आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
डेंगुको प्रकोप

धरानमा डेंगु : परीक्षण गरिएकामध्ये ५९ प्रतिशतमा सङ्क्रमण

८ जनाको मृत्यु, २ हजार ३ सय जना सङ्क्रमित
आइतबार, १४ साउन २०८०, १३ : २३
आइतबार, १४ साउन २०८०

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । धरानमा हालसम्म डेंगुको सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार हालसम्म धरानमा मात्रै २ हजार ३५३ जना सङ्क्रमित भएका छन् । तीमध्ये कतिपयको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने सामान्य बिरामीको घरमै उपचार भइरहेको छ ।

धरानमा वैशाख अन्तिमदेखि डेंगुको प्रकोप बढ्न थालेको हो । अहिलेसम्म ३ हजार ९८१ जनाको परीक्षण गरिएको छ । त्यसमध्ये ५९ प्रतिशतमा डेंगु देखिएको मेहताले जानकारी दिए ।  

धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणको लागि भन्दै ‘सर्च एण्ड डिस्ट्रोय’लाई नै प्राथमिकता दिएको छ । यद्यपि उक्त अभियान प्रभावकारी नदेखिएको कतिपयको भनाइ छ ।

‘सर्च एण्ड डिस्ट्रोय’ अभियानमा धरानमा २४० वटै टोल विकास संस्थालाई परिचालन गरिएको मेहताले जनाए । ‘हामीले २४० वटा टोल विकास संस्थालाई डेंगु नियन्त्रण अभियानमा परिचालन गरेका छौँ । विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गरेर शिक्षक, विद्यार्थी पनि परिचालन गर्ने, स्वास्थ्यकर्मी, जनप्रतिनिधि परिचालन गरेर सर्च एण्ड डिस्ट्रोय अभियान लिएर घरघरमा जाँदैछौँ,’ मेहताले भने ।

उनले हाल देखिएको डेंगुले महामारीको रूप लिन सक्ने बताए । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ । डेंगु तीव्र गतिमा फैलिन थालेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय ५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड स्थापना गरिएको छ ।

धरानमा ०७७ र ०७८ मा फाट्टफुट्ट मात्रै डेंगु देखिएको थियो । त्यतिबेला १०२ जना सङ्क्रमित भएका थिए । २०७५ सालको अन्तिम र २०७६ को सुरुवातमा पनि डेंगुको सङ्क्रमण फैलिएको थियो । त्यसबेला ४ हजार ३ सय मानिस सङ्क्रमित भएका थिए । त्यतिखेर पनि ‘सर्च एण्ड डिस्ट्रोय’ र ‘फगिङ’ गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप