आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
स्वर्ण अक्षरमा जीर्णोद्धार हुँदैछ प्रज्ञा पारमिता सूत्र, तस्बिरहरू
फोटोफिचर

स्वर्ण अक्षरमा जीर्णोद्धार हुँदैछ प्रज्ञा पारमिता सूत्र, तस्बिरहरू

बुधबार, १७ साउन २०८०

पाटन । प्रज्ञा पारमिता सूत्रको जीर्णोद्धार काम अहिले पाटनमा रहेको गोल्डेन टेम्पलमा भइरहेको छ । ६ जना कलाकारले अहिले रञ्जना लिपिमा रहेको भगवान् बुद्धले भनेका वचनहरूलाई सुनको सहायतामा जीर्णोद्धार गर्दैछन् । 

दिनदिनै पढ्ने, खोल्ने र बन्द गर्ने हुँदा यो जीर्ण हुँदै गएको हुन्छ । लेखिएका ती सुनका अक्षर मेटिने र नबुझिने हुँदै गएको हुन्छ । हामीले यसको जीर्णोद्धार गर्दै छौँ । प्रज्ञा पारमितामा भगवान् बुद्धले राजगिरको गृद्धकूट पर्वत पर्वतमा गर्नु भएको धर्मदेक्षणाको सूत्रलाई नै लेखिएको हुन्छ । यस सूत्रलाई हामीले अनुसरण गर्न सक्यौँ भने हामीले यही जन्ममा बुद्धत्व प्राप्त गर्न सकिन्छ भन्ने लेखिएको छ ।” जीर्णोद्धारमा संलग्न रहेका एक कलाकार हेमरत्न बज्राचार्यले रातोपाटीलाई भने ।

अहिले जीर्णोद्धार भइरहेको प्रज्ञा पारमितामा ३२ परिवर्त्य र ८ हजार श्लोक छन् जसलाई अष्टसहर्सिका प्रज्ञा पारमिता भनेर चिनिन्छ । बौद्ध धर्ममा यस प्रकारका २५ हजार श्लोक र १ लाख श्लोकसम्म भएका प्रज्ञा पारमिता पनि छन् तर ती मध्येको मध्यम श्लोक भएको प्रज्ञा पारमिताको जीर्णोद्धार भइरहेको बज्राचार्यले भने ।

पुरुषोत्तम मासको समयमा कुनै प्रकारका धार्मिक र पुण्यको काम नगरिने भएकोले हरेक ३ वर्षको अन्तरालमा आउने मलमासको समयमा यसको जीर्णोद्धार र पुनर्लेखन गर्ने गरिन्छ । बज्राचार्यकै संलग्नतामा अहिलेसम्म १० पटक जीर्णोद्धार भइसकेको छ ।

कलाकारहरूले नेवा: भाषामा “चोलो” अर्थात् सुनको धुलोलाई पकाएको आलाससँग मिसाएर मसी जस्तो बनाइ पहिल्यै लेखिएको किताबमा रहेका अक्षर माथि रञ्जना लिपि अनुसार लेख्ने गर्छन् । कुनै खण्ड च्यातिएको वा नबुझिने र अक्षर नै मेटिएका छन् भने किताबको सहायतामा कलाकारहरूले पुनर्लेखन गर्ने गर्छन् ।

यसरी जीर्णोद्धार गर्दा १ देखि ३ तोलासम्म सुन लाग्ने गरेको छ । मलमासको समयमा हुने यो जीर्णोद्धारका लागि छुट्टै गुठी समेत गठन गरेर भक्तजनहरूले दिने दानबाट हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया