आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरण : दुई हप्तासम्म सुनको तौल यकिन भएन

अनुसन्धानकै क्रममा छौँ, छिट्टै टक्सारलाई पत्र पठाउँछौँ – विभाग
मङ्गलबार, १६ साउन २०८०, १३ : १८
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । अनुसन्धान लम्बिँदै जाँदा हङकङबाट तस्करी गरेर ल्याइएको सुनको परिणाम यकिन गर्ने प्रक्रिया समेत लम्बिएको छ । यही साउन ३ गते राति राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट ठुलो परिणाममा सुन समातेको थियो । यतिबेला राजश्व अनुसन्धान विभाग दिनदिनै तस्करीसँग संलग्न व्यक्तिहरू र यससँग सम्बन्धित निकायमा छापा हानिरहेको छ ।

हङकङबाट क्याथे प्यासिफिकको कार्गोमार्फत ‘ब्रेक प्याड’मा लुकाएर ल्याइएको अवैध सुनको यकिन परिमाण भने हालसम्म हुन सकेको छैन । राजश्व अनुसन्धान विभागले हङकङबाट ल्याएको सुनसहितको ब्रेक प्याडको तौल भने १५४ किलोग्राम छ । तर, यसमा कति परिमाणको सुन लुकाइएको छ भनेर तथ्याङ्क अहिलेसम्म यकिन हुन सकेको छैन ।

असार ३० गते एयर कार्गोमार्फत ल्याएको सुन साउन ३ गते भन्सार जाँच पास भएको थियो । सोही दिन राजश्व अनुसन्धानले सुन राखिएको ट्याक्सी र चालकसहित ४ जनालाई पक्राउ गरेको थियो । यो तस्करी प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् । दैनिकरुपमा थप व्यक्ती पक्राउ पर्दै जाँदा र अनुसन्धान लम्बिँदै जाँदा सुनको तथ्य यकिन हुन नसकेको विभाग बताउँछ ।

अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानासँग अघिल्लो हप्ता भएको कुराकानीमा यो अनुसन्धानकै क्रममा रहेको बताएका थिए । सुन गाल्ने र परिमाण जाँच्ने प्रक्रिया किन अघि नबढेको भन्ने प्रश्नमा उनले भनेका थिए, ‘अहिले अनुसन्धान भइरहेको छ । थप तथ्य र सुन फेला पर्न सक्छ । यही कारण परिमाण यकिन गर्ने प्रक्रिया अघि नबढाइएको हो ।’

विभागले समातेको सुनको अनुमानित तौल १०० किलो भनिएको छ । तर, यो तथ्य हालसम्म यकिन भइसकेको छैन । साउन ३ गते राती समातिएको सुन साउन ४ गते नै नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगेर राखिएको छ । माहाशाखा पुगेको १२ दिन बितिसक्दा समेत सुन जोख्ने प्रक्रिया अघि नबढेको हो ।

हाल महाशाखामा सुनसहितको ब्रेक प्याड सुरक्षितरुपमा राखिएको छ । ब्रेक प्याडबाट सुन छुट्याएर परिमाण यकिन गर्न राजश्व अनुसन्धान विभागको स्वीकृतिसहितको पत्र चाहिन्छ । तर, उक्त पत्र महाशाखामा जान नसक्दा सुन जोख्ने प्रक्रिया अघि बढ्न नसकेको हो । अनुसन्धान विभाग तस्करी प्रकरणमा जोडिएका व्यक्तिहरूको खोजीमा लागिरहेकाले पनि महाशाखालाई सुन जोख्न पत्र पठाइसकेको छैन ।

महाशाखाका निर्देशक थानेश्वर आचार्य सुन जोख्न स्वीकृत दिँदै विभागको पत्र नआएसम्म प्रक्रिया अघि बढाउन नमिल्ने बताउँछन् । उनले रातोपाटीसँग भने, ‘विभागको पत्र आइसकेको छैन । पत्र नआई हामीले केही गर्न मिल्दैन ।’ उनका अनुसार महाशाखाले विभागबाट आएको ८ पोका सुनसहितको ब्रेक प्याडलाई सुरक्षित राखेको छ ।

आचार्यले विभागको पत्र आएपछि ब्रेक प्याडबाट सुन छुट्याउनै कम्तीमा दुई दिन लाग्ने बताए । त्यसपछि, सुनको परिमाण जोखेर कति सुन छ भन्ने तथ्य पत्ता लाग्न करिब एक हप्ता लाग्न सक्छ । यसको अर्थ राजश्व अनुसन्धान विभागले सुन जोख्ने प्रक्रिया अघि बढाउन स्वीकृति दिएको दिनदेखिबाट सुनका यकिन तथ्याङ्क आउन एक हप्ता लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप