आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारामा प्रहरी र स्थानीयबीच हवाइ फायर, दुई प्रहरी घाइते

मङ्गलबार, १६ साउन २०८०, १३ : ०१
मङ्गलबार, १६ साउन २०८०

बारा । बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त भएको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले आज बिहान हतियार रहेको आशकामा छापा मारी पक्राउ गरेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भिडन्त भएको हो ।

करिब तीन सयको सङ्ख्यामा आएका स्थानीयले १५ जनाको सङ्ख्यामा रहेका प्रहरी टोलीमाथि ढुङ्गा मुढा गरी हतियारसहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन सफल भएका छन् । दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । शाहीको बाँया हातमा चोट लागेर घाइते बनेका छन् भने गिरीको बायाँ कुम्भ र बायाँ हातमा चोट लागेर घाइते भएका हुन् ।

स्थानीय प्रहरीविरुद्ध खनिएपछि प्रहरीले पाँच राउन्ड हवाई फायर समेत गरेको छ । ठुला हतियार रहेको गोप्य सूचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।

छापा मारी पछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुचुल्का बनाएर लैजाने क्रममा जङ्गल छेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । 

उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ वटा र नङ्ग्रा ३ वटा बरामद गरेको बोगटीले बताए । लामा वन्यजन्तुको सिकारीमा संलग्न रहेको जनाउँदै खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप