सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्यान्सर जितेर फर्किएकी १८ वर्षीया लिन्डाले जिताइन् कोलम्बियालाई

आइतबार, १४ साउन २०८०, १७ : ४४
आइतबार, १४ साउन २०८०

काठमाडौँ । महिला विश्वकप फुटबलको आइतबार खेलिएको रोमाञ्चक खेलमा कोलम्बियाले बलियो जर्मनीलाई २—१ गोलले हराएको छ । जितसँगै कोलम्पिबयाले समूह ‘एच’ बाट नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । 

जितसँगै कोलम्बिया दुई खेलबाट ६ अंक जोडेर तालिकाको पहिलो स्थानमा छ । कोलम्बियाले आफ्नो पहिलो खेलमा दक्षिण कोरियालाई २—० गोलले हराएको थियो । जर्मनी भने दुई खेलबाट तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा आसिन छ । 

जर्मनीले आफ्नो पहिलो खेलमा मोरक्कोलाई ६—० गोलको फराकिलो अन्तरले हराएको थियो । मोरक्को दुई खेलबाट तीन अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ । मोरक्कोले आइतबार नै खेलिएको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई १—० गोलले हराएको थियो । 

दुबै खेलमा पराजय भोगेको एसियाली राष्ट्र दक्षिण कोरिया तालिकाको चौथो स्थानमा छ । समूहगत चरणको अन्तिम खेलमा अगस्त ३ तारिखमा दक्षिण कोरियाले जर्मनी र मोरक्कोले कोलम्बियाको सामना गर्नेछन् । 

जर्मनीविरुद्घको खेलको ५२औं मिनेटमा लिन्डा सिसेडोले कोलम्बियाका लागि पहिलो गोल गरेकी हुन् । १८ वर्षीया फरवार्ड सिसेडो केही समय क्यान्सर रोगको उपचार गराएर फुटबल मैदानमा फर्किएकी हुन् । 

केवल १४ वर्षको उमेरमा टोलीमा ‘डेब्यू’ गरेकी सिसेडो १५ वर्षको उमेरमा क्यान्सरबाट पीडित बनेकी थिइन् । त्यसपछि उनले लामो समय उपचारमा बिताएकी थिइन् । उनी स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्छिन् ।

सिसेडोको गोलपछि ८९औं मिनेटमा अलेक्जेन्ड्रा पोपले पेनाल्टीमार्फत जर्मनीका लागि जवाफी गोल गरेकी थिइन् । त्यसपछि इन्जुरी समयको सातौं मिनेटमा म्यानुएला भानेगासले गोल गर्दै कोलम्बियालाई महत्वपूणर् जित दिलाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप