सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बार्साका लागि निर्णायक गोल गरेपछि मैदान बाहिर रहेका डेम्बेलतिर दौडिए फाती

बुधबार, १७ साउन २०८०, १६ : ००
बुधबार, १७ साउन २०८०

काठमाडौँ । हाल अमेरिका भ्रमणमा रहेको स्पेनिस ला लिगा क्लब बार्सिलोना प्रि-सिजन टुरअन्तर्गत बुधबार भएको खेलमा इटालियन प्रतिद्वन्द्वी एसी मिलानमाथि १-० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । 

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । निर्धारित समयको ५५ औं मिनेटमा अन्शु फातीले गोल गर्दै बार्सिलोनालाई विजयी बनाएका हुन् । फाती परिवर्तित खेलाडीका रुपमा दोस्रो हाफमा मैदानभित्र प्रवेश गरेका थिए ।  

उक्त खेल अमेरिकाको लस भेगासमा खेलिएको थियो । २० वर्षीय स्पेनिस स्ट्राइकर फाती खेलमा निर्णायक गोल गरेपछि खुसीयाली मनाउन मैदान बाहिर रहेका ओसमान डेम्बेलतर्फ दौडिएका थिए । उक्त खेलमा बेञ्चमा बसेका डेम्बेलसँग फातीले खुसी साटासाट गरे । 

२६ वर्षीय विंगर डेम्बेल बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध हुने तयारीमा छन् । त्यसैले उनलाई एसी मिलानविरुद्धको खेलमा मैदानमा उतारिएको थिएन । सन् २०१७ देखि बार्सिलोनामा रहेका डेम्बेल फ्रान्सको राष्ट्रिय टोलीका खेलाडी पनि हुन् । डेम्बेलले बार्सिलोनाका लागि एक सय ८५ खेल खेल्दै ४० गोल गरेका छन् । 

फाती भने सन् २०१९ मा बार्सिलोनामा आबद्ध भएका हुन् । उनले व्यावसायिक  खेल जीवनमा सिनियर टोलीको पहिलो खेल बार्सिलोनाबाटै खेलेका हुन् । अमेरिका भ्रमणका क्रममा यसअघि खेलिएको खेलमा बार्सिलोना इङ्लिस प्रतिद्वन्द्वी आर्सनलसँग पराजित भएको थियो । 

बार्सिलोनाले अर्को स्पेनिस क्लब रियल म्याड्रिडलाई भने हराएको थियो । एसी मिलान यसअघिको खेलमा रियल म्याड्रिडसँग पराजित भएको थियो । एसी मिलान र अर्को इटालियन क्लब युभेन्ट्सबीचको खेल भने बराबरीमा सकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप