आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जापान समूह विजेता र स्पेन उपविजेता बन्दै नकआउट चरणमा

सोमबार, १५ साउन २०८०, १६ : १०
सोमबार, १५ साउन २०८०

काठमाडौँ । जापान र स्पेन नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् । समूह ‘सी’ बाट जापान विजेता र स्पेन उपविजेता बन्दै प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुगेका हुन् । 

समूहगत चरणको सोमबार भएको अन्तिम खेलमा जापानले स्पेनलाई ४—० गोलको फराकिलो अन्तरले हरायो । अर्को खेलमा जाम्बियाले कोस्टारिकामाथि ३—१ गोलको जित हासिल गर्‍यो । चारवटै टोलीले तीन—तीन खेल खेलिसक्दा जापानको नौ र स्पेनको ६ अंक छ । 

तालिकाको तेस्रो स्थानमा आसिन जाम्बियाको तीन र चौथो स्थानमा आसिन कोस्टारिकाको शून्य अंक छ । जाम्बिया र कोस्टारिका भने समूहगत चरणबाटै घर फर्किएका छन् । खेलको प्रारम्भदेखि नै एसियाली राष्ट्र जापानले स्पेनलाई दबाबमा राखेको थियो । 

स्पेनविरुद्घको खेलमा जापानका लागि हिनाता मियाजावाले दुई गोलको योगदान गरिन् । मियाजावाले निर्धारित समयको १२औं र ४०औं मिनेटमा गोल गरेकी हुन् । जापानका लागि रिको युकीले २९औं र मिना तानाकाले ८२औं मिनेटमा थप एक—एक गोल गरेका थिए । 

अर्को खेलमा जाम्बियाका लागि लुसोमो मिम्बाले तेस्रो, बार्बरा बान्डाले ३१औं र राचेल कुन्दानान्जीले इन्जुरी समयको तेस्रो मिनेटमा एक—एक गोल गरेका थिए । कोस्टारिकाका लागि भने एकमात्र गोल डाफ्नी मेलिसा हेरारा मोन्गेले ४७औं मिनेटमा गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप