आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

दावा छिरिङ : ४ वर्ष अगाडि नै थियो पक्राउको तयारी, तर प्रहरीले नै रातारात भगाइदियो

प्रहरी प्रमुखदेखि दलका नेतासँग घनिष्ठ सम्बन्ध, सत्ता र शक्तिको आडमा अपराध यात्रा
बुधबार, १७ साउन २०८०, १२ : ४७
बुधबार, १७ साउन २०८०

काठमाडौँ । २०७६ पुस ७ गते प्रहरीले काठमाडौंका विभिन्न स्थानमा छापा मारेर १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गर्‍यो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले ९ वटा घरबाट १ सय २२ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो । त्यतिबेला ती चिनियाँ नागरिकलाई पक्राउ गर्नुको कारण थियो– नेपालमा अवैधरुपमा कलसेन्टर सञ्चालन गरी विभिन्न देशका व्यक्तिहरुलाई ठगी गरेको ।

चिनियाँ दूतावासबाट आएको दबाबका बारण नेपाल प्रहरीले उक्त अपरेसन चलाएको थियो । चीन प्रहरीको अनुसन्धानमा नेपालमा बसेर उनीहरुले ठगी धन्दा चलाइरहेको पाएपछि चिनियाँ प्रहरीले दूतावासमार्फत् नेपाल सरकारलाई ती चिनियाँ नागरिकलाई पक्राउ गर्न दबाब दिएको थियो ।

करिब एक हजारको सङ्ख्यामा रहेका चिनियाँ नागरिकमध्ये १ सय २२ जना पक्राउ परे पनि अन्य चिनियाँ नागरिकलाई भगाइएको थियो । प्रहरी नेतृत्वकै सहयोगमा ती चिनियाँलाई भगाएको भन्दै चिनियाँ दूतावास र चिनियाँ प्रहरीले असन्तुष्टिसमेत जनाएको थियो । आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको बचाउ गरेको भन्दै चिनियाँ दूतावासले गम्भीर आपत्तिसमेत जनाएको थियो ।

प्रहरीले करिब ३ महिना लगातार गरेको अनुसन्धानमा त्यसको प्रमुख व्यक्तिमध्ये एक निमा लामा भन्ने दावा छिरिङ लामा थिए । दावा छिरिङ तिनै व्यक्ति हुन्, जो अहिले सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छन् ।

त्यतिबेला भगाइएपनि यतिबेला भने दावा विभागको नियन्त्रणमा आइसकेका छन् र उनीमाथि अनुसन्धान भइरहेको छ । पक्राउ परेका दावा छिरिङको बिगत हेर्ने हो भने उनी सुरुवातदेखि नै सत्ता र शक्तिको आडमा आपराधिक क्रियाकलापमा संलग्न रहेको तथ्य खुलेको छ ।

Amala_Roka_Nanndabahadur_Pun

दावाको सम्बन्ध पूर्व उपराष्ट्रपतिदेखि पूर्व प्रहरी प्रमुखसम्म

हाल सुन तस्करी प्रकरणमा १८ औँ नम्बरमा पक्राउ परेका दावा छिरिङको सम्बन्ध पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनदेखि पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालसम्म रहेको पाइएको छ । दावा तथा उनका परिवारको तर्फबाट सामाजिक सञ्जालहरुमा पोष्ट गरिएको तस्बिरमा दावा पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन, उनका छोरा दिपेश पुन, पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, पूर्व सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका नेता वर्षमान पुन लगायतका नेतासँग घनिष्ठ सम्बन्ध रहेको देखाउँछ ।

त्यसबाहेक एमालेका नेता रामबहादुर थापाका छोरा प्रतीक थापा तथा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग समेत उनको घनिष्ठ सम्बन्ध रहेको देखाउँछ ।

अपराधमा दावाको संलग्नताबारे प्रहरीलाई थियो जानकारी

तिब्बत मूलवासी भए पनि बेल्जियमको पासपोर्ट लिएका भनिएका दावा छिरिङ नेपालमा आपराधिक क्रियाकलापमा संलग्न रहेको तथ्य प्रहरीले ४ वर्ष अगाडि नै खुलासा गरिसकेको थियो । नेपालमा अवैधरुपमा कल सेन्टर चलाएर भारतीय तथा चिनियाँ नागरिकलाई मिटर ब्याजमा ऋण दिने र समयमै ऋण फिर्ता नगरे धम्की दिने, दुर्व्यवहार गर्ने तथा अश्लील सामाग्रीहरु पठाउने, विभिन्न देशमा रहेका चिनियाँ दूतावासको साइट नै ‘ह्याक’ गर्ने, चिनियाँ नागरिकको बैंक खातामा अनधिकृत पहुँच राखेर त्यहाँबाट पैसा चोरी गर्ने, ब्ल्याकमेल गर्ने लगायतको घटनामा दावाको समूहको संलग्नता रहेको प्रहरीको अनुसन्धानमा उल्लेख छ ।

महानगरीय अपराध महाशाखाले ४ वर्ष अगाडि तयार पारेको एक ‘पावरपोइन्ट’ रिपोर्टमा नेपालमा अवैधरुपमा कल सेन्टर स्थापना गरी ठगी र आपराधिक क्रियाकलापमा संलग्नहरुको सूचीमा मुख्य दुई व्यवस्थापकमध्ये एक दावा छिरिङ थिए । अपराध महाशाखाका तत्कालीन एसएसपी सहकुल बहादुर थापाले उपत्यका प्रहरी कार्यालयमा प्रस्तुत गरेको पावरपोइन्ट रिपोर्टमा दावासहितका व्यक्तिहरुको संलग्नताको चेन बनाइएको थियो । उक्त पावरपोइन्टमा दावालाई व्यवस्थापकको रुपमा राखिएको थियो ।

उपत्यका प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीसमक्ष प्रस्तुत गरिएको उक्त पावरपोइन्टमा दावाको सम्पर्क तत्कालीन उपराष्ट्रपति नन्द बहादुर पुन, उनका छोरा दिपेश पुन, माओवादी नेता वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्तीमगर, तत्कालीन समयमा नेकपाका नेता रामबहादुर थापाका छोरा प्रतीक थापा र नेपाली कांग्रेसका नेता बालकृष्ण खाण तथा प्रहरीका उच्चपदस्थ अधिकारीसँग रहेको खुलाइएको थियो ।

Barshaman_Pun_dawa

उपत्यका प्रहरी कार्यालयमा उक्त पावरपोइन्ट प्रिजेन्टेसन भएलगत्तै सीआईबी, अपराध महाशाखा र काठमाडौं परिसरको प्रहरीले चिनियाँहरु रहेको स्थानमा छापा मार्ने योजना बनाएको थियो । प्रहरीले बनाएको योजनामा करिब एक हजार चिनियाँ नागरिक नेपालमा बसेर विभिन्न देशका मानिसलाई ठगी गर्ने, अकाउण्ट ह्याक गर्ने र चीनविरोधी गतिविधिमा संलग्न रहेको उल्लेख थियो ।

चिनियाँ दूतावास र चिनियाँ प्रहरीको दबाबमा नेपाल प्रहरीका तीनवटै निकायमा एकै समयमा छापा मार्ने तयारी थियो ।

चिनियाँ गिरोह भगाउन तत्कालीन आईजीपी खनालको शंकास्पद भूमिका

तर जतिबेला छापा मार्ने भनिएको थियो, त्यतिबेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको कार्यक्रममा भाग लिन विदेशमा थिए । निमित्त प्रहरी महानिरीक्षक रहेका तत्कालीन एआईजी पुष्कर कार्कीले करिब २० स्थानमा एकैपटक छापा मार्ने भनेर योजना र तयारी गरिसकेका थिए । कार्कीले तत्कालै छापा मार्ने भने पनि सो कुराको जानकारी आईजीपी सर्वेन्द्र खनाललाई गराउनुपर्ने थियो । उनले सो कुराको जानकारी खनाललाई गराएपछि खनालले आफू आएपछि अपरेसन गरौं भनेपछि कार्की खनाललाई कुरेर बसे ।

dawa_2

तत्कालीन एआईजी पुष्कर कार्कीसँग कुरा गर्दा आफूले कार्ययोजना आईजीपी खनाललाई दिएको तर समयमै अपरेशन नभएको र २० ठाउँमा एकैपटक छापा मार्ने योजना बने पनि ४ स्थानमा मात्रै ‘रेड’ गरिएको स्वीकार गरे ।

लगत्तै खनाल पनि नेपाल आइपुगे । कार्कीले कल सेन्टरहरु रहेको स्थान, कार्ययोजना, पक्राउ गर्नुपर्ने व्यक्तिहरुको सङ्ख्या, संलग्न व्यक्ति र मुख्य व्यक्तिहरुको विवरणसहितको कार्ययोजना महानिरीक्षक खनाललाई पेस गरे । खनालले ‘म हेरेर भन्छु’ भने पनि त्यसपछि खनालले त्यसमा चासो देखाएनन् । कार्कीले पटकपटक ‘कहिले गर्ने ?’ भन्दा पनि खनालले ‘तयारी हुँदैछ’ भनेर मात्रै टारे । पछि आफू मातहत रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को मात्रै संलग्नता रहने गरी खनालले मात्रै चार स्थानमा छापा मार्न लगाए र १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरियो । तत्कालीन एआईजी कार्कीको कार्ययोजनामा १ हजार चिनियाँ पक्राउ गर्ने योजना रहे पनि खनालकै योजनामा मुख्य व्यक्तिहरुलाई भगाएर १२२ जनामात्र चिनियाँ नागरिकलाई पक्राउ गरिएको तत्कालीन समयमा सो अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले रातोपाटीलाई बताए ।

सो सम्बन्धमा तत्कालीन एआईजी पुष्कर कार्कीसँग कुरा गर्दा आफूले कार्ययोजना आईजीपी खनाललाई दिएको तर समयमै अपरेशन नभएको र २० ठाउँमा एकैपटक छापा मार्ने योजना बने पनि ४ स्थानमा मात्रै ‘रेड’ गरिएको स्वीकार गरे । कार्कीले रातोपाटीसँग भने, ‘हामीले त्यतिबेला १८ देखि २० स्थानमा छापा मार्ने तयारी गरेका थियौँ । त्यसका लागि चिनियाँ दूतावाससँग मन्त्रालय हुँदै समन्वय पनि गरेका थियौँ । योजना अनुसार काम भएको भए करिब १ हजार जना चिनियाँ नागरिक पक्राउ पर्न सक्थे । तर त्यतिबेला न योजना अनुसार काम भयो, न छापा मार्ने भनिएको सबै स्थानमा छापा मारियो । तर समयमै किन छापा मारिएन भन्ने सम्बन्धमा भने म केही बताउन सक्दिनँ ।’

परिसरको ‘रेड’मा पनि खुलेको थियो दावाको संलग्नता

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘रेड’ गरेको केही समय चुपचाप बसेको चिनियाँ गिरोह त्यसपछि पुनः सक्रिय बनेको थियो । प्रहरीको प्रतिवेदनमा पहिलो चरणमै छापा मार्ने भनिएको तीनकुनेस्थित ‘रातो घर’ त्यतिबेला सीआईबीको ‘रेड’मा परेन । दावा छिरिङकै मुख्य व्यवस्थापनमा सो समूहले काठमाडौं, बुटवल, विराटनगर, चितवन लगायतका विभिन्न स्थानमा पुनः कल सेन्टर सञ्चालन गरी अवैध असुली, मिटरब्याजमा पैसा लगाउने, अनलाइन जुवा खेलाउने र बैंक अकाउण्ट ह्याक गरी पैसा चोरी गर्ने गरेको थियो । सोही क्रममा २०७९ साउनमा प्रहरीले बुटवलमा रहेको कल सेन्टरमा छापा मारेको थियो । बुटवलको ‘रेड’लगत्तै काठमाडौं उपत्यका प्रहरी कार्यालयको संयोजनमा काठमाडौंको तीनकुनेमा रहेको रातो घर, बानेश्वर, भक्तपुर लगायतका स्थानमा ‘रेड’ हान्यो । पहिलो चरणकै अपरेशनको ‘रेड’ लिष्टमा रहेको र करिब एक हजार जनाले काम गर्ने विमानस्थल भन्सार कार्यालयको ठिक अगाडि रहेको रातो घरमा छापा मार्ने योजना बनेको तीन वर्षपछि मात्रै प्रहरी पुग्यो । उक्त ‘रातो घर’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यको थियो र उक्त घर भाडामा लिएर दावा छिरिङको समूहले कल सेन्टर चलाएको पाइएको थियो ।

जब प्रहरीले उक्त घरमा छापा मार्‍यो, उक्त कल सेन्टरको व्यवस्थापक पनि दावा नै रहेको पुष्टि भएको थियो । तर प्रहरीले मुद्दा चलाउँदा भने दावालाई अभियुक्त नबनाई मुद्दा लगिएको थियो । त्यसपछि दावा फेरि पनि नेपालमा अवैध धन्दामा संलग्न थिए ।

तिब्बती मूलका बेल्जियन नागरिक दावासँगको केही तस्बिर अहिले सामाजिक सञ्जालमा समेत देख्न सकिन्छ । उक्त तस्बिरमा दावा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग पनि देखिएका छन् । यी तथ्यहरुले तत्कालीन प्रहरी प्रमुख खनालसँग दावा छिरिङको सम्बन्ध निकट रहेको बुझ्न सकिन्छ ।

सामाजिक सञ्जालमा प्राप्त दावाको अन्य तस्बिर हेर्दा उनी पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका अतिरिक्त उनका छोरा दिपेश पुन, माओवादी केन्द्रका नेता वर्षमान पुन तथा ओनसरी घर्ती आदिसँग नजिक रहेको देख्न सकिन्छ । प्रहरीले बनाएको कनेक्सन चार्टमा नाम उल्लेख हुनु र उनीहरुसँगैको तस्बिरसमेत सार्वजनिक हुनुले दावाको आपराधिक यात्रामा माओवादी केन्द्रका केही नेताहरु ‘साक्षी’ रहेको बुझ्न सकिन्छ ।

परिसरको छापापछि प्रहरीसँग रिसाएका थिए बालकृष्ण खाण

काठमाडौं प्रहरी परिसरले तीनकुनेस्थित रातो घर लगायतमा सञ्चालित चिनियाँको कल सेन्टरमा छापा मार्दा गृहमन्त्री थिए कांग्रेस नेता बालकृष्ण खाण । प्रहरीले गृहमन्त्रीसँग समन्वय नगरी छापा मारेको भन्दै बालकृष्ण खाण तत्कालीन प्रहरी नेतृत्वसँग ‘फायर’ भएको एक प्रहरी अधिकारीले रातोपाटीलाई बताए ।

खाण र खाणका मानिसहरु छापाका सम्बन्धमा असन्तुष्ट थिए र अन्य स्थानमा छापा मार्नबाट प्रहरीलाई ‘ब्याक’ गराएका थिए । गहृमन्त्रीको उक्त निर्देशनलगत्तै प्रहरी अन्य स्थानको छापाबाट ‘ब्याक’ भएको थियो । प्रहरी अधिकारीका अनुसार अहिले पनि काठमाडौं लगायतका केही स्थानमा कल सेन्टर चलिरहेको छ, तर प्रहरीले छापा मार्ने आँट गरेको छैन ।

कल सेन्टरसँगै सुन तस्करीको धन्दा

प्रहरीका अनुसार दावा छिरिङ त्यतिबेलादेखि नै कल सेन्टर र सुन तस्करीमा संलग्न थिए । पहिले रसुवाबाट भएको सुन तस्करी प्रकरणको अनुसन्धान गर्दै जाँदा ठमेलमा रहेको होटल भियानाको नाम खुलेको थियो । ठमेलको होटल भियाना होटल भनिए पनि त्यो चिनियाँ गिरोहको अखडा थियो र त्यहाँ मानिसहरु बस्नका लागि जान पाउने सम्भावना निकै कम छ । त्यहाँ चिनिया गिरोहका सदस्यहरु बस्ने र आपराधिक क्रियाकलापमा मानिसहरु परिचालन गर्ने लगायतका व्यवस्थापकीय काम गर्ने काम हुने गरेको बताइन्छ ।

होटल भियाना तिनै दावा छिरिङको मुख्य लगानी रहेको होटल हो । यद्यपि उक्त होटलमा रोल्पाकी अमला रोकाको समेत नाम र लगानी रहेको भनिएको छ ।

पूर्व उपराष्ट्रपति पुत्र पुन भन्छन्– दावा आपराधिक समूहको हो भन्ने थाहा थिएन

दावा छिरिङसँग चिनजान र सम्बन्धमा बारेमा रातोपाटीले गरेको कुराकानीमा पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दिपेश पुनले दावा आपराधिक समूहका व्यक्ति भएको थाहा नपाएको कारण संगत गरेको बताए ।

उनले रातोपाटीसँग भने, ‘रोल्पाकी चेली अमला पुनसँग पार्टीकै कामको सिलसिलामा चिनजान भएको थियो । त्यही समयमा अमलाले मेरो श्रीमान् भनी चिनियाँ नागरिकका रुपमा दावा छिरिङलाई चिनाएकी हुन् । उनीसँग चिनजान भएपछि हामी बेलाबेलामा भेटघाट र खानपान पनि गर्ने गथ्र्यौँ ।’

भेटमा दावाले चिनियाँ लगानी नेपालमा भित्र्याउने कुरा गर्ने गरेको पुनले सुनाए । उनले भने, ‘मैले त्यसका लागि सहयोग पनि गरेकै हो र एकदुई स्थानमा म आफैँले लगेर भेटघाट पनि गराएको हो । उनीहरुको होटल भएको कारण बेलाबेलामा रोल्पाबाट आफन्त वा पार्टीका साथीहरु आउँदा होटलमा बस्नका लागि भनिदिएको हुँ र उनीहरुले पैसा पनि लिँदैनथे । आर्थिक कोणबाट पनि उनीहरुको होटल भएको कारण नजिक भएको सत्य हो ।’

तर जब दावा कल सेन्टर सञ्चालनमा संलग्न रहेको हल्ला आयो, त्यसपछि आफूहरुबीच खासै सम्बन्ध नरहेको उनले बताए । ‘फोन सम्पर्क हुनु, भेटघाट हुनु, खानपान हुनु र अपराधमा संलग्न हुने फरक कुरा हो,’ पुनले भने, ‘उनको अपराधमा म र मेरो परिवारको कुनै संलग्नता छैन । आवश्यक पर्दा म प्रहरीलाई सहयोग गर्नसमेत तयार छु ।’

सुन तस्करी प्रकरणमा दावा व्यवस्थापक

अहिले राजस्व अनुसन्धान विभागको टोलीले दावालाई होटल भियानाबाटै पक्राउ गरेको छ । विभागले सुन तस्करी प्रकरणमा दावाको भूमिका देखिएका कारण पक्राउ गरेको दाबी गरेको छ र उनीमाथि अनुसन्धान सुरु गरेको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार हालसम्मको अनुसन्धानबाट दावा सुन तस्करी प्रकरणमा पनि व्यवस्थापकको रुपमा रहेको खुलेको छ । ढुङ्गानाले भने, ‘सुन तस्करी मै प्रत्यक्ष संलग्न छन् कि मान्छे परिचालन मात्रै गरेका हुन्, त्यस सम्बन्धमा हामी अनुसन्धान गरिरहेका छौँ । तर हालसम्मको अनुसन्धानले सुन तस्करी प्रकरणमा पनि दावाको संलग्नता पाएका छौँ । त्यही भएर हामीले उनलाई नियन्त्रणमा लिएर छानबिन गरेका हौँ ।’

महानिर्देशक ढुङ्गानाका अनुसार यसअघि नियन्त्रणमा लिइएका व्यक्तिहरुको बयानका आधारमा दावा छिरिङलाई नियन्त्रणमा लिइएको हो । अन्य व्यक्तिहरु पक्राउ परिसकेपछि र विभिन्न स्थानमा छापा मारिसकेपछि पक्राउ गर्नुको कारणचाहिँ दावाबारे ढिला पोल भएको कारण नै रहेको उनले प्रस्ट पारे ।

ढुङ्गानाले रातोपाटीसँग भने, ‘बाहिरबाट हेर्नेलाई किन ढिला ढिला छापा मारेको, किन ढिलो पक्राउ गरेको भन्ने पनि लाग्ला । तर प्राविधिक कुरा पनि बुझ्नुपर्छ । सुरुमा सबैले एकपटक यो यो व्यक्तिको संलग्नता छ भनेका होइनन्, अनुसन्धानका क्रममा खुल्दै गएपछि मानिस पक्राउ पर्दै जाने हो र विभिन्न स्थानमा छापा मार्ने हो ।’

अनुसन्धानका क्रममा एकैपटक सबै कुरा थाहा नहुने पनि उनले प्रस्ट पारे । ‘त्यसकारण जति सूचना आउँदै जान्छ, त्यसपछि काम हुन्छ । सूचना नै नभएको स्थानमा हचुवाको आधारमा छापा मार्ने कुरा भएन,’ उनले भने, ‘पछि अरु व्यक्तिको पोल हुँदा पक्राउ गर्ने र स्थानबारे जानकारी आएमा छापा मार्ने पनि हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप