आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँको मुख्य सडकमै ढल बग्छ, व्यवस्थापनमा ध्यान दिऔँ : सांसदहरू

मङ्गलबार, १६ साउन २०८०, १६ : ५६
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । सांसदहरूले काठमाडौँ उपत्यकाका मुख्य सडकहरूमा नै ढल बग्ने समस्याको व्यवस्थापन हुनुपर्ने बताएका छन् । मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरूले काठमाडौँ उपत्यकाका मुख्य सडकहरूमा ढल व्यवस्थापनको चुनौती रहेको बताएका हुन् । 

उनीहरूले मुख्य सडकमा नै खोला र ढलहरू जोडिएको साना बालबालिकाहरू बगाउने समस्या सिर्जना भइरहेको बताए । साउन ७ गते काठमाडौँको रानीवनस्थित सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका विधान आलेमगर बेपत्ता भएको घटनालाई लिएर सांसदहरूले फेरि यस्ता घटना हुन नदिन सचेत गराए । 

बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले भारी वर्षा हुने बित्तिकै काठमाडौँका सडकहरूमा जाम हुने, अस्तव्यस्त हुने र सडकमा नै खोला बग्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताइन् ।

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले काठमाडौँका सडक छेउमा बहने नदीहरूमा तत्काल ढल गाडेर सुरक्षित गर्नुपर्ने जिकिर गरे । उनले काठमाडौँका यस्ता समस्याहरूको दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको बताए ।

समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले पानी पर्नु भन्दाअघि एक पटक ढलको मंगालहरु सफा गर्नुपर्ने अभियान चलाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सडक निर्माणमा दीर्घकालीन योजना बन्न नसकेको बताइन् ।

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद ऐनबहादुर शाही ठकुरीले सामाखुसीको बाढीमा परी बेपत्ता भएका बालकको खोजी कार्य तीव्र बनाउनुपर्ने बताए । उनले आगामी दिनमा यस किसिमका घटना हुन नदिन विपद् पूर्वतयारी गर्नुपर्ने उनको भनाई छ । उनले काठमाडौँको ढल व्यवस्थापनमा विशेष जोड दिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप