आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

एउटा मोबाइल देख्ने भन्सारले किन देख्दैन १०० किलो सुन ?

यस्तो छ भन्सार जाँचपास र चेकजाँचको प्रक्रिया
सोमबार, १५ साउन २०८०, ११ : ३७
सोमबार, १५ साउन २०८०

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय यतिबेला सुन तस्करी प्रकरणले बद्नाम छ । एकैपटक करिब एक सय किलो सुन भन्सार कार्यालयबाट बाहिरिएपछि राजस्व अनुसन्धान विभागको टोलीले सुनसहित तस्करको समूहलाई पक्राउ गरेको थियो । सोही प्रकरणमा आइतबारसम्म १८ जनालाई विभागको टोलीले पक्राउ गरिसकेको छ ।

भन्सारमा रहेको अत्याधुनिक मेसिनले एक सय किलो सुन नदेखेको भन्दै यतिबेला चर्को आलोचना भइरहेको छ । खाडी मुलुकमा काम गरेर फर्किएका मजदुरले ल्याएको दुई थान मोबाइल, एक थान टिभी देख्ने भन्सारले एक क्वीन्टल सुनचाहिँ किन देखेन त ? के मजदुरको मोबाइल देख्ने भन्सारले सुन नदेखेकै हो कि सेटिङमा पास गराइएको हो ? यतिबेला सामाजिक सञ्जालमा आक्रोश छ, ‘भन्सारको मेसिनले दुई थान मोबाइल देख्छ, तर किलोका किलो सुन देख्दैन ।’

तथ्यले पनि त्यस्तै देखाइरहेको छ । विदेशमा काम गरेर फर्किएकाहरुले आफ्ना परिवारका सदस्यका लागि ल्याएको मोबाइल देखेपछि राजस्व नतिरेसम्म भन्सारका कर्मचारीले ल्याउन दिँदैनन् । तर भन्सार कार्यालयबाटै सय किलो सुन तस्करी हुँदा किन देखेन त ?

जतिबेला त्रिभुवन विमानस्थल, भन्सार कार्यालयबाट एक सय किलो सुन तस्करी भएर बाहिर आयो, त्यतिबेला भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल बिदामा थिए । विमानस्थल भन्सार कार्यालयको जिम्मेवारी नारद गौतमको काँधमा थियो । सोही समयमा भन्सार कार्यालयबाट पास भइसकेको अवस्थामा एक सय किलो सुन राजस्व अनुसन्धान विभागका कर्मचारीले नियन्त्रणमा लिएका थिए । दुई थान मोबाइल देख्ने भन्सारका कर्मचारीले यति धेरै सुन किन देखेनन् त ? हामीले यही प्रश्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयका उपसचिव नारद गौतमलाई सोधेका थियौँ ।

उनले मोबाइल र सुनको प्रकृति केही फरक हुने र सुन तस्करी हुँदा एक्स–रेमा फरक संकेत दिने बताए । यद्यपि त्यस्तो वस्तु सुन नै हो कि होइन भनेर यकिनका साथ भन्न नसकिने र त्यसको थप चेकजाँच गरिसकेपछि मात्रै उक्त वस्तुबारे जानकारी हुने गौतमले बताए ।

Narad Gautam

उपसचिव गौतमका अनुसार विमानस्थलमा भन्सारसम्बन्धी काम गर्न चार वटा युनिट हुन्छ । एउटा युनिट अन्तर्राष्ट्रिय टर्मिनलको यात्रु आगमन कक्षमा हुन्छ । अर्को नेपालबाट बाहिर सामान पठाउनका लागि प्रयोग हुने निर्यात शाखा हुन्छ भने तेस्रो हुलाकमार्फत् पैठारी भइ आउने सामानको लागि डिल्लीबजारमा वैदेशिक हुलाक शाखा छ । वैदेशिक हुलाक मार्फत् आउने सामानहरुको भन्सार जाँचपासका लागि पनि त्यहाँ भन्सारको कार्यालय रहेको हुन्छ । अनि चौथो भनेको एलसी खोलेर आउने सामान वा पैठारीकर्ताले अन्यत्रबाट ल्याएको सामानको निरीक्षण र भन्सार जाँचपास गर्ने हुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ६ हजारको हाराहारीमा यात्रुको आगमन हुन्छ । जसमध्ये करिब ५ हजार जना नेपाली नागरिक र करिब एक हजार जना विदेशी नागरिक हुन्छन् । उनीहरुका लागि सेवा दिन विमानस्थलको भन्सार कार्यालयमा खटिने कर्मचारीको सङ्ख्या र सेवा दिनुपर्ने व्यक्तिको सङ्ख्या हेर्दा पनि सेवा दिन गाह्रो भएको गौतमले बताए ।

मोबाइल किन देखिन्छ तर सुन किन देखिएन ?

उपसचिव नारद गौतमका अनुसार आगमनतर्फको भन्सार कक्षमा बाहिरबाट आउनेहरुको झोला तथा लगेजको चेकजाँच हुन्छ । एक्स–रे गर्दा यदि मोबाइलहरु छन् भने सजिलै देखिन्छ । त्यस्तै गह्रुङ्गो धातुको सामान छ भने पनि एक्स–रेमा कालो धब्बा देखिन्छ । गह्रुङ्गो धातु भनेको सुनमात्रै होइन । त्यहाँ फलाम, पित्तल, स्टिल आदि तत्व पनि हुनसक्छ । त्यस्ता वस्तुहरुको शंका लागेको अवस्थामा भन्सार कार्यालयले थप चेकजाँच गर्न सक्छ र ती सामान खोलेर वा फोरेर हेर्न पनि सक्छ ।

त्यस्तै भन्सारको एक्स–रे मेसिनले तरल पदार्थ ल्याएको पनि सजिलै पत्ता लगाउन सक्छ । मोबाइल वा मदिराजन्य तरल पदार्थ देखेपछि कर्मचारी र मेसिनले सजिलै चिन्ने भएका कारण कर्मचारीले त्यसबारे चासो राखिहाल्छन् । तर सुन ल्याउँदा तस्करहरुले विभिन्न उपाय अपनाउने, लुकाएर ल्याउने आदि कारणबाट त्यो सुन नै हो भनिहाल्न कठिन हुने गौतमको भनाइ छ ।

गौतमका अनुसार विमानस्थल भन्सार भन्नेबित्तिकै मानिसहरुले यात्रु आगमन कक्षमा बस्ने भन्सारका कर्मचारीलाई मात्रै सोच्ने गरेका छन् । त्यहाँ कर्मचारीहरु अति व्यस्त हुने र दैनिक ६ हजार जनालाई सेवा दिनुपर्ने भएकाले उनीहरु अति व्यस्त हुन्छन् । त्यहाँ यात्रुसँग धेरै समय कुरा गर्ने अवस्था पनि रहँदैन । सरकारले तोकेको र राज्यले दिएको सुविधाभन्दा बढी सामान ल्याएको देखिएमा भन्सारका कर्मचारीले राजस्व तिरेर लैजान मिल्ने सामान भए राजस्व तिर्न लगाउने र प्रतिबन्धित वा राजस्व तिर्न नमिल्ने सामान भए जफत गर्ने गरेका छन् । यात्रु आगमन कक्षबाट व्यापारिक प्रयोजनका लागि सामान ल्याउन पाइँदैन ।

गौतमले विमानस्थल र कार्गो भवनबाट हुने भन्सार जाँचपास, प्रक्रिया आदिबारे यसरी बताए ।  

–     त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो गोदाममा सामान पुग्ने प्रक्रिया फरक छ । कार्गो बिल्डिङमा पुग्ने सामान यात्रु आगमन कक्षको भन्सार कक्षमा चेकजाँच हुनु पर्दैन । एलसी खोलेर वा विदेशबाट पैठारी गरी पठाएको सामान सोझै भन्सार कार्यालयको कार्गो भवनमा रहेको गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले इन्ट्री गरेर जिम्मामा लिएर राख्छन् । उक्त कम्पनी पनि नेपाल सरकारकै एउटा निकाय हो ।

–     जब विदेशबाट सामान आइपुग्छ, त्यसपछि जसको नाममा सामान आएको हो, त्यो व्यवसायीले आफ्नो सामान छुटाउन भन्सार प्रज्ञापनपत्र भर्नुपर्छ । भन्सार एजेण्टमार्फत् प्रज्ञापनपत्र भरिसकेपछि सोको सम्पूर्ण विवरण भन्सारको अनलाइन सिस्टममा पनि देखिन्छ । भन्सारको उक्त अनलाइन सिस्टम धेरै पुरानो भए पनि त्यो अत्याधुनिक रहेको गौतमको भनाइ छ ।

–     प्रज्ञापनपत्र भरिसकेपछि उक्त सामान गोदामबाट निकालेर भन्सारका कर्मचारीले एक्स–रे मेसिनमा राखेर चेकजाँच गर्छन् । भन्सारको एक्स–रेमा नर्मल देखिएमा त्यसलाई पठाइन्छ भने केही शंकास्पद देखिएमा त्यसलाई रेड च्यानलमा चेकजाँचका लागि पठाइन्छ । पहिलो एक्स–रेमा कैफियत देखिएका सामानलाई रेड च्यानलमा ल्याएर दोस्रोपटक चेकजाँच गरिन्छ । त्यहाँ पनि कैफियत देखिएमा भन्सारका कर्मचारीले ती सामान खोलेर हेर्न सक्छन् ।

–     सुनजस्ता धातु ल्याएको अवस्थामा एक्स–रेमा कालो धब्बा देखिन्छ । उक्त धब्बा सुनकै नभएर फलाम, स्टिील वा अन्य त्यस्तै सामग्रीको पनि हुनसक्छ । एक्स–रेमा त्यस्ता सामान देखिएमा स्टिकर लगाएर रेड च्यानलमा पठाइन्छ । मेडिकल्ली एक्स–रे गर्न नमिल्ने र डिप्लोमेटिक सामानहरु भने भन्सारले एक्स–रे गर्ने गरेको छैन । डिप्लोमेटिक प्रिभिलेज पाएका सामानहरु एक्स–रे गर्न नपाइने व्यवस्था छ । यद्यपि कर्मचारीलाई शंका लागेमा भने ती सामान खोलेर हेर्न भने पाउँछन् ।

–     एक्स–रेबाट निस्केका सामानमा कैफियत देखेमा एक्स–रेको ड्युटीमा रहेका कर्मचारीले माथिल्लो निकायमा रिपोर्ट गर्छन्, त्यसको रिस्क एनालाइसिस गरेर उक्त दिन सो क्षेत्रको जिम्मेवारीमा खटिएका अधिकृतलाई भन्छन् । त्यसपछि उक्त सामानलाई रेड च्यानलमा राखिन्छ । जोखिम देखिँदा हाई, मिडियम र लो भनी तीन प्रकारको जोखिम देखिन्छ । हाई रिस्क देखिएमा उक्त सामान तत्कालै नियन्त्रणमा लिने, मिडियम रिस्क भए रि–चेक गर्ने र रिस्क नपाएमा रि–चेक गरेर पठाउने गरिन्छ । सामान्यतया सामानको मापदण्ड सबै पुगेको छ भने पत्र भरेकै दिन सामान दिने गरिएको छ ।

–     राजस्व कति लिने भन्ने विषय प्रज्ञापनको फारम भरेको समयमै सिस्टमले निर्धारण गरेको हुन्छ । त्यसको बैंकिङ कारोबार, बिलबिजक उत्पत्ति, प्रमाणपत्रदेखि प्याकिङ लिस्टहरु सबै मापदण्ड पुगेकै हुनुपर्छ । सामान ल्याउन लाइसेन्स वा अनुमति दिनुपर्ने भएमा ती निकायबाट लाइसेन्स लिएपछि मात्रै सामान छुटाउन पाइन्छ । कुनै इम्पोर्टरले मोबाइल आयात गरेको छ भने नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति चाहिन्छ । यस्तै, कसैले काटा तौलहरु ल्याउनुपरेमा नापतौल विभागको सिफारिस चाहिन्छ । त्यस्तै सवारीसाधन हो भने यातायात विभागको सिफारिस चाहिन्छ । अधिकांशले भने एलसी खोल्ने समयमै सिफारिस ल्याएका हुन्छन् ।

रेड च्यानलमा जाने सामानको गोटागन्ती

–     त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कार्गो वा पैठारी भई आएको सामान रेड च्यानलमा लैजानुपर्ने भएमा ती सामानको गोटागिन्ती हुन्छ । ती सामानहरु खोलेर हेर्ने र प्रत्येक सामानको सङ्ख्या, तौल, परिमाण आदि गन्ती गर्ने गरिन्छ ।

–     जस्तै दाह्री काट्ने सेभर वा रेजर, मोटर पार्टस्, ब्रेक प्याड आदिमा पनि फलामको मात्रा हुन्छ । त्यस्तो सामानको एक्स–रे गर्दा कैफियत देखिन्छ । ती सामानलाई पुनः रेड च्यानलमा हेर्ने गरिन्छ । त्यहाँ फेरि पनि कैफियत देखिएमा सामान खोलेर हेरिन्छ । तर सामान खोलेर हेर्दा पनि ब्रेक प्याड वा मोटर पार्टस् नै देखिएमा त्यस्ता सामान राजस्व तिराई सम्बन्धित व्यक्ति वा कम्पनीको प्रतिनिधिलाई दिने गरिएको हुन्छ ।

–     अब अस्ति कै कुरा गर्ने हो भने ब्रेक प्याडमा पनि एक्स–रेमा कालो धब्बा देखिएको छ । कालो धब्बा देखिएपछि कर्मचारीले खोलेर पनि सामान हेरेकै छ । तर ब्रेक प्याडमा पनि फलामको मात्रा पाइएपछि र खोलेर हेर्दा पनि अरु केही नदेखेपछि सामान छाडिएको देखिन्छ । अब त्यो खालको प्याकिङ गरेर ल्याएको होला भन्नेमा हाम्रो दृष्टिकोण पुगेन । उक्त सामान ब्रेक प्याडमै फिट गरेर ल्याएको देखिएको छ । एक्स–रे इमेज हेर्दा बे्रक प्याडकै आकार देखिन्छ । एन्टी एक्स–रे हुने प्रयोग पो भएको छ कि, त्यो हेर्न बाँकी नै छ ।

–     जनताले पनि के बुझ्नु जरुरी छ भने मानिसले साथमा ल्याउने सामान र एलसी खोलेर वा विदेशबाट पैठारी भएर आउने सामान एकै स्थानबाट आउने होइन । त्यो फरकफरक स्थानबाट आउँछ र फरकफरक स्थानमा चेकजाँच हुन्छ । मोबाइल देख्ने तर सुन नदेख्ने भन्ने हुँदैन, यी दुवै स्थान फरकफरक हुन् र फरकफरक स्थानमा चेकजाँच र भन्सार जाँचपास हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप