरेन्द्र कुमार महासेठले बताए। उनले भने, ‘विशेष गरी सिराहामा आकाशे पानीकै भरमा धानखेति हुँदै आएको छ। यो वर्ष लामो समयदेखि धान रोप्न मिल्ने गरी एकपटक मात्र पानी परेकाले रोपाइँमा कमी आएको हो।’ गत वर्ष यही समयमा जिल्लाको कुल ५९ हजार धान खेतीयोग्य जमिन मध्ये ९५ प्रतिशतमा रोपाई सम्पन्न भइसकेको ज्ञान केन्द्रका प्रमुख महासेठले जानकारी दिए। 

पानी साना कुलो तथा भूमिगत जलस्रोतको पहुँच भएका पालिकाहरूमा सन्तोषजनक रोपाई भएको भए पनि राजमार्ग आसपासका गाउँ पालिकामा कम रोपाई भएको ज्ञान केन्द्रका प्रमुख बत्ताउँछन्। उनका अनुसार सिराहामा सबैभन्दा कम कल्याणपुर नगरपालिकामा १० प्रतिशत मात्र रोपाई भएको छ भने सबैभन्दा बढी बडियारपट्टी गाउँ पालिकामा ९० प्रतिशत रोपाई भएको ज्ञान केन्द्रले जनाएको छ।

उता लहान नगरपालिकामा ५० प्रतिशत, धनगढी माईमा ४५ प्रतिशत, गोलबजारमा ३५ प्रतिशत, मिर्चैयामा ३८ प्रतिशत, कर्जन्हामा ६० प्रतिशत रोपाई हुदाँ सुखिपुर नगरपालिकामा ३० प्रतिशत भगवानपुर गाउँ पालिकामा ८५ प्रतिशत, नरहामा गगाउँ पालिकामा ३० प्रतिशत, विष्णुपुर गाउँ पालिकामा ५५ प्रतिशत, सखुवा नन्कारकट्टी गाउँ पालिकामा ७० प्रतिशत, औरही गाउँ पालिकामा २५ प्रतिशत र नवराजपुर गाउँ पालिकामा ८० प्रतिशत धान रोपाई भएको ज्ञान केन्द्रले जनाएको छ।

स्थानीय जातको धानहरू कम फल्ने भएकाले उन्नत जातका धानहरू किसानको रोजाइमा पर्ने ज्ञान केन्द्रको भनाई रहेको छ। जिल्लामा विशेष गरी बासमती रातो, कालो, सोना मन्सुली, हर्दिनाथ, राम धान, सुख्खा २ र ३, कतर्नी लगायत जातको धान खेती हुने गरेको छ।

कमला नदीको पूर्वी नहरले सानो क्षेत्रमा सिँचाइको सुविधा पुर्‍याएको भए पनि वर्षाका नभएका कारण नहरमा पनि थोरै पानी आएकाले किसानले धान रोप्न पाएका छैनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप