आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
व्यापार

नेपाल–अमेरिका व्यापार : जुत्ता र गार्मेन्टमा विशेष सुविधा लिने योजनामा नेपाल

सोमबार, १५ साउन २०८०, ०६ : ४७
सोमबार, १५ साउन २०८०

काठमाडौँ । नेपालले अमेरिकासँगको व्यापारमा थप सहुलियत लिने योजनासहित प्रस्ताव बनाउने तयारी गरेको छ । विगत लामो समयदेखि रोकिएको ‘नेपाल–अमेरिका व्यापार तथा लगानी वार्ता’ (टिफा) सम्पन्न भएपछि नेपाली पक्षले थप सहुलियत लिने पहल सुरु गरेको हो । यो बैठक वाणिज्य सचिवस्तरमा नेपाल र अमेरिकामा आलोपालो हुन्छ ।

हाल अमेरिकाले नेपाललाई ७७ वटा वस्तुको आयातमा शून्य भन्सारको व्यवस्था गरेको छ । २०७२ सालमा नेपालमा आएको भूकम्पबाट तहसनहस बनेको अर्थतन्त्र सुधार गर्ने लक्ष्यसहित अमेरिकाले ७७ वटा वस्तुमा भन्सार छुट दिइरहेको छ । यो सुविधा नेपालले सन् २०२५ सम्म पाउने व्यवस्था छ ।

अमेरिकाले नेपालको आयातमा गरेको विशेष व्यवस्थाको समय घर्किन थालेसँगै थप सुविधा लिने तरखरसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयारी गरेको छ । कोरोना महामारी लगायतका कारण विगत लामो समयसम्म हुन नसकेको उक्त व्यापार तथा लगानी वार्ता यही वर्षको जेठमा सम्पन्न भइसकेको छ ।

अमेरिकाका २० र नेपालका २० गरी कुल ४० सदस्य सम्मिलित उक्त वार्तापछि आवश्यक पहल सुरु गरिएको हो । वार्तामा नेपाललाई थप सेवा–सुविधा दिन अमेरिकी पक्ष सकारात्मक देखिएको थियो । सोही कारण, मन्त्रालयले निर्यातमा थप सुविधा लिने योजना अघि बढाएको हो ।

मन्त्रालयकी उप–सचिव तथा बहुपक्षीय व्यापार शाखाकी निर्देशक सृजना तिवारीले अमेरिकासँग व्यापार सहुलियत लिन ‘कन्सेप्ट पेपर’ तयार भइरहेको बताइन् । उनले टिफा वार्तापछि नेपाल र अमेरिकाबीचको वैदेशिक व्यापारमा थप सहजीकरण तथा सहुलियत लिने लक्ष्यसहित काम भइरहेको बताइन् ।

‘हाल कन्सेप्ट पेपर तयार भइरहेको छ । यसअघि भूकम्पपछि दिएको सुविधा सकिने समय भएको छ,’ तिवारीले भनिन्, ‘यसका लागि मन्त्रालयले गृहकार्य गरिरहेको छ । कम्तीमा २ महिना लाग्न सक्छ ।’

कन्सेप्ट पेपर तयार पार्नका लागि मन्त्रालयले यतिबेला उद्योग/व्यवसायीहरूसँग समेत छलफल गरिरहेको उनले बताइन् ।

यसका लागि अमेरिकाको सांसदहरू मिलेर एउटा ‘ककस’ समूह गठन भइसकेको छ । यो समूहले अमेरिकाको सांसदमा नेपाल र नेपाललाई व्यापार सहुलियत दिनेबारे छलफल गर्नेछ । यो समूह सन् २०१३ मा समेत गठन भएको थियो । जसले सन् २०१५ मा नेपालमा आएको भूकम्पपछि ७७ वटा वस्तुमा भन्सार छुट दिन सिफारिस गरेको थियो ।

नेपाललाई वैदेशिक व्यापारमा थप सहुलियत दिलाउन अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले समेत पहल गरिरहेको बताइएको छ । यस्तै, हाल पाइरहेको ७७ वटा वस्तुको सूचीमा थप नयाँ वस्तु समेत समेटिने बताइएको छ ।

नेपाली पक्षले अमेरिकालाई भन्सार छुट पाउने वस्तुहरूको सूचीमा जुत्ता समेत राख्न अनुरोध गरेको छ । तर, अमेरिका भने यसमा सहमत भइसकेको छैन । खासगरी, ‘मेड इन नेपाल’ लेखिएका जुत्ता समेत चीनमा उत्पादन हुने र अमेरिका आयात हुने उनीहरूको आशङ्का छ । यस्तै, गार्मेन्टमा समेत अमेरिकाले यस्तै खालको संशय प्रकट गरेको छ ।

उठाउन सकेन नेपालले फाइदा

भन्सार विभागको तथ्याङ्कले समेत नेपालले अमेरिकाबाट उपलब्ध सुविधा अनुसार पर्याप्त लाभ लिन नसकेको देखाउँछ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट अमेरिकातर्फ १९ अर्ब ५७ करोड १४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यस्तै, सोही अवधिमा अमेरिकाबाट १९ अर्ब ४२ करोड ४८ लाख रुपैयाँको आयात भएको छ ।

तथ्याङ्कअनुसार अमेरिकासँगको व्यापार १४ करोड ६५ लाख रुपैयाँले नेपालको पक्षमा छ । जबकि, अमेरिकाले नेपालमा उत्पादन हुने ७७ वटा वस्तुलाई भन्सार छुटको व्यवस्था दिइरहेको छ । यसअनुसार, यी वस्तु अन्य देशको तुलनामा नेपालबाट आयात गर्दा सस्तो पर्छ । तर पनि नेपालमा उत्पादन नहुँदा फाइदा लिन नसकेको हो ।

अमेरिकन चेम्बर अफ कमर्स, नेपालका अध्यक्ष किरण साःख सरकारको बेवास्ताका कारण अमेरिकातर्फ पर्याप्त निर्यात हुन नसकेको बताउँछन् । रातोपाटीसँगको कुराकानीमा उनी थप्छन्, ‘सरकारले ध्यान दिएमा नेपालले अमेरिकामा प्रशस्त निकासी गर्न सक्छ । तर, सरकारको यसतर्फ ध्यान नै छैन ।’

नेपालमा निर्मित पस्मिना, कार्पेट, गलैँचा र गरगहनाको ठूलो बजार अमेरिकामा देखिन्छ । सन् २००२ मा अमेरिकाको ट्वीन टावरमा हवाई हमला हुनुअघि वार्षिक २०० मिलियन डलरसम्मको कार्पेट अमेरिकातर्फ निकासी हुन्थ्यो । तर, त्यसपछि निरन्तर नेपालको निकासी खस्कँदै गएर सन् २००५ पछि करिब शून्यमै झरेको छ ।

यस्तै, २०७२ सालमा भूकम्प गएपछि नेपालको अर्थतन्त्र पुनः उत्थान गर्ने लक्ष्यसहित अमेरिकाले ७७ वटा वस्तुमा भन्सार छुट दिएकोमा ११ वटा वस्तुको निर्यात शून्यप्रायः छ । यसबाहेक अमेरिकातर्फ निर्यात हुने वस्तु समेत न्यून मात्रामा जान्छन् । नेपालमा उत्पादन नै नहुने वस्तु समेत भन्सार छुटको सूचीमा छन् । यो सूचीमा जुत्ता र गार्मेन्ट थप्न पाए नेपालले पर्याप्त लाभ लिने सरकारी आँकलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप