आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फुयालको ‘आफैँलाई खोज्न मन छ’ विमोचन

बुधबार, १७ साउन २०८०, १० : ०६
बुधबार, १७ साउन २०८०

काठमाडौँ । कवि सागर फुयालको ‘आफैँलाई खोज्न मन छ’ कृति विमोचन गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा राजधानीस्थित अनामनगरको निम्तो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, रोचक घिमिरे, श्री ओम श्रेष्ठ ‘रोदन’, गायक शिव परियार र कृतिका सर्जक फुयालले संयुक्त रूपमा सो कृतिको विमोचन गरे । 

स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले सञ्चालन गरेको उक्त कार्यक्रमा बोल्दै साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले कुनै कुनै कुरा ख्याल ख्यालमै ऐतिहासिक बन्ने बताए । “कवि सागर फुयालको यो कृति पनि ख्याल ख्यालमै प्रकाशित हुन पुगेको छ,” शर्माले भने, “तर यो उनको जीवनको ऐतिहासिक कृति बन्न पुगेको छ ।” अहिले महान् लेखक बन्नेहरु पनि सामान्य लेखनको निरन्तरताबाटै भएको बताए । उनले कवि फुयाललाई लेखनको निरन्तरताको शुभकामना समेत दिए । 

त्यस्तै अर्का साहित्यिक पत्रकार रोचक घिमिरेले कवि सागर साहित्यिक क्षेत्रमा प्रवेश गरेको थोरै समय भए पनि दुईवटा कृति प्रकाशित हुनु महत्त्वपूर्ण कार्य भएको बताए । ‘कुनै पनि व्यक्तिले आफ्नो ब्रह्मले देखेको कुरा शब्दमा उतार्नु निकै जटिल कार्य हो,” घिमिरेले भने, “तर फुयालको कवि व्यक्तित्वले त्यसलाई सहज रूपमा उतारेको छ ।” 

त्यसैगरी साहित्यिक पत्रकार राधेश्याम लेकालीले यसमा कविता र गीत संयुक्त रूपमा प्रकाशित भएकोमा विधागत छ्यासमिस बन्न पुगेको बताए ।  उनले गीतलाई पुस्तकाकृत गरी प्रकाशन गर्दा चोरी हुने सम्भावना रहने भएकाले सङ्गीत भरेर एल्बम नै प्रकाशन गर्नुपर्नेमा जोड दिए । १६८ पृष्ठको यस कृतिमा ४० वटा कविता र ४० वटा गीत सङ्कलित छन् । 

त्यसैगरी गायक शिव परियारले पश्चिमी देशमा सङ्गीतलाई प्राथमिकता दिए पनि नेपाल र भारतीय भूमिमा शब्दलाई नै जोड दिने गरेको बताए । “सङ्गीतको अष्टविद्या नै प्रयोग गरेर तयारी गरे पनि शब्द चयन ठिक भएन भने र लोकको हृदयलाई स्पर्श गर्न सकेन भने सम्पूर्ण तयारी व्यर्थ जान्छ ।” परियारले भने, “सङ्गीत राम्रो भए पनि लोकसमाजमा पस्किेने शब्दले गीतमा महत्त्वपूर्ण भूमिका खेल्छ ।” उनले कवि तथा गीतकार फुयालको गीतमा केही शब्द फेरेर म्युजिक भिडियो बनाएको बताए । 
कार्यक्रममा उक्त भिडियोसमेत देखाइएको थियो ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप