कर्णालीका मन्त्री र सांसद काठमाडौंमै अल्मल्लिए, प्रदेशको काम सुस्तायो
पूर्णबहादुर खड्का
सुर्खेत–प्रदेशको नाम र राजधानी तोक्न नम्बर एक बनेको कर्णाली प्रदेश सरकार अहिले भने सुस्ताएको छ ।
प्रदेश कार्यालय व्यवस्थापनदेखि लिएर कर्मचारीको अझै व्यवस्थापन हुन नसकेको बेला मन्त्री र सांसद संघीय राजधानी काठमाण्डौँमा अल्मल्लिरहेका छन् ।
प्रदेशको विकास र समृद्धिका लागि कानून र अन्य आधारहरु तयार गर्ने भन्दै पटक पटक बैठक समेत प्रदेश सरकारले आयोजना ग¥यो । तर, अहिले प्रदेशका अधिकांश मन्त्री र सांसदहरु लामो समय सम्म संघीय राजधानी काठमाण्डौँमा बस्न थालेका हुन् ।
जसका कारण अहिले प्रदेशको नियमित कामले गति लिन सकेको छैन । प्रदेशको विकासको पक्षमा नियमित जुट्नु पर्ने बेला सांसद र मन्त्री केन्द्रका मन्त्री र शीर्ष नेता संग भेटघाटमा व्यस्त छन् ।
प्रदेश सरकार अहिले सांसद र मन्त्री विहिन जस्तै बनेको छ । करीब दुई साता बित्नै लाग्दा समेत मन्त्री र सांसद प्रदेशमा फर्किने भन्नेमा अझैं अत्तोपत्तो छैन । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मत हाल्न भन्दै संघिय राजधानी काठमाण्डौँ गएका हुन् ।
प्रदेश कार्यालयका केहि सचिवहरु समेत काठमाण्डौँ गएका छन् । तालिममा सहभागि हुन भन्दै मुख्यमन्त्री कार्यालय, भूमि व्यवस्था लगायतका सचिव संघिय राजधानी गएका हुन् ।
मन्त्री, सांसद र कर्मचारीसमेत काठमाडौंमै अल्मल्लिएको बारे रातोपाटीको जिज्ञासामा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले अव १÷२ दिन भित्रै आइपुग्ने बताइन् ।
‘उपराष्ट्रपतिको निर्वाचन हुने कि नहुने भन्ने थियो ’ उनले भनिन्,‘त्यसले गर्दा २/३ दिन बढि लागेको हो ।’
काठमाडौँमा बस्दा समेत आफूहरु केन्द्रको र प्रदेशको सहकार्यका विषयमा छलफल गरेको बताइन् ।
केन्द्रका मन्त्रालयहरुले प्रदेशका मन्त्रालयहरुलाई अघि बढ्नका लागि निर्देशन समेत दिएको उनको भनाई छ । आ–आफ्ना मन्त्रालय मातहतका मन्त्रीसँग, प्रधानमन्त्रीसँग भेटर प्रदेशको विकास र समृद्धिका विषयमा छलफल गरेको बताइन् । प्रधानमन्त्री समक्ष कर्मचारी व्यवस्थापनदेखि मर्यादाक्रम विषयमा समेत विशेष छलफल भएको उनले बताइन् । अब प्रदेशको काम तिव्रताका साथ अघि बढ्ने दाबी उनले गरिन् ।
महिना बित्यो संसद बैठक बस्ने छाँट छैन
करीब १ महिना बित्न लाग्दा समेत संसद बैठक बस्ने कुनै छाँट देखिएको छैन । प्रदेशसभा नियामवली, २०७४ मस्यौदा समितिले सभामुख राजबहादुर शाहीलाई करीब २ हप्ता अघि प्रतिवेदन बुझायो ।
समितिले कर्णाली प्रदेशसभा कार्य सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधि, २०७४ खारेजी र सो कार्यविधि बमोजिम भए÷गरेका काम–कारबाही यसै नियमावली बमोजिम मानिने प्रस्ताव गरेको थियो । तर, संसद बैठक बस्न नसक्दा समितिले पेश गरेको मस्यौदा त्यत्तिकै थन्किएको छ ।
यता सभामुख राजबहादुर शाहीले अझै ३÷४ दिन काठमाण्डौँमै बसाई हुने बताए । प्रदेशकै कामकाजमा आफुहरु अहिले काठमाण्डौँमा भएको भन्दै अव केहि दिन भित्र संसद बैठक बस्ने उनको भनाई छ ।
‘अहिले तत्काल संसद बैठक बसाल्ने विजनेस पनि फिक्स छैन् ।’ उनले भने,‘अब उतै आएर छलफल गरेर विजनेस तयार गर्छाै त्यसपछि बैठक आह्वान गर्न सुचँना जारी गर्छाै ।’