आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आत्मघाती गोलले डुबायो इटालीलाई : स्विडेन र दक्षिण अफ्रिका प्रिक्वार्टरफाइनलमा

बुधबार, १७ साउन २०८०, १५ : ०५
बुधबार, १७ साउन २०८०

काठमाडौँ । स्विडेन र दक्षिण अफ्रिका नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । 

इटाली र अर्जेन्टिना भने उपाधि होडबाट बाहिरिएका छन् । महिला विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन हुँदैछ । 

समूह ‘जी’ अन्तर्गतको बुधबार भएको आफ्नो अन्तिम खेलमा स्विडेनले अर्जेन्टिनालाई २—० गोलले हरायो । अर्को प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकाले इटालीमाथि ३—२ गोलको रोमाञ्चक जित हासिल गर्‍यो । 

अर्जेन्टिनाविरुद्घको खेलमा स्विडेनले दुबै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ६६औं मिनेटमा रेबेका ब्लोमक्विस्टले स्विडेनका लागि पहिलो गोल गरिन् । निर्धारित समयको ९०औं मिनेटमा एलिन रुबेन्सनले पेनाल्टीमार्फत गोल गर्दै स्विडेनलाई सजिलो जित दिलाइन् ।

दक्षिण अफ्रिका र इटालीबीचको खेल भने निकै रोमाञ्चक थियो । खेल सुरु भएको ११औं मिनेटमा एरिआना कारुसोले पहिलो गोल गरिन् । ३२औं मिनेटमा इटालीकी बेनडेल्टाबाट आत्मघाती गोल भएपछि खेल १—१ को बराबरीमा पुग्यो । 

निर्धारित समयको ६७औं मिनेटमा हिल्दाह मागाइयाले दक्षिण अफ्रिकालाई २—१ को अग्रता दिलाइन् । ७४औं मिनेटमा इटालीकी एरिआना कारुसोले व्यक्तिगत रुपमा दोस्रो गोल गरेपछि खेल २—२ को बराबरीमा पुग्यो । 

त्यसपछि दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा थेम्बी कागतलानाले आकर्षक गोल गर्दै दक्षिण अफ्रिकालाई नकआउट चरणमा पुर्‍याइन् । उक्त खेल बराबरीमा सकिएको भए दक्षिण अफ्रिकालाई पछि पार्दै इटाली नकआउट चरणमा पुग्ने थियो । 

स्विडेन तीन खेलबाट नौ अंक बटुल्दै पहिलो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो । दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको दक्षिण अफ्रिकाले तीन खेलबाट चार अंक जोड्यो । समान खेलबाट तीन अंक जोडेको इटाली तेस्रो भयो भने एक अंकसहित अर्जेन्टिना चौथो स्थानमा रह्यो ।

हालसम्म विश्वकपको नकआउट चरणमा पुग्ने १२ वटा टोलीको टुङ्गो लागिसकेको छ । अब चारवटा टोलीको टुङ्गो लाग्न बाँकी छ । समूह ‘ए’ बाट स्विट्जरल्यान्ड पहिलो र नर्वे दोस्रो हुँदै नकआउट चरणमा पुगेका छन् । उक्त समूहबाट आयोजक न्युजिल्यान्ड र फिलिपिन्स भने उपाधि होडबाट बाहिरिएका छन् ।  

यसैगरी समूह ‘बी’ बाट आयोजक अस्ट्रेलिया पहिलो र नाइजेरिया दोस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेका छन् । उक्त समूहबाट क्यानडा र आयरल्यान्ड घर फर्किएका छन् । समूह ‘सी’ बाट एसियाली राष्ट्र जापान पहिलो र स्पेन दोस्रो हुँदै प्रिक्वार्टरफाइनलमा पुगेका छन् । जाम्बिया र कोस्टारिका भने उपाधि होडबाट बाहिरिएका छन् । 

यसैगरी समूह ‘डी’ बाट इङ्ल्यान्ड पहिलो र डेनमार्क दोस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेका छन् । चीन र हाइटी भने उपाधि होडबाट बाहिरिएका छन् । समूह ‘ई’ बाट नेदरल्यान्ड्स पहिलो र अमेरिका दोस्रो हुँदै प्रिक्वार्टरफाइनलमा पुगेका छन् । पोर्चुगल र भियतनाम भने घर फर्किएका छन् । 

प्रतियोगिताको प्रिक्वार्टरफाइनल खेल अक्टोबर अगस्त ५ तारिखबाट सुरु हुनेछ । प्रिक्वार्टरफाइनलमा स्विट्जरल्यान्डले स्पेनको सामना गर्नेछ भने जापानले नर्वेसँग खेल्नेछ । इङ्ल्यान्डले नाइजेरियाको सामना गर्नेछ भने अस्ट्रेलियाले डेनमार्कसँग खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप