आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

कांग्रेसको संगठन सुदृढीकरण अभियानमा कसलाई कहाँ खटाइयो ? (सूचीसहित)

मङ्गलबार, १६ साउन २०८०, १८ : ११
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको सांगठानिक सुदृढीकरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्ला खटाएको हो ।

जिल्लामा रहेका सबै निर्वाचन क्षेत्र हेर्ने गरी एक प्रतिनिधि  खटाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएको छ ।

केही पूर्व केन्द्रीय सदस्यहरूलाई पनि खटाएको छ । सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, महेन्द्र यादव, भीष्मराज आङ्देम्बे, उमाकान्त चौधरी लाई पनि खटाएको छ ।

यस्तै केन्द्रीय सदस्य नैनसिंह महर, सुजाता परियार, जीतजंग बस्नेत, अजयबाबु शिवाकोटी, डिला संग्रौला, बलबहादुर केसी, टेकबहादुर गुरुङ, कर्णबहादुर बुढा, सुशीला मिश्र, प्रकाश रसाईली, देवेन्द्रराज कँडेल, गणेश लामा, रंगमती शाही, गेहेन्द्र गिरी, रामजनम चौधरी, राधा घले, दिलमान पाख्रिन, आङ्गेलु शेर्पा, मीनाक्षी झा, राजीव ढुंगाना लगायतलाई खटाइएको छ ।

साउन १० मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पहिलो चरणको अभियानमा आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरूले जिम्मेवारी निर्वाह गर्नेछन् । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार  पार्टीले अभियान अवधिमा केन्द्रीय सदस्यले गर्ने कामको कार्यादेश (टिओआर) पनि दिएको छ । 

‘पार्टी संरचनामा पूर्णता दिने लगाउने, बैठक बसाल्ने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको भए रिपोर्ट दिन लगाउने कार्य केन्द्रीय सदस्यहरुले गर्नु हुन्छ,’ शर्माले भने ।

कार्यदेशमा केन्द्रमा बनेको जस्तै वार्षिक क्यालेण्डर बनाउन लगाउने जिम्मेवारी पनि केन्द्रीय सदस्यको हुनेछ । जिल्लामा भ्रातृसंस्था, शुभेच्छुक संस्था, विभाग सबै पूर्णता दिन लगाउने काम गर्नेछन् ।

साथै, अभियानका कार्यक्रममा नयाँ क्रियाशील सदस्य वितरण, नवीकरण, अनलाइन प्रणालीबारे जानकारी गराउने र कार्यान्वयनमा अघि बढाउने काम हुन्छ । केन्द्रीय समितिले प्रत्येक गाउँ वा नगर समितिले ‘सेवा दल’ बनाउने निर्णय गरेको थियो । सेवा दलको कार्यविधि जिल्ला खटिने प्रतिनिधिलाई पार्टीले दिनेछ ।  

कांग्रेसले दोस्रो चरणमा समुदायमा आधारित ‘राष्ट्रव्यापी अभियान’ भदौ १० देखि २४ सम्म गर्नेछ । राष्ट्रव्यापी अभियानमा नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले गतिविधि गर्नुपर्ने हुन्छ ।

केन्द्रीय सदस्य समुदायमा जाने नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने र उनीहरुको कुरा सुन्ने काम हुन्छ ।

यस्तो छ केन्द्रीय प्रतिनिधिको सूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप