आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आयोजक राष्ट्र महिला विश्वकपको पहिलो चरणबाटै बाहिरियो

आइतबार, १४ साउन २०८०, १५ : २१
आइतबार, १४ साउन २०८०

काठमाडौँ । आयोजक न्युजिल्यान्ड ‘नवौं महिला विश्वकप फुटबल प्रतियोगिता’ को समूहगत चरणबाटै बाहिरिएको छ । न्युजिल्यान्ड विश्वकपको समूहगत चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र पनि बनेको छ । 

समूह ‘ए’ अन्तर्गतको आइतबार भएको खेलमा स्विट्जरल्यान्डले न्युजिल्यान्डलाई गोलरहित बराबरीमा रोक्यो । 

उक्त नतिजापछि न्युजिल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भएको हो । सोही समूहको आइतबार नै भएको अर्को खेलमा नर्वेले फिलिपिन्सलाई ६—० गोलले हरायो । उक्त नतिजासँगै समूह ‘ए’ को सबै खेल पनि सकिएको छ । 

समूह ‘ए’ बाट पाँच अंकसहित स्विट्जरल्यान्ड र चार अंकसहित नर्वे नकआउट चरणमा पुगेका छन् । चार अंक जोडेको न्युजिल्यान्ड र तीन अंक बटुलेको फिलिपिन्स भने समूहगत चरणबाटै बाहिरिएका छन् । 

नर्वे र न्युजिल्यान्डको समान चार—चार अंक भए पनि गोलअन्तरमा नर्वेले न्युजिल्यान्डलाई पछाडि पारेको हो । समूहगत चरणको खेलमा नर्वेले फिलिपिन्सलाई ठूलोअन्तरले हराउनु पनि न्युजिल्यान्डका लागि घातक बन्यो ।   

फिलिपिन्सविरुद्घको खेलमा नर्वेका लागि सोफी रोमनले ह्याट्रिक गरिन् । उनले निर्धारित समयको छैटौं, १७औं र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् । क्यारोलिन ग्राहम हन्सेनले ३१औं र गुरो रिटेनले ५३औं मिनेटमा एक—एक गोल थपे । 

रिटेनले पेनाल्टीमार्फत गोल गरेकी हुन् । अर्को एक गोल भने ४८औं मिनेटमा फिलिपिन्सकी खेलाडी एलिसिया बार्करबाट आत्मघाति रुपमा भएको थियो । खेलको ६७औं मिनेटमा फिलिपिन्स १० खेलाडीमा समेटिएको थियो । फिलिपिन्सकी सोफिया निकोल ह्यारिसनले रातो कार्ड पाएकी थिइन् ।

महिला विश्वकप न्युजिल्यान्ड र अस्ट्रेलियामा संयुक्त रुपमा आयोजना भइरहेको छ । समूह ‘बी’ मा रहेको अर्को आयोजक अस्ट्रेलियाको पनि ढुक्क हुने अवस्था देखिँदैन । उक्त समूहमा सबै टोलीले एक—एक खेल खेल्न बाँकी रहँदा चार अंकसहित नाइजेरिया पहिलो र समान अंक जोडेको क्यानडा दोस्रो स्थानमा छन् । 

यसैगरी तीन अंकसहित अस्ट्रेलिया तेस्रो र खाता खोल्न नसकेको आयरल्यान्ड चौथो स्थानमा छन् । समूहगत चरणको अन्तिम खेलमा सोमबार अस्ट्रेलियाले क्यानडाको र नाइजेरियाले आयरल्यान्डको सामना गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप