आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललितानिवास प्रकरण

सिपिका खेतानसहित दुई आरोपी हाजिरीमा छुटे

बुधबार, १७ साउन २०८०, २० : १९
बुधबार, १७ साउन २०८०

काठमाडौँ । ललितानिवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोको नियन्त्रणमा रहेका आरोपीहरू सिपिका खेतान र रमेशकुमार पोखरेल हाजिरी जमानीमा रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी दिनेश आचार्यका अनुसार ललितानिवास क्याम्पभित्रको जग्गा आफ्नो नाममा दर्ता गर्न सफल भएकी सिपिका खेतान र समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल हाजिरी जमानीमा रिहा भएका हुन् । 

ललितानिवास क्याम्पभित्र ७ आना ३ पैसा जग्गा पाएकी सिपिका खेतानले आफ्नो नाममा रहेको जग्गा सरकारको नाममा फिर्ता गर्ने भन्दै मालपोत कार्यालय, गृह मन्त्रालय, केन्द्रीय अनुसन्धान ब्यूरो लगायतमा निवेदन दिएपछि जग्गा फिर्ता गर्ने सर्तमा उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो । उनलाई सरकारी वकिल कार्यालय काठमाडौँले हाजिरी जमानीमा छाडेको हो । 

त्यसैगरी काठमाडौँ जिल्ला अदालतले समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेललाई पनि हाजिरीमा राख्ने गरी छाडिदिएको छ । बुधबार म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत लगिएका पोखरेलको हकमा अदालतले म्याद थप गर्न अस्वीकार गर्दै उनलाई तारेखमा राखी अनुसन्धान गर्न आदेश दिएको हो । 

यसअघि बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका पोखरेललाई सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्न अस्वीकार गरेको थियो । यद्यपि पोखरेल अवकाशमा गइसकेको, उनी साइकियाट्रिकको औषधी खाने बिरामी भएको र थुनामा नराख्दा पनि प्रमाण लोप गराउने सम्भावना नरहेको भन्दै उनलाई तारेखमै राख्ने आदेश दिएको हो । 

समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेलले मालपोत कार्यालयले जग्गामा दाबी गर्न आउन ३५ दिने सूचना दैनिक पत्रिकामा प्रकाशन गरेको भएपनि त्यस समयमा उनले कुनै दाबी विरोध लिएका थिएनन् । पदीय जिम्मेवारी पूरा नगरी भूमाफियालाई सघाएको भन्दै सीआईबीले उनलाई पक्राउ गरेको थियो ।

तत्कालीन सरकारले मोही हक दाबी गर्न नमिल्ने गरी किसानलाई कमाई गरी खान दिएको जग्गाको कुत भने समरजंग कम्पनीले उठाइरहेको थियो । कुत उठाइरहेको भएपनि उनले आफू मातहत रहेको कम्पनीको जगेर्ना गर्न नसकेको भन्दै सीआईबीले पक्राउ गरी उनीमाथि अनुसन्धान गरिरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप